म्याग्दी महोत्सवको उद्घाटनको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बेनी आउने

  • २० पुष २०७४, बिहीबार
  • कमल खत्री
  • 3403 पटक पढिएको

म्याग्दी, २० पुस । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी आउनुहुने भएको छ । म्याग्दीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउने उदेश्यले आयोजना हुन लागेको महोत्सवको पुस २८ गते हुने उद्घाटन कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड बेनी आउन लाग्नुभएको हो ।

महोत्सवको प्रमुख अतिथिको रुपमा प्रचण्डलाई निमन्त्रण दिईएको र उहाँको व्यस्त समयको बाबजुत पनि म्याग्दी महोत्सवलाई उद्घाटन गर्न उहाँ आउने पक्का भएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्मचार्यले जानकारी दिनुभयो । प्रचण्डको निजि सचिबालय संग समन्वय गरि दिउँसो १ बजे महोत्सवको उद्घाटन गर्ने गरि समय समेत तय भईसकेको छ । प्रचण्ड हेलीकप्टर मार्फत बेनीमा आउनुहुने म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ ।

विहान साढे १० बजेदेखि बेनीमा विभिन्न जातजातीको पहिचान झल्कने झाँकी सहितको ¥याली पश्चात दिउँसो १ बजे महोत्सव स्थल खुलामञ्चमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले औपचारीक रुपमा महोत्सवको उद्घाटन गर्नुहुने संघले जनाएको छ । यसैबिच महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक संकलन, प्रचार प्रसार, स्टल निर्माण लगायतको तयारीलाई तिब्रता दिएको छ ।

महोत्सव सञ्चालनका लागि ७३ लाख ११ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । पर्चा, पम्पलेट, ब्रोसर, ब्यानर, सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत महोत्सव प्रचारप्रसार गरिएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको प्रचारप्रसार उपसमितिका संयोजक सुवर्ण रिजालले बताउनुभयो ।


दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने र करीब छ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा व्यवसायीक स्टल राखिने भएको छ । स्थानीय उत्पादनलाई निशूल्क प्रर्दशनीका लागि स्टलको व्यवस्था गरिएको द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । महोत्सवमा चालीस लाख रुपैया बराबरको टिकट बिक्री गर्ने लक्ष्य राखिएका छ । म्याग्दीका पर्यटकीय स्थलहरुको तस्वीर समावेश गरी त्यस स्थानको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने योजना बताइएको छ । महोत्सवमा लोक दोहोरी, पुरुष महिला भलिबल, बास्केटबल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । फाईल तस्बिरः म्याग्दीअनलाईन डटकम

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l