सरकारी कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको भकिम्लीबासीको गुनासो

  • २१ फाल्गुन २०७३, शनिबार
  • सन्तोष गौतम
  • 2679 पटक पढिएको

fg

म्याग्दी, २० फागुन । म्याग्दीको भकिम्लीका बासिन्दाहरुले जिल्ला स्थित सरकारी कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती भएको गुनासो गरेका छन् ।

भकिम्ली गाविस कार्यालयले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सर्वसाधारणले प्रशासन, मालपोत, प्रहरी कार्यालयको सेवा लिन पहुँचवालाको सहयोग र भनसुन गर्नुपरेको गुनासो गरेका हुन् ।

आवश्यक सबै कागजात पुगेपनि कर्मचारीले विभिन्न बहानामा अल्झाउने, ढिलासुस्ती गर्ने र अतिरित्त पैसा माग्ने गरेर दुख दिएको उनिहरुको गुनासो थियो । स्थानीय पदम पुन र पृथीप्रसाद पुन मालपोत कार्यालयमा ढिलासुस्ती भएको गुनासो गर्नुभयो ।

यस्तै सरकारी कार्यालयमा सेवा लिन जाँदा दोस्रो व्यक्तिको सहयोग लिनुपरेको स्थानीय होमबहादुर घर्तीमगरले बताउनुभयो । उहाँले जिल्लाका नेताहरुले सरकारी बजेटलाई आफूले पारेको भनेर प्रचार गर्दा विकास निर्माणमा राजनितिकरणको असर देखिन थालेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग विकास समितिका कर्मचारीले पनि विभिन्न बाहनामा सेवाग्राहीलाई भुलाएको सहभागीको गुनासो थियो । स्थानीय रुपा क्षेत्रीले कृषक समूह दर्ता र खाता खोल्नका लागि पशु सेवा कार्यालयमा जाँदा कर्मचारीले असहयोग गरेको बताउनुभयो ।

भकिम्ली मरेकका ईन्द्रबहादुर थापाले कृषि र पशु सेवा कार्यालयको सेवा, सुबिधामा कृषकको सहज पहुँच पुग्न नसकेको, रत्नबहादुर जिसीले बालमैत्री गाविस बनाउने अभियानमा उपेक्षा भएको, धनबहादुर श्रीसले ईलाका परिष्दमा योजना प्राथमिकीकरण गर्दा गाउँ तहको मागलाई वेवास्ता गरिएको गुनासो गर्नुभएको थियो ।

भकिम्लीका बासिन्दाले सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया झञ्जटिलो भएको समेत गुनासो गरेका थिए । गाविस सचिव शिव शर्माले कार्यालयसंग सम्बन्धित गुनासो र जवाफको उत्तर दिदै सर्वसाधारणको सुझावको आधारमा कार्यालयको सेवा प्रवाहलाई थप सहज, विकास गतिबिधीलाई पारदर्शी, जनसहभागीतामुलक बनाउने र विषयगत कार्यालयको गुनासो सम्बन्धित ठाउँमा पु¥याउने प्रतिवद्धता जनाउनुभयो ।

कृषि प्राबिधिक फुलमाया थापाले कृषक समूहले बोलाएको अवस्थामा स्थलगत रुपमा प्राबिधिक सेवा दिने बताउनुभयो । गाविस सचिव शर्माले चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमको प्रगती विवरण प्रस्तुत गर्दै सेवा प्राप्त गर्दा आवश्यक प्रक्रियामा ध्यान दिन सेवाग्राहीलाई आग्रह गर्नुभएको थियो ।

सचिव शर्माको अध्यक्षता, सामाजिक परिचालक कल्पना छन्त्यालको सञ्चालन र पत्रकार सन्तोष गौतमले सहजिकरण गर्नुभएको कार्यक्रममा संगम म्याग्दीद्धारा सञ्चालित स्थानीय निकायको कानुनी तथा नितीगत व्यवस्था पालना अनुगमन कार्यक्रमका संयोजक सन्तोष ढुङ्गानालो सार्वजनिक सुनुवाईको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।

सन्तोष गौतम