सुन्तलाखेती आम्दानीको बलियो स्रोत बन्दै : म्याग्दीका सुन्तला बगैचाबाटै विक्रि ! (फोटो फिचर)

  • ६ पुष २०७४, बिहीबार
  • कमल खत्री
  • 2932 पटक पढिएको

म्याग्दी, ६ पुस । बेनी नगरपालिका–४ बास्कुनाका भिम गुरुङले रु १ लाखमा आफ्नो सुन्तला बोटबाटै विक्रि गरे । पोखराबाट आएका व्यवसायिले गुरुङको २० वटा बोटमा फलेको सुन्तलालाई रु १ लाखमा खरिद गरेका हुन् । गुरुङको मात्रै होईन यो बास्कुनाका १५ घरधुरीको सुन्तला बोटबाटै प्रतिकिलो रु ५० मा विक्रि भएको छ । पोखराबाट सुन्तला खरिद गर्न गएका कुमार कार्की र राज शर्माको टोलीले बास्कुनाका सुन्तला बोटबाटै खरिद गरेको बास्कुना सुन्तला कृषक समुहमा समेत आबद्ध रहेको कृषक गुरुङले बताए ।


उनका अनुसार, यो बर्ष बास्कुनामा सबैभन्दा थोरै विक्रि गर्नेले रु १ लाख र बढी विक्रि गर्नेले रु ३ लाख सम्म सुन्तलाबाट आम्दानी गरेका छन् । बास्कुनामा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने कृषक हुन् तिलक गुरुङ । गाउँका अन्य सबै घरको सुन्तला व्यापारिले खरिद गरि लगिसकेपनि उनको सुन्तला भनै अझै निर्यात हुने क्रममा छ । ‘‘यो बर्ष मेरो बगैँचामा करिब ४ लाखको सुन्तला फलेको अनमान गरेको छु, केही सुन्तला निर्यात भयो, बाँकीलाई समेत केही दिनमै विक्रि गर्ने योजना बनाएको छु,’’–गुरुङले भने । वैदेशिक रोजगारि त्यागेर २०५९ सालमा गाउँ फर्किएका गुरुङले गाउँमा धान खेती जाडेर व्यवसायिक रुपमा सुन्तला खेती सुरु गरेका थिए ।

करिब १३ रोपनी खेतमा सुन्तला रोपण गरेका गुरुङको बगैचामा अहिले ३५० वटा बोटले फल दिन्छ भने करिब ४ सय नयाँ बोट रोपण गरेका छन् । बास्कुनामा रहेका १९ घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यवसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । सामान्य मेहनटबा आकर्षक आम्दानी हुने, बजार सजिलै पाईने भएपछि बास्कुनाका स्थानीयले गाउँलाई ‘सुनकुना’को रुपमा विकास गर्ने लक्ष्य अनुसार सुन्तला विस्तार अभियान चलाएका हुन् । यस गाउँमा अहिले ३ हजार ५ सय बोटले फल दिन्छ भने ६ हजार नयाँ बोट रोपण गरिएको छ ।

बास्कुनासंगै जोडिएको बेनी नगरपालिका–३ भकिम्लीको राखु गाउँका कृषकलाई पनि यतिबेला सुन्तला विक्रि गर्न भ्याईनभ्याई भएको छ ।
करिब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् । गाउँघरमा रोपण भएका ११ हजार बढी सुन्तलाका विरुवा मध्ये अहिले ८ हजार जतीले फल दिन थालेको स्थानीय अगुवा कृषक मनकुमारी पुनले बताईन् । निर्वाचित वडा सदस्य समेत रहेकी पुनले गाउँमा उत्पादन भएको सुन्तला पोखरा र काठमाण्डौका बजारमा निर्यात हुन थालेको बताईन् । गत बर्ष पुनले सुन्तला विक्रिबाट रु २ लाख आम्दानी गर्दा गाउँमा रु ३० लाख बढी भित्रिएको थियो ।


यो बर्ष गाउँका कृषकहरुको सहजताको लागि पोखरा र काठमाण्डौका व्यापारीसंग समन्वय गरेर मनकुमारी पुन र राजु पुनले ३० घरधुरीको सुन्तला खदिरको लागि रु ५ लाख पेश्की समेत दिईसकेका छन् । ‘‘ एक सातादेखि १५ जनाल निरन्तर सुन्तला टिपीरहेका छन्, अझै १५ दिन सुन्तला टिप्नमै लाग्छ, यहाँ टिपेको सुन्तलालाई पोखरा र काठमाण्डौका व्यवसायिसंग सम्पर्क गरि निर्यात गछौँ, यो बर्ष गाउँबाट झण्डै ३० लाख बढी मुल्यको सुन्तला निर्यात हुने अनुमान गरेका छाँै’’–पुनले भनीन् ।


राखुमा अन्य व्यापारिहरुले समेत बोटमै पुगेर कृषकका सुन्तला खरिद गरेका छन् । गाउँमा सुन्तला उत्पादन राम्रो हुने, बजारमा सजिलै विक्रि गर्न सकिने र आम्दानी राम्रो हुने भएकाले राखुबासीले पहिले कोदो र मकै रोप्ने बारीहरुमा व्यवसायिक रुपमै सुन्तलाका बोट रोप्ने अभियान थालेका छन् । जिल्ला कृषि विकास कार्यालयले कृषकहरुलाई सुन्तला खेती सम्बन्धी तालिम, रोग उपचारमा सहयोग र नर्सरी स्थापनामा समेत सहयोग पु¥याउने कार्यक्रम सञ्चालन गरेपछि भकिम्लीका कृषकहरु सुन्तला खेतीमा थप उत्साहित बनेको बताउँछन् ।

गाउँमा उत्पादन भएको सुन्तला सहज रुपमा निर्यात गर्नको लागि समुदायकै पहलमा दुई बर्ष अगाडी निर्माण भएको नयाँ पुल–भकिम्ली राखु सडकको स्तरोन्नती नहुँदा सुन्तला ढुवानी गर्न अप्ठ्यारो र घुमाउरो बाटो मार्फत लैजाँदा ढुवानी बढी लागेको कृषकहरुको गुनासो छ । बास्कुना र राखुमा मात्रै होईन जिल्लामा सुन्तला उत्पादन भएका ठाउँमा यतिबेला कृषकहरुले धमाधम सुन्तला विक्रि गरिरहेका छन् । अधिकाँश बगैँचामा पोखरा, काठमाण्डौ र धादिङका व्यवसायिले बोटबाटै कृषकले उत्पादन गरेको सुन्तला खरिद गर्ने गरेका छन् ।


रघुगंगा गाउँपालिका–१ बेगखोलाको घाप्पामा रहेका १६ घरधुरीले समेत बोटबाटै सुन्तला विक्रि गरेका छन् । स्थानीय र बाहिरबाट आएका व्यापारीहरुलाई स्थानीयले बोटबाटै सुन्तला विक्रि गरेका हुन् । अहिले बोट नै ठेक्का लिएर खदिर गरेकाहरुले धमाधम सुन्तला टिपेर लैजाने गरेको स्थानीय खिम फगामीले बताए । घाप्पामा सुन्तला खेतीबाट आम्दानी हुन थालेपछि कृषकहरुले खेती हुने बारीमै व्यवसायिक रुपमा सुन्तला खेतीलाई विस्तार गर्दै लगेका छन् । यहाँका हरेक घरले ५० देखि २०० वटा बोटसम्म सुन्तला रोपेका छन् । बेगखोलाकै रामबहादुर पुर्जाले समेत स्थानीय स्तरमा सुन्तला खरिद गरि पोखराका व्यवसायिहरुलाई विक्रि गर्दै आएका छन् ।


उनले दुई ठाउँमा ९०÷९० हजारमा बोटबाटै सुन्तला खरिद गरिसकेको र पोखराका व्यवसायीसंग समन्वय गरि निर्यात गर्ने बताए । थोरै लगानीमै खेती गर्न सकिने र आम्दानी आकर्षक हुने भएपछि म्याग्दीका कृषक व्यवसायिक सुन्तलाखेतीतर्फ आकर्षित भईरहेको जिल्ला कृषि विकास कार्यालयका बाग्वानी विकास अधिकृत भोजबहादुर थापाले बताए । ‘‘ हरेक बर्ष नयाँ बोट थपिएका छन्, यो बर्ष उत्पादकत्व घटेपनि फल दिने विरुवा बढेको कारण उत्पादन घट्दैन, गत बर्षकै हाराहारीमा सुन्तला बाहिरीने अनुमान गरेका छौँ,’’–बागवानी विकास अधिकृत थापाले भने । परम्परागत रुपमा धान, कोदो रोप्दै आएका खेतबारीहरुमा कृषकहरुले नगदे बालीको रुपमा चिनिने सुन्तला खेतीलाई प्रथामिकतामा राखेर विस्तार गर्न थालेका हुन् ।


जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा २ सय ६५ जना कृषकले सुन्तला खेतीलाई व्यवसायिक बनाएका छन् । यहाँ ६ सय १६ हेक्टर क्षेत्रफलमा गरिएको सुन्तला खेतीबाट बार्षिक २ हजार २ सय ३५ दशमलब ६ मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको छ । गत बर्ष जिल्लाबाट ७ करोड ५० लाख बराबरको सुन्तला निर्यात भएको थियो । जिल्लामा उत्पादन भएको सुन्तला मध्ये ठुलो हिस्सा पोखरा, काठमाण्डौ, नवलवरासी लगायतका ठुला बजारमा निर्यात हुँदै आएको छ ।म्याग्दीमा बेनी नगरपालिका सहित जिल्लामा बरंजा, अर्मन, ओखरबोट, देविस्थान, बिम, मुदी, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङ लगायतका क्षेत्र सुन्तला खेतिको लागि पकेट क्षेत्र मान्छिन् ।

गाउँमा अन्नबालीको लागि काम गर्ने मानिसको अभाबमा बाँझीने समस्या बढीरहेको समयमा सुन्तला खेतीतर्फ बढ्दो आकर्षणले जमिनको सहि उपयोग संगै स्थानीयलाई आयआर्जनमा सघाउन पु¥याएको छ । सडक सञ्जालको पहुँचले बजारीकरणमा सहजता मिलेपछि यो खेतीतर्फ कृषकहरुको आकर्षण बढेको हो । हरेक बर्ष जसो सुन्तलाका विरुवाको माग बढ्दो क्रममा रहेपनि विरुवामा समेत म्याग्दी आत्मनिर्भर रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

म्याग्दीको प्रमुख फलफुल बालीको रुपमा विकास हुन थालेको सुन्तला खेतीको थप व्यवसायिकताको लागि जिल्ला कृषि विकास कार्यालयले उत्पादन र गुणस्तर वृद्धी गर्न बगैचा सुदृढीकरण कार्यक्रम समेत सञ्चालन गरेको थियो । पुराना बगैचाको गोडमेल, मलजल, काँटछाँट, रोग पहिचान र उपचार गर्न कृषकको सहभागितामा बगैचा सुदृढीकरण अभियान सञ्चालन भएपछि जिल्लामा सुन्तलाको उत्पादन हरेक बर्ष बढ्दो क्रममा रहेको बागवानी विकास अधिकृत थापाले बताए । तस्बिरः कमल खत्री, सन्तोष गौतम, खिम फगामी, दलप्रसाद तिलिजा

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l