पुननिर्माण तिब्र गतिमा अगाडी बढ्दै छः कार्यकारी अधिकृत भुषाल

  • २० पुष २०७४, बिहीबार
  • कमल खत्री
  • 1679 पटक पढिएको

म्याग्दी, २० । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले पुननिर्माणको कामलाई गति दिनुपर्नेमा जोड दिनुभएको छ । भूकम्पबाट प्रभावित भएकाहरुको निजि आवास पुननिर्माण सम्बन्धी विहिवार बेनीमा आयोजित सरोकारवालाबिचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अधिकृत भुषालले भूकम्प गएको लामो समय भईसकेकाले पुननिर्माणको कार्यलाई तिब्रता दिनुपर्ने बताउनुभयो ।

भूकम्प प्रभावित हरेक स्थानीय तहमा प्राबिधिक खटाईसकिएको बताउँद पुननिर्माणलाई तिब्रता दिनका लागि सहजिकरणको भुमिका खेल्न स्थानीय जनप्रतिनिधिहरुलाई प्रमुख कार्यकारी अधिकृत भुषालले आग्रह गर्नुभयो । आगामी बर्खा अघिनै भुकम्प पिडितलाई टहराबाट घरमा सार्ने प्राधिकरणको लक्ष्य रहेको बताउँदै डकर्मी अभावको समस्या समाधानका लागि डकर्मी तालीम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

प्राधिकरणले भूकम्पबाट प्रभावित निजी आवास संगै सामुदायिक विद्यालय, ऐतिहाँसिक तथा धार्मिक सम्पदाहरुको समेत पुननिर्माणलाई अगाडी बढाएको बताउँदै दाताहरुबाट प्राप्त रकमको उपयोग मार्फत पुननिर्माणलाई सफल बनाउनुपर्ने उहाँले धारणा राख्नुभयो । ‘‘ धेरै बाधा अडचनहरु कार्यविधि मार्फत फुकाईएको छ, स्थानीय स्तरमा हुने समस्यालाई जिल्ला समन्वय समिति मार्फत टुंगो लगाउँदै निजी आवास पुननिर्माणको अभियानलाई जतिजस्को चाँडो सक्नुपर्छ,’’– प्रमुख कार्यकारी अधिकृत भुषालले भन्नुभयो ।

कार्यक्रममा म्याग्दीमा ८६८ लाभग्राही मध्य अझै २२३ लाभग्राहीसंग अनुदान सम्झौता गर्न बाँकी रहेको जानकारी गराईएको थियो । अनुदान सम्झौता गरेका ६४५ मध्य ६०० जनालाई अनुदानको पहिलो किस्ता वापतको पचास हजार रुपैयाका दरले उपलब्ध गराइएको र कार्य प्रगती अुनसार थप रकम समेत उपलब्ध गराईने प्राधिकरणले जनाएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रबत्ता यमलाल भुषालले स्थानीय तहहरुले समेत आफ्नो क्षेत्रमा हुने पुननिर्माणलाई सकरात्मक रुपमा अगाढी बढाउन सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले कतिपय असाह्य र अपांगता भएका व्यक्तिहरुको आवास पुननिर्माणमा समस्या भए सामाजिक संघ संस्थाको नेतृत्वमा समेत त्यसलाई पूर्णता दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, उप–प्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, जिससका पुननिर्माण आयोजनाका सम्पर्क व्यक्ति पदम भण्डारी, कोष तथा लेखा नियन्त्रकको कार्यालयका निमित्त प्रमुख नारायण सुवेदी लगायतले पुननिर्माणका क्रममा देखिएका समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l