आज ख्रीष्टमस दिवस, नेपालमा १२ हजारभन्दा बढी चर्च

  • १० पुष २०७४, सोमबार
  • 1477 पटक पढिएको

काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।

येशू ख्रीष्टको शुभ जन्मदिनको खुसियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ । विसं २०६२÷०६३ को ऐतिहासिक परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले ख्रीष्टमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । सरकारले पुस १० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेको छ ।

नेपालको ख्रीष्टियन इतिहास ४०० वर्षभन्दा पुरानो छ । राज्य धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले ख्रीष्टमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । हाल देशभर १२ हजराभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको ख्रीष्टियन महासंघले जनाएको छ । ख्रीष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यस अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले ख्रीष्टमस महोत्सव २०७४ आज राष्ट्रिय सभागृहमा दिनको ३ः०० बजे आयोजना गरेको अध्यक्ष सिवी गहतराजले बताए । Source : abcnepal.tv