गायन र हाँस्यब्यङ्गेमा संगसंगै अगाडी बढ्दै कलाकार कार्की (फोटो फिचर)

  • १९ पुष २०७४, बुधबार
  • कमल खत्री
  • 2655 पटक पढिएको

म्याग्दी, १९ पुस । कलाकारीताको क्षेत्रमा म्याग्दीका बालबच्चादेखि बुढापाका सम्मले चिन्ने नाम हो रवि कार्की । बेनी नगरपालिका–९ नेप्टेचौरका २६ बर्षिय कार्कीले कलाकारीतामा छोटो समयमै सफलता प्राप्त गर्ने कलाकारहरुको सूचिमा आफुलाई स्थापित गराउन सफल भएका छन् । सानै उमेरदेखी कलाकारीतामा रुची राख्दै आएका कार्कीले तीन बर्ष अगाडी देखि मात्रै व्यवसायिक रुपमा कलाकारिता पेशालाई अंगालेका हुन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्दा समेत विभिन्न लोकदोहोरी तथा नाट्य विद्याका प्रतियोगितामा सहभागीता जनाएर पुरस्कारहरु हात पारेका कार्कीले वैदेशिक रोजगारिबाट फर्किएपछि २०७२ साल वैशाख १ गते रघुगंगा गाउँपालिका– ३ कलेजाबाङमा आयोजित मेलाबाट व्यवसायीक रुपमा कलाकारीतालाई पेशाको रुपमा अंगालेका थिए ।

गायन, कमेडी नृत्य र हाँस्य प्रस्तुतीमा आफुलाई अब्बल बनाएका कार्कीलाई अहिले गाउँमा हुने मेला, विभिन्न संघ संस्थाको कार्यक्रम देखि ठुला मेला महोत्सवहरुमा समेत आफ्नो प्रस्तुती राख्न भ्याई नभ्याई हुने गरेको छ । करिब तीन बर्षको अबधिमा कार्कीले ३ सय भन्दा बढी साना ठुला मेला महोत्सवहरुमा आफ्नो प्रस्तुती राखीसकेका छन् । उनले म्याग्दी, बागलुङ, पर्वतका साथै कास्की, तनहुँ, नवलपरासी लगायतका ठाउँमा आयोजित मेला महोत्सवहरुमा समेत आफ्नो प्रस्तुतीहरु राख्दै आएका छन् । समसामयीक विषय, नऔठो भेषभुषा र आकर्षक अभिनयको कारण कार्कीलाई म्याग्दी संगै बागलुङ र पर्वतको समेत विभिन्न मेला तथा महोत्सवहरुमा आयोजकहरुले रोजाईमा पार्दै आएका छन् । कलाकार कार्कीले कमेडी नृत्य र अभिनय संगै लोदोहोरी गीत समेत गाउने गरेका छन् । उनले सर्जग प्रविन खत्रीको शब्द संकलनमा आफ्नै थेगो ,लय र स्वरमा ‘बेनी बजारमा झर मायालु ’ बोलको पञ्चेबाजा गित म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् ।

गत बर्ष आफ्नै जन्मथलोमा छायांकन गरिएको सो म्युजिक भिडियो र गितले धौलागिरि क्षेत्रमा निकै चर्चा बटुल्न सफल भएको छ । सामाजिक सञ्जाल र युट्युवहरुबाट उनको गित संगै कमेडी प्रस्तीहरुको प्रचार प्रसार भएपछि अहिले उनलाई बाहिरी जिल्लाहरुबाट समेत कार्यक्रमहरुमा प्रस्तीको लागि निम्तो आउने क्रम बढेको छ । उनले यस अघि आफ्नै लय र स्वरमा रहेको गिती एल्बम ‘बादल भित्र लुक्ने जुन हुँ म’ बोलको गित समेत बजारमा ल्याएका छन् ।

लोकदोहोरी गायनमा पनि पोख्त रहेका कार्कीले गत बर्ष बजारमा ल्याएको पञ्चेबाजाको गितबाट पाएको सफलताबाट उत्साहित भएर पुनः निकट भविश्यमै अर्को एल्बम समेत बजारमा ल्याउने तयारी गरेको बताउँछन् । ७ बर्ष अगाडी बेनीको म्याग्दीकाली एफएममा रेडियो प्रस्तोताको रुपमा काम थालेका कार्कीले ‘माईलाबाजेको आगन’, ‘काउसो’ लगायतका हास्यव्यङ्गे रेडियो कार्यक्रमसंगै लोकदोहोरी गित सम्बन्धी ‘देउराली’ कार्यक्रम सञ्चालन गर्दै गर्दा कलाकारीता क्षेत्रमा थप आफुलाई निखार ल्याउने मौका पाए । पछि विस्तारै विभिन्न कार्यक्रमहरुमा आफ्नो प्रतिभा प्रष्फुटन गर्ने अवसरहरु प्राप्त गरेपछि उनले टेलिशृङ्खलाहरुमा समेत निर्देशन र अभिनयको रुपमा आफुलाई चिनाउन सफल भए ।

धौलागिरी टेलिभिजन बागलुङबाट प्रशारण हुने ‘तिमी र म तीन छक्कै’ नामको टेलिशृङ्खलामा कलाकार बाबुराम सुवेदीसंग सहकार्य गरि कार्कीले अभिनय संगै लेखन र निर्देशन गरेका थिए । कार्कीले वैदेशिक रोजगारिको क्रममा मलेसिया रहँदा समेत त्यहाँ विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती राख्ने अबसर पाए । विदेश पुगेको एक बर्ष नवित्दै स्वास्थ्य समस्याले घर फर्किएर कलाकारीतामा लागेका कार्कीले आफ्नो विदेश जाँदा र उपचारमा लागेका ऋण समेत कलाकारीताबाट आएको पारिश्रमीकबाटै तिरेका छन् । कलाकारितामा निरन्तर लगाब राखेका कार्कीले कलाकार ध्रुव जिसीको सनाई रोलाकी र नकुल ढकालको रुँदै मेला पातको म्युजिक भिडियोमा कमेडी नृत्यको रुपमा अभिनय गरेका छन् । उनमा भएको नाट्य अभिनयको क्षमताको कदर गर्दै स्थानीय विभिन्न संघ संस्थाहरुले प्रदर्शन गर्ने जनचेतनामुलक नाटकहरु समेत कार्कीकै समुहले तयार पार्दै आएको छ ।

धौलागिरी नाट्य समुह म्याग्दीको अध्यक्ष समेत रहेका कार्कीको नेतृत्वमा हात्तिपाईले विरुद्धको खोप अभियान, भष्टचार विरुद्धको सचेनामुलक अभियान, मतदाता शिक्षा सम्बन्धि कार्यक्रमहरुको नाटक तयार पारि प्रदर्शनको काम समेत गरिसकेका छन् । सुरक्षित मातृत्व सम्बन्धि लोकदोहोरी गित प्रतियोगितामा कक्षा १० मै अध्ययन गर्दा प्रथम भएका कार्कीले जनसाँस्कृतिक महासंघको २९ औँ स्थापना दिवसको अवसरमा जनसाँस्कृतिक युवा प्रतिभा पुरस्कार २०७३ नाट्य विधाबाट पूर्वप्रधानमन्त्री केपि ओलीबाट सम्मानीत हुने अबसर समेत पाएका थिए । अहिले कलाकारीता क्षेत्रलाई आफ्नो प्रमुख पेशा बनाएका कार्कीले यसबाट हुने आम्दानीबाटै आफ्नो दैनिकी चलाउँदै आएका छन् । अधिकाँश कार्यक्रमहरुमा निम्तो दिने आयोजहरुले आफ्नो प्रस्तुती देखेर पुर्व निर्धारित पारिश्रमीकमा रकम थप गरि कलाको सम्मान गर्ने कार्यले कलाकारीतामा थप उत्साहित बनाउने उनको अनुभव छ ।

नाट्य र लोकदोहोरी विधालाई संगसंगै अगाडी लैजाने योजना बनाएका कार्कीले ठुला मेलामा राष्ट्रिय स्तरका कलाकारहरु संगसंगै प्रस्तुती दिँदा आफुलाई गर्वको महसुस हुने र ग्रामीण भेगमा हुने कार्यक्रमहरुमा स्थानीय आतित्यथा र दर्शकको आत्मिएताले यस क्षेत्रमा लाग्दा आउने आर्थिक, भौतीक समस्यालाई विर्साउने गरेको बताउँछन् । पहिले गायन क्षेत्रमा रुची भएका कार्कीले पछिल्लो समय हास्यव्यङ्गे क्षेत्रमा कम कलाकार भएको र आफुमा त्यो क्षमता भएको महशुस भएपछि आफुलाई कमेडी नृत्य र अभिनयको क्षेत्रमा समाहित गरेका हुन् । अहिले धौलागिरी क्षेत्रमा हुने मेला महोत्सवमा स्थानीय चर्चित हाँस्य कलाकारको रुपमा कार्कीले आफुलाई चिनाउन सफल भएका छन् । गायन र अभिनय दुबै क्षेत्रमा दख्खल राख्ने कलाकार कार्कीले गित गाउँनु भन्दा अभिनय मार्फत दर्शकलाई हँसाउनु बढी गाह्रो हुने बताउँछन् । धौलागिरी स्तरका कार्यक्रमहरुमा व्यस्तता भएपनि देश अन्य ठाउँ तथा विदेशका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी हुने अवसर सृजना भए यसै क्षेत्रमा लाग्ने थप हौँसला मिल्ने कार्कीको अपेक्षा छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l