आफ्नै हातका अौँला काटी पोलेर खाने श्रीमतीलाई छुटाउन पुगेका चन्द्रबहादुर…………………….

  • २० पुष २०७४, बिहीबार
  • 2179 पटक पढिएको

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ झमके निवासी ६४ वर्षीय चन्द्रबहादुर महताराले चार दिनकोमै आफ्ना चारै औंला काट्ने पत्नीलाई लिन प्रहरी कार्यालय पुगेका छन्। ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनामा रहेकी ६४ वर्षीया पत्नी रिसमीलाई थुनाबाट निकालेर घर लैजान भन्दै आइतबार बेलुका चन्द्रबहादुर प्रहरी कार्यालय आएका हुन्।

उनले प्रहरी समक्ष आफूले पत्नीका विरुद्ध कुनै उजुरी नगर्ने बताउँदै उनलाई छाडिदिन प्रहरीसमक्ष आग्रह गरेका छन्। तर, आइतबार कार्य व्यवस्ताले गर्दा ईलाका प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी प्रकाश सापकोटा साँझ अवेरसम्म पनि कार्यालय फर्किन नपाएकाले उनले पत्नीलाई घर लिएर जान पाएनन्। ‘यो चर्चित काण्डको बारेमा मैले एसपीसापलाई सोध्नुपर्छ र सायद उहाँले पनि माथि सोध्नुपर्ने हुन सक्छ। त्यसैले यसको बारेमा सोमबार छिनोफानो हुनेछ,’ प्रमुख सापकोटाले भने।

चार दिनपछि नेपालगञ्जस्थित नर्सिङ होममा उपचारपछि फर्किएका चन्द्रबहादुर आइतबार सोझैं ईलाका प्रहरी कार्यालय पुगेर पत्नी रिसमीलाई भेटेका थिए। ‘म त बुढी लगेर जान्छु, ऊ बिना म पनि जाँदैन,’–चन्द्रबहादुरले भने ‘यो बिना मलाई कसले स्याहार सुसार गर्छ, मलाई कस्ले खुवाउँछ।’ पत्नी रिसमीले पनि उक्त दिन आफूले मदिरा सेवन गरेको हुँदा आवेगमा गल्ती भएको भन्दै अब यस्तो गल्ती कहिलै नदोहरीने बताएकी थिइन्।

‘अब त मेरो चेतना आयो र बुढाको पनि चेतना आयो। अबदेखि रक्सी पनि खान्न र बुढीलाई कहिलै हान्दिनँ,’ चन्द्रबहादुरको यस्तो कुरा सुनेर उनकी पत्नी रिसमीले हाँस्दै भनेकी थिइन्‘ हान्ने हात त मैले काटिदिएँ अब के ले हानौला र?’ अब मिलेर बस्ने बताएकी उनले धेरै पटक सम्झाउँदा पनि बुढाले नमानेपछि आवेगमा आएर खुर्पाले हानेको बताइन्। ‘काट भन्दै घाँटी थापे, तर मैले हात काट्छु भनेपछि औंला अडाडि सारिदिए। दुई पटक विस्तारै हाने। तर बुढाले काटिएन फेरि हान भनेपछि अलि जोड्ले हान्दा सबै औंला छिनालिए र आगोमा पोलेर खाएँ।’

चन्द्रबहादुरले पनि जे नहुनु थियो त्यो भएको भन्दै उसैले जोखिम गराई र अब उसैले सिहार्छे भनेका थिए। चन्द्रबहादुर र रिसमीबीचको संवाद गराउने ईप्रका तुलसीपुरका प्रहरी नायव निरिक्षक रामबहादुर जिसीले पनि उनीहरुको बीचमा कुनै रिसराग र बदलाको भावना नझल्किएको बताए। ‘बुढा बुढीको बीचमा अगाध प्रेम रहेछ, उनीहरुको त्यो प्रेममा राक्षस प्रवृति भनेकै मदिरा भएको पुष्टि भयो,’ जिसीले भने ‘लोग्ने स्वास्नीको झगडा परालको आगो त्यसै भनिएको होइन। हामी नेपाली दयालु र सहिष्णु पनि छौं भन्ने यो एउटा अनुपम नमुना हो।’

उनीहरुको बीचमा निकै सौहार्दपूर्ण रुपमा सम्वाद र हाँसी मजाग भएको थियो। त्यो सम्वाद प्रत्यक्ष सुन्ने पनि चकित देखिन्थे। गत पुस १२ गते मात्रै रिसमीले पति चन्द्रबहादुरको दायाँ हातको चार वटा औंला काटेर अगेनामा पोलेर खाएकी थिइन्।
साभार setopati बाट