प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती मनाईयो (भिडियो सहित)

  • ९ पुष २०७४, आईतवार
  • कमल खत्री
  • 2165 पटक पढिएको

म्याग्दी, ९ पुष । बेनीमा रहेको प्रकाश माविको ६५ औ बार्षिकोत्सव तथा निलमणि जयन्ती आईतबार एक समारोहको आयोजना गरि मनाइएको छ । विद्यालय परिसरमा जनप्रतिनिधि, विद्यालयका व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकहरुको उपस्थितीमा बिशेष समारोहको आयोजना गरेर विद्यालय स्थापनाको ६५ औँ बर्षको अबसरमा निलमणि जयन्ती मनाइएको हो ।

सो कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले गर्नुभएको थियो । सो अबसरमा साँसद थापाले विद्यालयको ईतिहाँस, वर्तमान अवस्था र गतिबिधिहरु समेटिएको नवप्रकाशको बिमोचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका साँसद थापाले सामुदायीक विद्यालयहरुले शैक्षिक गुणस्तर वृद्धीमा जोड दिनुपर्ने बताउँदै राज्यले समेत त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य नरदेवी पुन र बिनोद केसीले सामुदायीक विद्यालयले अभिभावकको विश्वास जित्ने चुनौती रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दीको शैक्षिक ईतिहाँसमा बिशिष्ट योगदान गरेको प्रकाश माविको भुमिका अबको दिनमा अझै बढ्नुपर्ने बताउनुभयो ।

यसैगरी नेपाली काँग्रेसका सचिव मिनबहादुर कार्की, नेकपा एमालेका सचिवालय सदस्य सुरज केसी, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, गैरसरकारी संस्थाका अध्यक्ष हरिप्रसाद पौडेल, जग्गादाता नैनकुमार श्रेष्ठ र शिक्षक अभिभावक संघका अध्यक्ष रहमद खानले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार श्रेष्ठको अध्यक्षता, शिक्षक बिनय श्रेष्ठको सञ्चालन र सहायक प्रअ लेखबहादुर हमालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रअ हरिकृष्ण सुवेदीले विद्यालयको गतिबिधि प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीहरुले गित, नृत्य र राष्ट्रिय सेवा दलको तालीममा सहभागीले कलाकौशल प्रस्तुत गरेका थिए । वि.स २००९ सालमा बेनीमा स्थापना भएको प्रकाश मावि म्याग्दीको पुरानो मध्यको शैक्षिक संस्था मानिन्छ ।

दश जोड दुई तहमा विज्ञान संकायको पठनपाठन हुने प्रकाश मावि जिल्लाको एकमात्र शैक्षिक संस्था हो । प्रकाश माविको विभिन्न तहमा एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्थापना दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रम आयोजना गरिएको थियो । शुक्रबार बेनीमा ¥याली गरिएको थियो भने शनिबार विभिन्न खेलकुदका कार्यक्रम भएका थिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l