जेसीजकप फुटवलमा वेष्ट प्वाइन्ट युगको उदय !

  • १९ पुष २०७४, बुधबार
  • 1887 पटक पढिएको

म्याग्दी, १९ पुस । जेसीजकप फुटबल प्रतियोगिताको युगलाई नियाल्ने हो भने, सबैभन्दा अभागी टिम हो न्यू वेष्ट प्वाइन्ट आवसीय मावि । ११ औँ पटक फाइनल पुग्दा जति स्वर्णिम इतिहास उसँग छ, त्यति नै ९ पटक उपाधी गुमाउँदा र उपविजेता बन्दाको दुखद् पल पनि । पछिल्लो पटक सन् २०१२ मा प्रकाश माविलाई हराउँदै उपाधी चुमेको वेष्ट प्वाइन्ट त्यसयता तीनबर्ष निरन्तर माउण्ट एभेरेष्टसँग निरिह बन्दै आयो । मँगलबार बिहान सुरुवाती अग्रतालाई उल्ट्याउँदै माउण्टसँग व्यहोरेको ह्याट्रिक हारको बदला मात्रै लिएन्, जेसीकप फुटबलमा वेष्ट प्वाइन्ट युगको आरम्भ समेत गर्न सफल भयो । पाँच वटा उपाधि च्याम्पियन बनेको जेसीजकपमा सन् २००२–२००५ लाई प्रकाश मावि युग, तीन पटक च्याम्पियन बनेको २००६–२००९ लाई बेनी बोर्डिङ युग र २०१४–२०१६ लाई माउण्ट युग मान्ने हो भने मँगलबारको उपाधीले वेष्ट प्वाइन्टलाई ‘युग’ निर्माणको ढोका खोलेको छ ।

रोमाञ्चक फाइनल भिडन्तको पहिलो हाफमा भने माउण्ट हावी भयो । साविक विजेताको शान कायम राख्ने उच्च मनोवलका साथ मैदान ओर्लिएको माउण्टले स्वभाविक खेल प्रर्दशन गर्दा, २ गोल संभव बन्यो । दोश्रो हाफमा आक्रमक रणनीतिका साथ मैदान छिरेको वेष्ट प्वाइन्ट ४५ औँ मिनेटमा खेलमा फर्कियो । मनिश श्रेष्ठले विपक्षीलाई जिल्याउँदै गोल गर्न सफल रहे । गोलपछि हौसिएको वेष्ट प्वाइन्टले लगत्तै फ्री किकको मौका पायो, जसलाई उनै मनिसले अर्को दर्शनीय गोल गरेपछि खेल २–२ को स्थितिमा आइपुग्यो । मनोवैज्ञानिक रुपमा कम्जोर बनीसकेको माउण्टलाई इञ्जुरी समयमा अन्तिम झट्का लाग्यो, जसमा नायक बने वेष्ट प्वाइन्टका महेश पुन । यसरी, फाइनलमा ३–२ गोल अन्तरले जित निकाल्दै वेष्ट प्वाइन्ट १६ औँ जेसीजकप फुटबलको प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । सेमीफाइनमा माउण्टले बुद्ध एकेडेमीलाई ५–० र वेष्ट प्वाइन्टले केवी एकेडेमी दरबाङलाई १०–१ गोलले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका थिए ।

प्रतियोगिताभर १० गोल गरेका महेश सर्वाधिक गोलकर्तासँगै उत्कृष्ट स्टाइकर घोषित भए । वेष्ट प्वाइन्टका किस्मत पुन उत्कृष्ट खेलाडी बन्दा उत्कृष्ट गोलरक्षक वेष्ट प्वाइन्टकै सज्जन बराईली चुनिए । उत्कृष्ट डिफेन्डरमा माउण्टका ललित सापकोटा, उत्कृष्ट मिडफिल्डरमा माउण्टकै भुवन घर्ति चुनिँदा राइजिङ प्लेयरको उपाधी वेष्ट प्वाइन्टका टिपेन पुन तथा उत्कृष्ट प्रशिक्षकमा वेष्ट प्वाइन्टका दिपेन राई भए । बुद्ध एकेडेमी अनुशासित टिम बनेको आयोजकले जनाएको छ । सबैलाई जनही नगद १५ सयको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरियो । उपाधीसँगैँ, वेष्ट प्वाइन्टले नगद ३४ हजार, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र तथा उप–बिजेतामा चित्त बुझाएको माउण्टलाई नगद १७ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरियो । वेष्ट प्वाइन्टका खेल प्रशिक्षक दिपेन राई फ्रि किकलाई गोलमा परिणत गर्नु तथा खेलमा विपक्षीलाई दवावमा राख्न सक्नु नै जितको सूत्र रहेको बताए । ‘यो फर्मलाई अर्को बर्षपनि कामय राख्नेछौँ’, उनले भने ।

प्रतियोगितामा विजयी टिम र खेलाडीलाई प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य विनोद केसी म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, शाखा अध्यक्ष नारायणकुमार बराल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा प्रमुख प्रायोजक सन्तोष स्मृति कोषका संस्थापक श्यामप्रसाद श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । (साभारः रिखार दैनिक)