१६ औ जेसीजकप फुटवल प्रतियोगिताको उद्घाटन, शनिवार विहानदेखि खेल सुरु हुने

  • १४ पुष २०७४, शुक्रबार
  • 1949 पटक पढिएको

म्याग्दी, १४ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीजकप फुटवल प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।


जेसिजकप प्रतियोगितालाई उद्घाटन गर्दै मेयर हरिकुमार श्रेष्ठले म्याग्दीमा फुटवल खेलको विकासमा जेसीजले विगत १६ बर्षदेखि निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताले ठुलो भूमिका खेलेको बताउनुभयो । युवाहरुको क्षमता र नेतृत्व विकासमा क्रियाशिल जेसीजले म्याग्दीको सामाजिक क्षेत्रमा पु¥याएको योगदाना प्रसंनिय रहेको बताउँदै मेयर श्रेष्ठले जेसीज कपको निरन्तरताको लागि सबैक्षेत्रबाट सहयोग जुट्न आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले म्याग्दी जेसीजले आयोजना गर्दै आएको जेसीज कप म्याग्दीमा विद्यालय स्तरमा हुने फुटवल प्रतियोगिताको विश्वकप भएको टिप्पणी गर्दै अहिले फुटवलमा भविश्य खोजीरहेका युवाहरु जेसीजकपको उत्पादन रहेकोमा जोड दिनुभयो ।


म्याग्दी जेसीजका अध्यक्ष नारायण कुमार बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दै संस्थापक अध्यक्ष एवम जेसीजकप फुटवल व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठले जेसीज कप प्रतियोगिताले विद्यालय तहका विद्यार्थी खेलाडीहरुको प्रतिभा देखाउने माध्ययम बनेको बताउनुभयो । महासचिव खम थापा मगरले संचालन गर्नुभएको कार्यक्रममा राजनीतिक दलका प्रमुख एवमं प्रतिनिधि, शिक्षक खेलाडी, पत्रकार विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती भएको थियो ।


बेनी स्थित खुलामञ्चमा शनिवार विहानदेखि सुरु हुने प्रतियागितामा जिल्लाका विभिन्न १२ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत हुनेछन् ।


प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडि, सर्वा्धिक गोलकर्ता , उत्कृष्ट गोलरक्षक, म्यान अफ द म्याच घोषित हुने खेलाडीहरुलाई समेत पुरस्कृत गरिनेछ । बेनीमा कक्षा १० सम्मका विद्यार्थिहरुबिच प्रतिस्पर्धा हुने र हरेक बर्ष आयोजना हुने जेसीज कपलाई विद्यार्थी खेलाडीहरु र विद्यालयहरुले प्रतिष्ठाको रुपमा लिने गरेका छन् । प्रतियोगिताको प्रमुख प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष रहेको छ । करिब रु ५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा गत बर्ष सेमिफाईनमा प्रवेश गरेका टिमहरुलाई चार समुहमा राखेर प्रतियोगिता संचालन गरिएको छ ।