१६ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी ( फोटो फिचर)

  • १८ पुष २०७४, मंगलवार
  • कमल खत्री
  • 2163 पटक पढिएको

म्याग्दी, १८ पुस ।सदरमुकाम बेनीमा मंगलवार सम्पन्न १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी माउण्ट एभरेष्टलाई २ का विरुद्ध ३ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले रोमान्चक जित निकालेको हो ।


प्रतियोगिताको सुरुवातमा लगातार दुई गोल गरि अग्रता कायम गरेको माउण्टलाई दोस्रो हाफ पश्चात आक्रामक रुपमा प्रस्तुत भएका न्यू वेष्ट प्वाइन्टका खेलाडीहरुले दबाबमा मात्रै राखेनन्, तीन गोल गर्दै प्रतियोगिताको उपाधी समेत जिताए ।


प्रतियोगितामा बिजेता वेष्ट प्वाइन्टका खेलाडीहरुलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा उप–बिजेता माउण्ट एभरेष्टलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

त्यस्तै प्रतियोगितामा अनुशासित टिम घोषित भएको बुद्ध एकेडेमि, उत्कृष्ट खेलाडी वेष्ट प्वाइन्टका किस्मत पुन, उत्कृष्ट गोलरक्षक वेष्ट प्वाइन्टकै सज्जन बोहोरा, उत्कृष्ट डिफेन्डरमा माउण्टका ललित सापकोटा, उत्कृष्ट स्टाइगरमा वेष्ट प्वाइन्टका महेश पुन, उत्कृष्ट मिडफिल्डरमा माउण्टका भुवन घर्ति र राइजिङ्ग प्लेयरमा वेष्ट प्वाइन्टका टिपेन पुन तथा उत्कृष्ट कोचमा वेष्ट प्वाइन्टका दिपेन राईलाई जनही नगद रु १५ सयको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।


प्रतियोगिता अबधिभर १० गोल गरेका वेष्ट प्वाइन्टका महेश पुन सर्वाधिक गोलकर्ताको रुपमा नगद रु १५ सयको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत हुनुभएको छ । कार्यक्रममा प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापा, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, शाखा अध्यक्ष नारायणकुमार बराल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा प्रमुख प्रायोजक सन्तोष स्मृति कोषका संस्थापक श्यामप्रसाद श्रेष्ठ लगायतले बिजेता र उप–बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।


प्रतियोगितामा रोमाञ्चक जित निकालेको वेष्ट प्वाइन्टले गत बर्षको फाइनलमा माउण्टसंग व्यहोरेको हारको बदला निकालेको हो । यो संगै यि दुई विद्यालय बिच चार पटक फाइनल भिडन्त भएको हो । माउण्ट एभरेष्ट जेसीज कप फुटवलमा यस अघि चार पटक फाईनलमा पुगेर चारै पटक बिजेता बन्न सफल भएको थियो भने भने न्यू वेष्ट प्वाइन्टले १० पटक सम्म फाइनल यात्रा तय गरि १ पटक बिजेता र ९ पटक उपबिजेता बन्न सफल भएको थियो ।
१६ औँ संस्करणको उपाधी हात पार्दै वेष्ट प्वाइन्टले जेसीज कपमा दुई पटक उपाधी चुम्ने अवसर सृजना गरेको हो । प्रतियोगिता समापन अबसरमा चौथो जेसीजकप फुटवलका उत्कृष्ट खेलाडी प्रकाश माविका खिमबहादुर भण्डारी र सर्वाधिक गोलकर्ता प्रकाश माविकै कुमार पुन, जेष्ठ अफिसिएल दिपेन्द्र श्रेष्ठ र मुन्ना केसीलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा म्याग्दीका प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापा, प्रदेशसभाका साँसद विनोद केसी लगायतले सम्मान गर्नुभएको थियो ।
म्याग्दी जेसीजका शाखा अध्यक्ष बरालको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गर्दै साँसद थापाले म्याग्दीमा फुटवल खेलको विकास र खेलाडी उत्पादनको लागि जेसीजकप प्रतियोगिताले रचनात्मक सहयोग गर्दै आएको बताउनुभयो । म्याग्दीमा १० कक्षा सम्मका विद्यार्थीहरुबिच लोकप्रिय मानिने जेसीज कपको फाईनल हेर्नको लागि खुलामञ्च दर्शकले भरीभराउ भएको थियो । सन्तोष श्रेष्ठ स्मृति कोष प्रमुृख प्रायोजक रहेको सो प्रतियोगितामा स्थानीय क्लबहरुकै अफिसियलहरुद्धारा खेल सञ्चालन गरिएको थियो । कार्यक्रममा म्याग्दी जेसीजका महासचिब खम थापा र पूर्व अध्यक्ष बिनय श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l