सहयोग उठाउने शैलि ! पूर्व विद्याथीहरुको पुनर्मिलनबाट धवलागिरि माविमा १ करोड बढी संकलन (भिडियो सहित)

  • १० पुष २०७४, सोमबार
  • कमल खत्री
  • 2809 पटक पढिएको

म्याग्दी, १० पुस । धार्मिक क्षेत्रहरुमा जस्तै सामुदायिक विद्यालयहरुको स्तरबृद्धिको लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौँ शैक्षिक संस्थाहरुमा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञहरु सम्पन्न भईसकेका छन् । सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्ययम बनेको महायज्ञ खर्चिलो हुने र ठुलो रकम संकलन भएपनि खर्च कटाउँदा न्युन मात्रामा बचत हुने गरेको सन्दर्भमा यहाँको एक विद्यालयले भने विद्यालयको स्तरबृद्धिको लागि फरक शैलिबाट करोडौँ रकम संकलन गरेको छ ।


बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरि माध्यमिक विद्यालयले विद्यालयको चौतर्फि विकासमा सहयोग जुटाउन विद्यालयका पूर्व विद्यार्थी, शिक्षक र शुभचिन्तकहरुको पुनर्मिलन कार्यक्रम मार्फत रु १ करोड बढी सहयोग जुटाएको हो । पुस ७ र ८ गते विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा विद्यालयमा अध्ययन र अध्यापन गराएर विभिन्न शिलसिलामा स्वदेश तथा विदेशमा पुगेका व्यक्तिहरुबिचमा भेटघाटको अवसर जुरेको थियो ।


सो अवसरमा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक र शुभचिन्तकहरुले भेटघाटको अवसरमा खुसीयाली साटासाट मात्रै गरेनन, उनीहरुले विद्यालयको लागि रु १ करोड ११ लाख सहयोग रकम समेत जुटाए । जिल्लामा एक मात्रै बहिरा स्रोत कक्षा सञ्चालन गरेको विद्यालयले चालु शैक्षिक सत्रदेखि सुरु गरेको कक्षा ११ र आगामी बर्ष सुरु हुने कक्षा १२ को पठनपाठनलाई व्यवस्थित गर्दै विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न आर्थिक संकलन गर्ने उदेश्यले आयोजना गरिएको सो कार्यक्रममा पूर्व विद्यार्थी, शिक्षक र शुभचिन्तकहरुबाट उक्त सहयोग जुटेको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।


‘‘ पूर्व विद्यार्थीहरुबाट उत्साहपूर्ण रुपमा सहयोग प्राप्त भयो, अभिभावक, शुभचिन्तक र पूर्व शिक्षकहरुले समेत विद्यालयको भौतिक र शैक्षिक विकासका निम्ति खुलेरै सहयोग गरेका छन्, यो सहयोग रकमलाई कोषको रुपमा स्थापित गछौँ, आगामी २/२ बर्षमा समेत यस्तै पुनर्मिलन कार्यक्रम गर्ने हाम्रो योजना छ,’’–विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले भन्नुभयो । वि.स. २०१८ सालमा स्थापना भएको यस विद्यालयबाट अहिलेसम्म करिब ३ हजार विद्यार्थीहरुले अध्ययन गरि बाहिरीएकाले उनीहरु सबैलाई कुनै न कुनै माध्ययमबाट विद्यालयसंग जोड्ने योजना अनुसार पुनर्मिलन कार्यक्रमलाई निरन्तरता दिने मुल संयोजक मोहन प्रसाद रेग्मीले बताउनुभयो ।


समुदायको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले यसै बर्षदेखि कक्षा ११ को पठनपाठन सुरु गरीसकेको छ । आगामी बर्ष कक्षा १२ र निकट भविश्यमा नै प्राविधिक शिक्षा समेत सञ्चालन गर्ने विद्यालयको योजना छ । कक्षा ११ र १२ सञ्चालन गर्न मासिक रु २ लाख खर्च हुने भएपछि विद्यालयले अक्षयकोषको रुपमा राखेर व्याज रकमबाट खर्च जुटाउन न्युनतम रु २ करोडको अक्षयकोष बनाउने योजना अघि सारेको हो । विद्यालयको स्तरबृद्धि गर्दै जाँदा आईपरेको आर्थिक संकटलाई समाधान गर्न विद्यालयकै शैक्षिक उत्पादनहरुलाई सदुपयोग गर्ने निती अबलम्बन गरिएको प्रधानध्यापक डण्डपाणी सापकोटाले बताउनुभयो ।

‘‘ विद्यालयको आबश्यकता परिपूर्ति गर्दा धुप्रै आर्थिक संकलन आउने गरेको छ, सरकारी तवरवाट आउने अनुदानले मात्रै विद्यालय सञ्चालन हुनसक्ने अवस्था छैन, त्यसलै विद्यालयका पूर्व विद्यार्थी र शुभचिन्तकहरुलाई जिम्मेवार बनाउँदै उहाँहरुबाट सहयोग जुटाउन थालेका हौँ,’’–प्रअ सापकोटाले भन्नुभयो । विद्यालयमा दुई दिनसम्म सञ्चालन भएको पुनर्मिलन कार्यक्रममा विविध कारण स्वदेश तथा विदेशका विभिन्न ठाउँमा पुगेका पूर्व विद्यार्थी, शिक्षक तथा विद्यालयका शुभचिन्तकहरुले विद्यालयको चौतर्फि विकासको बारेमा समेत छलफल गरेका छन् ।

सो अवसरमा विद्याबारिधि गर्न सफल विद्यालयका पूर्व विद्यार्थीहरु डा. मिनबहादुर श्रेष्ठ, डा. टिकाबहादुर कार्की, डा. जिवन बानियाँ र डा. चक्रबहादुर बुढाथोकिलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक विकासको लागि सुरु गरिएको आर्थिक संकलन अभियानमा विद्यालयका पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गर्ने लर्को लागेको छ ।पुनर्मिलन कार्यक्रममा विद्यालयलाई आफ्नो परिवारको तर्फबाट रु ३ लाख ३ हजार ३३३ आर्थिक सहयोग गरेका विद्यालयका पूर्व विद्यार्थी डा. जिवन बानियाँले जिवनको सुरुवातमा शिक्षा दिने विद्यालयप्रति आफुहरुको उत्तरदायित्व कहिल्यै पुरा नहुने बताउनुभयो ।

विद्यालयले अभियान सञ्चालन गरेदेखि नै आर्थिक संकलन जुट्न थालेको थियो । सो अभियानमा हाल न्युजिल्याण्डमा रहनुभएका बेनी नगरपालिका–४ बास्कुना निवासी पूर्व विद्यार्थी लालबहादुर केसीले आफ्नो हजुरआमा गौमती केसीको नाममा रु २५ लाखको अक्षयकोष घोषणा गर्नुभएको छ । सो कार्यक्रममा सहयोगदाता केसीको हजुरआमा गौमती सहित उहाँको परिवारलाई विद्यालयले भव्य स्वागत तथा सम्मान गरेको थियो ।


त्यस्तै सिंगा निवासी लाल बहादुर खत्री र कमल कुमारी भट्टचनको परिवारले ५ लाख ५५ हजार ५५५ को दरले आर्थिक सहयोग गर्नुभएको छ । त्यसैगरि चन्द्रबहादुर बानियाँको परिवारबाट रु ३ लाख ३ हजार ३३३, लक्ष्मीदेवी श्रेष्ठको परिवारबाट ३ लाख ३० हजार, जित बहादुर बुढाथोकीबाट रु २ लाख २२ हजार २२२, दिलकुमारी सापकोटाबाट रु २ लाख, सहयोग गर्नुभएको छ । कार्यक्रममा अन्य पूर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट समेत आखौँ आर्थिक सहयोग भएको छ ।

विद्यालयले आर्थिक सहयोग गर्ने दाताहरुलाई भव्य सम्मान समेत गरेको छ । सामुदायिक विद्यालय सञ्चालनमा आर्थिक स्रोत जुटाउन धौलागिरि माविले गरेको प्रयास अनुकरणीय देखिएको विद्यालयका पूर्व विद्यार्थी समेत रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले बताउनुभयो ।


‘‘ यो विद्यालयकै कारण हामीले शिक्षाको भविश्य देखेका हौँ, यसको विकासका निम्ती हामी सबैको दायित्व हुन्छ, विद्यालयले आयोजना गरेको पुनर्मिलन कार्यक्रमले पूर्व विद्यार्थी र शिक्षकहरुमा विद्यालय प्रतिको उत्तरदायित्व बढाएको छ,’’–कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा. श्रेष्ठ भन्नुभयो । धौलागिरि माविले गरेको यस कार्यक्रमले प्रयाप्त सरकारी अनुदान नपाउँदा आर्थिक संकट झेल्दै आएका सामुदायिक विद्यालयहरुले आफ्नै विद्यालयको शैक्षिक उत्पादनलाई सदुपयोग गर्न सकेमा ती विद्यालयको भौतिक तथा शैक्षिक विकासमा आर्थिक सहयोग जुटाउन सहज हुने पाठ सिकाएको छ । 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l