बेनी खानेपानीको अध्यक्षमा पुन:श्रेष्ठ

  • २१ पुष २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 2109 पटक पढिएको

म्याग्दी २१ पुष । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुन: सुवासकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।संस्थाको शुक्रबार बेनीमा सम्पन्न १८ औ साधारणसभाबाट श्रेष्ठलाई चौथो कार्यकालका लागि अध्यक्षमा चयन गरिएको हो । उपाध्यक्षमा माधवप्रसाद रेग्मी, सचिवमा रमेश गिरी र कोषाध्यक्षमा टंक हमाल निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा रेमबहादुर बिक, यजनलाल शाक्य, सृजना श्रेष्ठ, पुष्पा थापा र डिलकुमारी पुर्जा चयन हुनुभएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले संस्थालाई प्रबिधिमैत्री बनाउन पूर्ण सहयोग रहने बताउँदै मुहानदेखि मुखसम्म शुद्ध र सफा खानेपानी पु¥याउनुपर्ने बताउनुभयो ।

प्रजिअ कृष्णप्रसाद अधिकारी, खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयका प्रमृुख ईश्वरी शर्मा, बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईली, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्य, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्भा र संस्थाका सदस्य यजनलाल शाक्यले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाको अवसरमा मिटर रिडर सौरभ किसानलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद पाँच हजार सहित सम्मान गरिएको थियो । उपाध्यक्ष तुलसीलता श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष याम शाक्यले गत आर्थिक वर्षको ९६ लाख २६ हजार ५८५ रुपैया बराबरको आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा स्मार्ट वाटर टेक्नोलोजी लागु गरेर मोवाईलबाट महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउन लागिएको जानकारी गराइएको थियो । यस्तो प्रबिधि लागू भएपछि उपभोक्ताले घरमै बसेर खानेपानीको महशुल भुक्तानी गर्न पाउनेछन् । बाढी पहिरोका कारण पाइप फुटे वा अन्य संरचनामा क्षत्ती पुगेमा ईन्टरनेट र मोवाईलबाट जानकारी प्राप्त गर्न सकिनेछ् ।

स्विच भल्भ र गेट भल्व कम्प्युटरबाट नियन्त्रण हुने, आधुनिक उपकरणको प्रयोगबाट मिटर रिडीङ हुने, प्रयोगशालालाई व्यवस्थित र स्तरोन्नति गरिने, विलीङ तथा लेखा सफ्टवयर प्रयोग गरिने, पाईपलाईन तथा भौतिक संरचनाहरुमा रेट्रो फिटिङ गरिने, कम्प्युटरबाट उपभोक्ताको मिटरका बारेमा जानकारी लिइने र पानीलाई बोट्लिङ गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सकिने छ । बेनी बजारका ९६१ घरधुरी उपभोक्तालाई खानेपानी सुबिधा प्रदान गर्दै आएको आयोजनाको यसै वर्ष छ करोड पन्ध्र लाख २७५ रुपैयाको लागतमा स्तरवृद्धी गरी चौबिसै घण्टा प्रतिसेकेण्ड बिस लिटर खानेपानी आपुर्ती गर्ने क्षमत्ताको बनाइएको छ ।

सन्तोष गौतम