दोहोरो ‘दबाब’ मा प्रचण्ड

  • १९ पुष २०७४, बुधबार
  • 1735 पटक पढिएको

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाका चुनावपछिका केही दिन प्रचण्डलाई बधाई थाप्नको भ्याइनभ्याई थियो । तर, त्यसपछिका दिनमा प्रचण्डलाई ‘सुझाव’ र ‘दबाब’ दिनेहरुको भीड लाग्न थालेको छ ।

अहिले प्रचण्डलाई भेटन जानेहरु दुई थरि ‘सुझाव’ र ‘दबाब’ लिएर जाने गर्छन् । एउटा पंक्ति छ, ‘पूर्व सहमति अनुसार बामगठबन्धनलाई पार्टी एकतामा लैजाने र अव देशको आर्थिक समृद्धि तथा विकासका लागि जुटने ।’

अर्को समूहका व्यक्तिहरु छन, जसले ‘एमाले–माओवादी एकता रोक्ने र तत्कालका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउने’ सूत्र लिएर प्रचण्डकहाँ जाने गरेका छन् ।

पहिलो प्रचण्डका लागि स्वभाविक सुझाव हो । तर, एकता त्यति सजिलो छैन भन्ने बुझेका प्रचण्डले एकताको ‘मोडालिटी’ र ‘पावर सेयरिङ’ कसरी मिलाउने भन्ने दबाब छ ।

प्रचण्डलाई एकताबाट भाग्ने सुविधा चाहिँ कम छ । अझ बामगठबन्धनभन्दा बाहिर निस्कन त निकै कठिन, किनभने असोज १७ गते जे जस्ता मुद्दासहित बामगठबन्धन बनेको थियो, त्यहीँ अनुसार मत पाएपछि त्यहाँबाट भाग्दा हुने राजनीतिक खतरा प्रचण्डजस्ता चतुर राजनीतिक खेलाडीले राम्रोसँग बुझेका छन् ।

पूर्वसहमति अनुसार अगाडि नबढे राजनीति भविष्य सकिने अनौपचारिक सन्देश र धम्की पनि प्रचण्डले पाएका छन् ।

सामन्य तरिकाले हेर्दा पनि प्रचण्ड र ओलीसँग जनादेशको दबाब छ । पाँच बर्ष पछि फेरि चुनाव आउँछ, अहिले गठबन्धनको औचित्य पुष्टी भएन भने अर्को चुनाव कठिन हुन्छ भन्ने उनीहरुले बुझेका छन् । प्रचण्डका पूर्वस्वकीय सचिव रहेका माओवादी नेता विकेश श्रेष्ठ भन्छन्, ‘पार्टी एकतामा पहल माओवादीबाट बढी भएको छ । एमाले रक्षात्मक अवस्था छ । यसकारण पार्टी एकता भएन भने बामगठबन्धनको सरकार बन्छ कि बन्दैन भन्ने संशय छ ।’

प्रचण्डले गठबन्धनदेखि पार्टी एकतासम्मलाई अवसरका रुपमा हेरेका छन् । र, उनीलाई थाहा छ कि यो अवसर गुम्यो भने जटिलता आउन सक्छ । हुन त फोरमलाई साथ लिएर सरकार बनाउने सुविधा ओलीलाई हुन्छ तर काँग्रेस र माओवादीजस्ता शक्ति बाहिर राखेर सरकार चलाउने कुरा सहज हुँदैन ।

प्रचण्डले ओली बिना पनि सरकार बनाउन सक्छन् । तर, एउटै घोषणापत्रमा चुनाव लडेका ओलीलाई बाहिर राखेर सरकार चलाउन किठन हुन्छ भन्ने प्रचण्डले पनि बुझेका छन् । यसकारण तुरुन्तै प्रचण्डले ओलीबिनाको गठबन्धन बनाउँछन् भन्ने सम्भावना कम छ ।

बरु पाटी एकता भएन भने पनि बामगठबन्धनको सरकार बन्न सक्छ । यस्तोमा प्रधानमन्त्री प्रचण्ड बन्न सक्छन् । किनभने प्रचण्डलाई फकाउँदा हुने प्राप्ति र गुमाउँदा हुन हानीबारे एमालेबृत जानकार छ । त्यसकारण परिस्थितिले प्रचण्डलाई पहिलो कार्यकाल अर्थात् दुई बर्षका लागि प्रधानमन्त्रीका रुपमा अगाडि पनि ल्याउन सक्छ ।

बामगठबन्धनलाई पार्टी एकतामा पुर्याउने दबाबबाहेक प्रचण्डसँग नयाँ गठबन्धनको नेतृत्व लिन पनि दबाब बनाइएको छ । यसमा मूलत काँग्रेस नेता र दक्षिणी छिमेकी भारतको दबाब छ । मधेशवादी दलहरु पनि भावी प्रधानमन्त्रीका रुपमा ओलीभन्दा प्रचण्डलाई आफ्नो अनुकुल मान्छन्, किनभने संविधान संशोधनमा प्रचण्डजति उदार छन्, ओलीमा त्यो उदारता छैन भन्ने उनीहरुको बुझाई छ ।

बामगठबन्धन बनाउदा कार्यकारी भूमिका नहुने भन्दै प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढ्न काँग्रेसका केही नेताको सुझाव छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच वर्षका लागि सरकारको नेतृत्व लिन अफरै गरेका छन् ।

प्रचण्डलाई भावी प्रधानमन्त्री बन्न सुझाव मात्र होइन दबाब पनि छ । अनौपचारिक तरिकाले कतिपय वृतमा बामगठबन्धनमा जाँदा प्रचण्डलाई भौतिक सुरक्षादेखि द्वन्द्वकालीन मुद्दासम्मको झमेला आइपर्ने बताउन थालिएको छ । यो प्रचण्डमाथि दबाब बनाउने अस्त्र हो ।

शान्ति प्रक्रिया एक किसिमले सफल भएको छ । अन्तर्राष्ट्रिय समुदायले मान्यता पनि दिएको छ । यस्तोमा प्रचण्डका लागि द्वन्द्वकालिन मुद्दाको अस्त्र प्रभावका लागि त्यति बलियो हतियार नहुन सक्छ ।

बरु, प्रक्रिया ढिला गरेर एमाले–माओवादीवीच दूरी पैदा गर्ने नै काँग्रेस र भारतको रणनीति हुन सक्छ ।

काङ्ग्रेसका तर्फबाट विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अमरेशकुमार सिंह, डा. शशांक कोइरालालागयतका नेता प्रचण्डसँग संवादमा छन् । मधेसी दलका तर्फबाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव, राजेन्द्र महतो, अनिल झा, सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवलगायतका नेताहरू पनि नियमति संवादमा छन् ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा तेस्रो ‘पोजिसन’ मा छन् प्रचण्ड । तर, फेरि पनि उनलाई यो सुविधा छ कि, उनीबिना यहाँको राजनीति अब अगाडि बढ्ने ठाँउमा छैन ।

चुनावमा धक्का महसुस गरेपनि काङ्ग्रेसका लागि प्रचण्ड नै प्यारो बनेका छन् । त्यसैले त ओलीले बामदेव गौतमको पुस्तक विमोचनमा भनेका थिए, ‘काँग्रेसले माया गरेर पाँच वर्ष सरकार चलाउनुहोस् भनेको होइन । यो त बामगठबन्धन भाँड्न हो ।’

पार्टी एकता र सरकार गठनमा जति–जति ढिलाई हुन्छ, प्रचण्डमाथि दुवैतर्फबाट दबाब बढ्दै जानेछ । तर, प्रचण्डले भने जनादेश अनुसार आफू अगाडि बढ्ने बताइरहेका छन् ।

source: ratopati.com