गुरील्ला पदमार्गले समेटीएको पर्यटकीय जलजलाको लेक ओझेलमा (भिडियो सहित)

  • २० पुष २०७४, बिहीबार
  • कमल खत्री
  • 2955 पटक पढिएको

म्याग्दी, २० पुस ।गुरील्ला पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय ठाउँ जलजलाको लेक प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको छ । धौलागिरि गाउँपालिका–२ मा अवस्थित जलजलाको लेकबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपनि प्रचार प्रसार नहुँदा पर्यटक आगमन हुन नसकेको हो ।

समुन्द्रि सहतदेखि तीन हजार ४२० मिटरको उचाईमा समथर भुभागमा अवस्थित जलजलाको लेकबाट धौलागिरि, गुर्जा, चुरेन, पुथा, निलगिरि लगायतका दर्जनौ हिमशृङखलालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । जैविक विविधतायुक्त जलजला क्षेत्र सुर्योदय र हिमशृङ्खलाको दृष्यावलोकनको लागि उपयुक्त स्थान रहेकाले पूर्वाधार निर्माण र प्रचार प्रसार आबश्यक रहेको म्याग्दी उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

म्याग्दीको लुलाङबाट करिब साढे ४ घण्टाको यात्रापछि पुगिने प्रचुर पर्यटकीय सम्भाबना बोकेको जलजलाको लेकलाई भर्जिन (कुमारी) पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ । सडक सञ्जालदेखि टाढा रहेकाले पनि यस क्षेत्रलाई दिर्घकालिन रुपमा पर्यटक भित्र्याउने थलोको रुपमा विकास गर्नुपर्ने शाक्यले बताउनुभयो ।

जलजला क्षेत्रलाई ढोरपाटन शिकार आरक्ष क्षेत्रले समेत समेटिएको छ । जलजलामा पदमार्ग, होटल तथा आवास गृह लगायतका पूर्वाधार निर्माण गरि प्रचार प्रसार गर्न सकेमा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन सक्ने सम्भाबना रहेको हालै जलजला पुगेर फर्कनुभएका गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) का पूर्व महासचिब एवम् पर्यटन व्यवसायी राजकुमार थापाले बताउनुभयो ।

‘‘ पर्यटक भित्र्याउनका लागि पदमार्गको अबस्था बुझ्न हामीले गुरिल्ला पदमार्गको फन्को मारेका हौँ, पदमार्ग अन्र्तगत धेरै सम्भावनायुक्त क्षेत्र छन्, त्यसमध्ये म्याग्दीको जलजला क्षेत्र पनि प्रचुर पर्यटकीय सम्भाबना बोकेको क्षेत्र रहेछ,’’–उहाँले भन्नुभयो । जलजलाको प्राकृतिक सौन्दर्यता नेपालका अन्य पर्यटकीय क्षेत्रहरुको भन्दा उत्कृष्ट रहेको उहाँको अनुभव छ ।

यो क्षेत्रमा शान्त र प्राकृतिक सौन्दर्यतामा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याउन सकिने गुरील्ला पदमार्गका प्रवद्र्धक सुरेन्द्र रानाको भनाई छ । ‘‘ जलजलाबाट आँखा अगाडी नै उभिएका सेताम्मे हिमाल नियाल्दा जो कोहीलाई आदन्द दिन्छ, पर्यटक भित्र्याउन सक्ने ठुलो सम्भावनाहरु अहिलेसम्म खेर गएका छन, तत्काललाई जलजलामा सामान्य खाना खाने र बास बस्ने ठाउँको प्रवन्ध मात्रै गर्न सकेमा पर्यटक आगमन बढ्छ,’’–रानाले भन्नुभयो । म्याग्दीको जलजला ,बागलुङ, रुकुम र रोल्ला लगायतको पश्चिम नेपालका तत्कालिन सरकार र माओवादी द्वन्द्वका कारण प्रख्यात बनेका दन्द्ध प्रभावित क्षेत्रलाई समेटेर सन २०१२ देखि नेपाल सरकार र पर्यटन बोर्डले गुरील्ला पदमार्गलाई खुला गरेको थियो । म्याग्दीको बेनी हुँदै पश्चिमी व्यापारिक केन्द्र दरवाङबाट सुरु भएर बागलुङको ढोरपाटन क्षेत्र र रुकुम हुँदै रोल्पाको सुलिचौरमा पुगेर टुंगीने यस पदमार्ग करिब दुई सातामा फन्को लगाउन सकिन्छ ।

द्वन्द्व प्रभावित क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न र विदेशी पर्यटकलाई जनयुद्धकालीन दिनचर्या, विकट बस्तीको जनजीवन र मगर, छन्त्याल लगायतका जातजातीको संस्कृतिको अनुभव दिलाउन यस पदमार्गले सहयोग गर्ने अपेक्षा गरिएको छ । पदमार्गमा पर्ने अधिकांश बस्तीहरूमा मगर समुदायको बाहुल्यता रहेको छ । मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमशृङ्खला, ग्रामीण जीवनशैली र स्थानीयवासीको द्वन्द्वकालको अनुभव यो पदमार्गको आकर्षण रहेको छ । पदयात्राको क्रममा हिमाल, जङ्गल, नदी, छहरा, ग्रामीण बस्ती, जङ्गली जनावर र पंक्षीको समेत अवलोकन गर्न पाइन्छ । यसैबिच गुरिल्ला पदमार्गको फन्को मारेर आएका पर्यटन व्यवसायी थापा र पदमार्गका प्रवद्र्धक रानालाई बेनीमा म्याग्दी उद्योग बाणिज्य संघले स्वागत गरेको छ । संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य सहितको टोलीले उनीहरुलाई स्वागत तथा सम्मान गरेको हो । सो अबवसरमा थापा र रानाले गुरिल्ला पदमार्ग र जलजला क्षेत्रको पर्यटन सम्भावनाको बारेमा आफ्नो अनुभुती सुनाएका थिए । तस्बिर  :सरेन्द्र राना

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l