ओली–प्रचण्डलाई खुल्ला पत्र

  • ३ पुष २०७४, सोमबार
  • रामबहादुर जि.सी.
  • 1809 पटक पढिएको

जनताको चिन्ता छ, लगनगाठो छुट्ने त होइन ? रामबहादुर जि.सी. सदस्य, नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभाग   राजनीतिमा स्थायी सत्रु र स्थायी मित्रु हुदैनन्, जननेता मदन भण्डारीले भनेको यो शब्द धेरै हदसम्म व्यवहारिक र यथार्थपरक छ । नेपाली राजनीतिमा कुनै दिन नदीका दुई किनारा जस्तै देखिने र कुनै समय हल गोरु झै मिलेर मेलो फाल्ने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गदै आएका छन् ।

लेखक रामबहादुर जि.सी.

नेकपा माओवादी सशस्त्र युद्धमा गएपछि एमाले वरिष्ठ नेता रहेका ओलीले जहिल्यै माओवादीले गलत गरेको आरोप लगाए, माओवादीले पनि ओलीको बारेमा देशव्यापी प्रचार गरे, उनी भारत परस्त हुन् । आरोप प्रत्यारोप बढ्दै गयो । ओलीले उखान टुक्काबाट माओवादी र त्यसका अध्यक्ष प्रचण्डलाई खेदो खने, प्रचण्डले पनि मानसिक सन्तुलन विग्रिएको समेत भन्न भ्याए । समय वित्दै गयो, एमाले वरिष्ठ नेताबाट ओली अध्यक्षमा निर्वाचित भए, संसदीय दलको नेता समेत भएपछि ओली र प्रचण्डको भेटघाट बाक्लियो ।

२०७२ बैशाखमा भुकम्प गएपछि कांग्रेस सहित ३ दलले संविधान बनाउने लगायत १६ बुदे सहमति गरेपछि ओली र प्रचण्डको सम्बन्ध थप गहिरियो । कुनै दिन मानसिक उपचारमा जान आग्रह गरेका ओलीलाई संविधान बनेपछि प्रचण्डले नै प्रधानमन्त्रीको रुपमा प्रस्तावित गरे र ओली ९ महिना प्रधानमन्त्री पनि भए । ओली प्रधानमन्त्री नहुदै भारतले लगाएको नाकाबन्दी हटाउनका लागि ओलीले लिएको अडानले आम नेपालीमा एउटा उत्साह थपियो । राष्ट्रियताको सवालमा उनले लिएको अडान र विकासका लागि उनले ल्याएका योजनाले जनता जागरुक भए । उनले जनतालाई सपना देखाए । जुन सपना पुरा गर्नका लागि बामपन्थी सरकार आवश्यक छ ।

९ महिना नपुग्दै दुई नेताबीच कुरा मिलेन, माओवादी केन्द्रले कांग्रेससंग मिलेर सरकारको नेतृत्व आफै गर्ने निर्णय ग¥यो । ओली र प्रचण्डको दोहोरी फेरी शुरु भयो । संसद भवनमै दुई नेताले एकले अर्कोलाई खुवै आलोचना र विरोध गरे । धेरैलाई अब यि दुईको पुनरमिलन हुदैन भन्ने लागि रहेकै समयमा २०७४ असोज १७ गते सांझ यि दुईले नेपाली जनतालाई मात्रै होइन, विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमा तालमेल गर्ने र पार्टी एकीकरण गर्ने सहमतिमा हस्ताक्षर गरे ।   समयले फेरी एक पटक यि दुई नेतालाई राज्य सञ्चालनको अग्रभागमा ल्याइदिएको छ ।

जसरी निर्वाचनमा तालमेल गरेर सहभागी भएका थिए, त्यसैगरी जनताले बाम गठबन्धनलाई झण्डै दुई तिहाईको हाराहारीमा मत दिएर अबको शासन सत्ता सञ्चालनको जिम्मेवारी सुम्पिएका छन् ।  अझै पनि धेरै जनतामा पूर्ण विश्वास छैन कि यि दुई नेताले प्रतिवद्धता गरे अनुसार देशमा स्थिर सरकार निर्माण गर्छन ? जनतालाई सुशासन दिन्छन् ? आत्मनिर्भर र स्वाभिमानका साथ जनतालाई बाँच्ने अवसर दिन्छन् ? आर्थिक रुपमा देशलाई सवल र समृद्ध बनाउछन् ? विगतमा उनीहरुबीच हुने गरेका आरोप प्रत्यारोप, उनीहरुलाई प्रभावित बनाउने विभिन्न क्रियाकलापहरुका कारण पनि जनतामा पूर्ण विश्वास नभएको हुन सक्छ ।

आदरणीय ओली र प्रचण्ड ज्यू   नेपाल अस्थिरताको जडतामा जगडिएका कारण आर्थिक विकास हुन सकिरहेको छैन । स्थिर सरकार नभएका कारण नेपाली जनताको उत्साहजनक सहभागिता र संघर्षबाट प्राप्त परिवर्तन संस्थागत हुन सकेन । व्यवस्था परिवर्तन भयो तर जनताको आर्थिक अवस्थामा खासै फरक आएन । जनताले राज्यबाट पाउने सेवा सुविधामा खासै फरकपन देखिएन । राणाशासन, पञ्चायत, राजतन्त्र फालेका जनताले गणतन्त्रमा पनि सुरक्षाको अनुभूति गर्न सकेनन्, निर्धक्क काम गरेर खाने वातावरण बनेन । सरकारी कार्यालयमा जाँदा त्यहाँका कर्मचारीले झुत्रे झाम्रे कपडामा आएको किसानलाई जनता ठानेनन्, जनताले पाउन पर्ने शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अधिकारबाट वञ्चित नै भए । निजीकरणका नाममा उद्योग धन्दा कौडीको भाउमा बेचिए, जसका कारण भएको रोजगारी पनि अन्त्य भयो, देशमा उद्योग कलकारखाना खुल्नु पर्नेमा वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीहरु फस्टाए ।

विकासका नाममा भागबण्डाको घिन लाग्दो भ्रष्टाचारले गणतन्त्रलाई भित्र भित्रै गन्हाउने बनायो, सामाजिक समावेशीका नाममा पैसा र पहुँचवालाहरुले मोजमस्ती गर्ने अवस्था सिर्जना गरिदियो । शिक्षाका नाममा व्यापार, स्वास्थ्यका नाममा व्यापार जनता आक्रान्त बने । महंगो शिक्षा र स्वास्थ्यका कारण जनताको आर्थिक अवस्था दिन प्रतिदिन कमजोर हुदै गएको छ । जनताले गणतन्त्रमा राजा फालेको बाहेक अरु धेरै उपलब्धी नदेखेकैले गणतन्त्रप्रति खास उत्साह जागेन । जनताले जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान भट्ट्याउन थाले ।   यो देश बामपन्थी विचार राख्ने जनताको बहुमत भएको देश हो । तर दक्षिणपन्थीहरुले बामपन्थीहरुमा विभाजनको रेखा कोरेर जहिल्यै शासन गरे । आकल झुकल बामपन्थीको सरकार आउने, ति सरकारले जनप्रिय काम गर्ने पनि गरेका छन् ।

जसलाई नेपाली जनताले राम्रो रुपमा ग्रहण पनि गरेका छन् । जव बामपन्थीहरुले सरकारको नेतृत्व गर्छन् ? दक्षिणपन्थीहरुले विभिन्न तिकडम गरेर सत्ता हत्याउने गरेका थुप्रै उदाहरणहरु छन् ।   नेपालको सन्दर्भमा दक्षिणपन्थीहरुले नेतृत्व गरेका सरकार पनि तोकिएको अवधीसम्म सञ्चालन हुन सकेका छैनन् । उनीहरुको आन्तरिक कारणले सत्ता सञ्चालन गर्ने अवस्थामा उनीहरु छैनन्, तर उनीहरुकै कारण बामपन्थीहरुको सरकार पनि सञ्चालन हुन सकिरहेका छैनन् ।

ऐतिहासिक संविधानसभाबाट  पारित गरी २०७२ असोज ३ गते संविधान जारी भएपछि तपाईहरु दुईजना मिलेर सत्ता सञ्चालन गर्नु भयो । जनता चरम निराशामा भएको समयमा केपी ओली नेतृत्वको बामपन्थी सरकारले जनतामा आशा जगाई दियो । नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरणको भोक जागेकै समयमा फेरी तपाईहरुबीच बेमेल भयो । सत्ता स्वार्थका कारण भयो, अरुले प्रभावित बनाएर भयो वा जुनसुकै कारण भएपनि तपाईहरुबीचको बेमेलले तपाईहरुलाई मात्रै होइन, आम देशवासीलाई अन्यौलतातर्फ डो¥यायो । सत्ताको नेतृत्व बामपन्थीको भए पनि त्यसलाई दक्षिणपन्थीले सञ्चालन गर्ने अवस्था सिर्जना भयो । बामपन्थी सोच विचार राख्ने र बामपन्थीलाई माया गर्ने जनता पुनः एक पटक निरास भए । जनतामा जागेको आशा हराउन थाल्यो ।

जनतामा निराशा छाएकै समयमा स्थानीय निर्वाचन आयो, यो निर्वाचनमा बामपन्थीहरुबीच चुनावी तालमेल होला कि ? भन्ने आशा गरेका जनता पुनः निरास बने, कमरेड प्रचण्डले स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र कमरेड केपी ओलीले राप्रपासंग चुनावी सहकार्य गर्नुभयो । अब फेरी एक पटक जनतामा बामपन्थी एकताको विषय ओझेल पर्दै गयो । प्रचण्ड कमरेडले कांग्रेससंग मिलेर एमालेलाई भित्ता पु¥याउने भन्न थाल्नुभयो । तर पनि स्थानीय निर्वाचनमा एमाले पहिलो शक्ति बनेपछि जनतामा थोरै आशा पलायो ।   जनताको निराशा र चिन्तालाई ख्याल गरेर तपाईहरुले २०७४ असोज १७ गते जुन घोषणा गर्नु भयो, आम जनतामा त्यसले उत्साह पैदा गरिदियो ।

बामपन्थी विचार राख्नेलाई मात्रै होइन, यो देशमा स्थिरता, दीगो विकास र समृद्धि चाहने हरेक नेपालीलाई तपाईहरुको निर्णयले उत्साहित बनायो ।   निर्वाचनमा गठबन्धन गरेर सहभागी हुने र लगत्तै पार्टी एकीकरण गर्ने तपाईहरुको निर्णयलाई नेपाली जनताले अत्यधिक रुचाए । जनताले आफ्नो अभिमत मार्फत तपाईहरुको निर्णयलाई अनुमोदन गरेका छन् । विगतमा बामपन्थीहरुले नेतृत्व गरेका सरकारहरुले गरेका जनपक्षीय कामहरुका कारण बामपन्थीलाई मत दिन तयार जनताले यस पटक थप अपेक्षाका साथ बामगठबन्धनलाई अत्यधिक मत दिएका छन् ।

अब देशमा स्थिर शासन सञ्चालन हुन्छ, यो देशका सडकहरु अब चाक्ला र चिल्ला हुन्छन्, यो देशमा पूर्व पश्चिम र उत्तर दक्षिण रेल चल्छ, भ्रष्टाचारीहरु अब किनारा लाग्छन्,, जनताका छोरा छोरी रोजगारीका लागि अब विदेश जादैनन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अब जनताको ढाड सेकिदैन, यो देशमा खेर गैरहेका स्रोतहरु अबदेखि पहिचान, उत्पादन, प्रशोधन र बजारीकरण मार्फत नगदमा रुपान्तरण हुन्छन् । कच्चा पदार्थ र कच्चा जनशक्ति विदेश पठाएर प्रशोधित सामान र काम गर्न नसक्ने जनशक्ति स्वदेश भित्र्याउने अवस्थाको अब अन्त्य हुन्छ, जनताको यही अपेक्षा छ र आफ्नो अपेक्षा पुरा गर्नका लागि बाम गठबन्धनलाई मत दिएका छन् ।

तपाईहरुले भन्ने गरेको नेपालको मौलिक लोकतान्त्रिक क्रान्तिले अब सफलता पाउछ, ५० वर्षदेखि विभाजनको कोपभाजनमा परेको बामपन्थी आन्दोलनलाई एकीकृत गर्न तपाईहरु सफल हुनुहुन्छ, शान्ति, समृद्धि र स्वतन्त्रता प्राप्त हुन्छ, स्थीर बामपन्थी सरकार बनेर राष्ट्रिय समृद्धिको आधार तयार गर्छ, आत्मनिर्भर अर्थतन्त्रको विकास, समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्तिको मुल आर्थिक कार्यदिशा र मार्गचित्र बन्छ, आर्थिक विकासमा राज्यको नेतृत्वदायी भूमिका हुन्छ, राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सिमानाको रक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, पूर्वाधारका परियोजना, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा र वातावरण लगायतको क्षेत्रमा राज्यले नेतृत्व गर्छ, नीजि क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण अंग र सहकारीलाई अर्थनीतिको महत्वपूर्ण आधार स्तम्भ बनाउने तपाईहरुको प्रतिवद्धता कार्यान्वयन हुन्छ भन्ने ठानेरै नेपाली जनताले तपाईहरुलाई मत दिएका छन् ।

अबदेखि ९÷९ महिनामा सरकार परिवर्तन हुदैन, एउटै सरकारले ५ वर्ष निर्धक्क काम गर्छ, योजना बनाउछ, स्रोत जुटाउछ, सहभागिता बढाउछ, दीर्घकालिन रुपमा विकास अगाडि बढ्छ । जनताले यस्तै यस्तै अपेक्षा राखेका छन् ।   कमरेडहरु   गणतन्त्र स्थापनाको एक दशक पार गर्दा पनि सत्ता स्वार्थका कारण अन्यौल बनेको राजनीतिक व्यवस्थाका कारण निरास बनेका जनतामा तपाईहरुको सहमति र सहकार्यले उत्साह भरिएको छ, परिवार पाल्नका लागि विदेशिएको युवाले घरमा आमा र श्रीमतीलाई बामपन्थी गठबन्धनलाई जिताउनका लागि सन्देश पठाएको छ, मलाई स्वदेशमै बस्ने रहर छ, भनेर आग्रह गरेको छ ।

दुर्गम गाउँमा बस्ने किसानले अब खानेपानीका कारण काकाकुल बन्नु पर्दैन, सिंचाईको अभावमा जमिन बाझै रहदैन, यसकारण बामगठबन्धनलाई विजयी गराऔं भन्दै आफन्त र छरछिमेकलाई सम्झाई बुझाई गरेको छ । कलाकार, शिक्षक, विद्यार्थी, पत्रकार, वकिल, प्राध्यापक, व्यापारी, कृषक, कालिगढ, महिला, अल्पसंख्यक, अपाङ्गता भएका, एकल महिला, जेष्ठ नागरिक, कर्मचारी, व्यवसायी, नीजि उद्यमी, सहकारीकर्मी लगायत आम नागरिकले यसपटक बामगठबन्धनलाई विजयी बनाएर दीगो शासन व्यवस्था ल्याउन पहलकदमी गरेका छन् । ति सबै बामपन्थी विचार राख्नेहरु मात्रै छैनन्, दीगो र स्थिर सरकार चाहने, देशको विकास र समृद्धि चाहने नागरिकले तपाईहरुलाई जिताउन मत दिएका छन्, मत दिन प्रेरित गरेका छन् ।   जनतासंग यो अन्तिम विकल्प पक्कै होइन होला तर त्यसरी नै जनताले अपेक्षा राखेका छन् कि अब देशमा स्थिर सरकार बन्छ, स्वदेशी विदेशी विभिन्न षडयन्त्रका खेलहरुलाई परास्त गर्ने नेपाली शान सहितको सरकार बन्छ र यसले देशमा समृद्धि र सुशासन ल्याउछ भन्ने जनताको अपेक्षा पुरा गर्ने जिम्मेवारी तपाईहरुको काँधमा आएको छ ।

तपाईहरुले नेतृत्व गरेका दुई बामपन्थी दलको गठबन्धन पछि गैर बामपन्थीहरु समेत तपाईहरुको गठबन्धनलाई साथ दिदै सहकार्यमा सहभागी भएका छन् । यसको सिधा अर्थ छ, देशवासी स्थिरताको पक्षमा छन् । त्यही भएर बाम गठबन्धनले सोच अनुसारको सफलता पाएको छ ।   कमरेडहरु   तपाईहरुलाई जनताले गरेको विश्वासमाथि तुषारापात भयो भने तपाईहरु त जनताको नजरमा गिर्नु हुन्छ नै बामपन्थीहरुलाई आगामी दिनमा जनताले साथ दिने अवस्था आउदैन ।

जनताले परिवर्तन चाहन्छन् र त्यो बामपन्थीहरुबाट मात्रै संभव छ भनेर जनताले मत दिएका छन् । जनताको मतलाई कागजको खोस्टो सम्झने विगतका परम्पराहरुको अन्त्य गर्दै यसपटक यहाँहरुले जसरी सबैलाई आश्चर्यचकित पार्दै गठबन्धन गर्नु भयो, गठबन्धनलाई विजयी गराउनुभयो त्यसैगरी जनतामा रहेको आशंकालाई समाप्त पारी दीगो र स्थिर सरकार निर्माणमा ध्यान दिनुपर्छ ।   जीतको उन्माद विगतमा तपाईहरुमा पनि देखिएकै हो । हरुवा चरुवा लगायतका शब्दजालहरु तपाईहरुबाट पनि भएकै हुन् । यतिबेला जितको उन्माद पनि बामपन्थी गबठन्धनमार्फत मुलुक परिवर्तन गर्ने अभियानको तगारो बन्न सक्छ । बामपन्थीलाई मत दिने सबै बामपन्थी होइनन् भन्ने कुरा पनि हेक्का राख्नु होला ।   प्रत्यक्षमा तेस्रो बनेको नेपाली कांग्रेस समानुपातिकमा पहिलोको हाराहारीमै छ, यो विषयलाई यहाँहरुले पक्कै वेवास्ता गर्नु हुने छैन ।

विपक्षी समेतसंग सहकार्य गरेर नवउदारवादको अन्ध पक्षपोषणको अनुत्पादक र उपभोक्तावादी पूँजिवादलाई बढावा दिइरहेको वर्तमान अवस्थाको अन्त्य गरी राष्ट्रिय उत्पादशिल पूँजि, श्रम र रोजगार केन्द्रीत औद्योगिकरण एवं विकास नीति अलबम्बन गरी तिब्र आर्थिक विकास र सामाजिक न्याय सहितको समावेशी र दीगो विकास गर्ने तपाईहरुको प्रतिवद्धतालाई जनताको अभिमतले पारित गरिदिएको छ । यसलाई कार्यान्वयन  गर्नका लागि फेरी पनि तपाईहरुबीच एकता, सहकार्य र समन्वय आवश्यक छ । निर्वाचनको मुखमा तपाईरुले संयुक्त घोषणापत्र मार्फत गरेका प्रतिवद्धताका आधारमा यो देश चलाउने जिम्मेवारी नेपाली जनताले तपाईहरुलाई दिएका छन् । यो ऐतिहासिक जिम्मेवारीलाई पुरा गर्नका लागि थुप्रै चुनौतीहरु छन् । ति चुनौतीको समग्र समाधान भनेको तपाईहरुबीचको सुमधुर सम्बन्ध नै हुन् ।

अहिले पनि तपाईहरुबीचमा विवाद सिर्जना गराउने, मेलमिलाप हुन नदिनका लागि विभिन्न प्रलोभन र आश्वासनहरु आइनै रहेका छन् । परिवारका सदस्यहरुबीच समन्व र एकता नहुदा छिमेकीले घर भडाउने काम गर्छन् नै त्यो पनि भइरहेकै छ । ५ वर्षभित्र नेपाललाई विकासशिल राष्ट्र बनाउदै १० वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने तपाईहरुको लक्ष्य प्राप्तिको प्रमुख तगारो भने तपाईहरुबीचको एकता र सहकार्यमा आउने समस्या नै हो । समस्या समाधानका लागि यहाँहरुले गरेका प्रतिवद्धतामा अडिग रहन जरुरी छ । सत्ता वा अन्य स्वार्थ र स्वार्थीहरुको चिल्ला कुरामा तपाईहरु नफस्नु, नभुल्नु नै तपाईहरुको प्रतिवद्धता पुरा गर्ने अचुक उपाय हो ।

आम नेपाली जनता मुलुकमा स्थिरता कायम हुने भयो, देशले आर्थिक विकास र सामाजिक रुपान्तरणको मार्ग पहिल्याउने भयो भनेर सुखानुभूति गरिरहेका छन् । जनताको यो भावनालाई आत्मसाथ गर्नका लागि तपाईहरुले एकता प्रक्रियालाई अन्तिम रुप दिन जरुरी छ । एकतामा बल छ, त्यही बललाई प्रयोग गरेर तपाईहरुले देखेको सपना, गरेको प्रतिवद्धता पुरा गर्नका लागि २०७४ असोज १७ गतेको सहमति कार्यान्वयन जरुरी छ ।   यही बीचमा बामगठबन्धनका एक प्रमुख नेता कमरेड प्रचण्डलाई पुत्र शोक परेको छ । शोकका बीच पनि उहाँ, उहाँको परिवार र समग्र बामगठबन्धनले निर्वाचनलाई सफल पार्न र विजय प्राप्त गर्न कुनै कसर राखेनन् । शोकलाई शक्तिमा बदलेर अभियान सफल भयो । कमरेड प्रचण्डले जीवनमा धेरै महत्वपूर्ण कुरा आफ्नो एकमात्र छोरालाई गुमाउनु भएको छ ।

यो पीडा पर्नेले मात्रै बुझेको छ । तपाईले पाएको पीडालाई बिर्साउनका लागि पनि तपाई र ओली मिलेर यो देशका सबै युवाहरुको मुहार फेर्नु पर्छ ।   नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने महान नेताहरु पछि धेरै पटक एकीकरणका प्रयासहरु हुदै आएका छन् । टुटफूटको बाम आन्दोलनलाई यतिबेला एउटा उभार ल्याउने काम तपाईहरुको अगुवाईमा भएको छ । यसलाई निष्कर्षमा पु¥याएर बाम आन्दोलनको इतिहासमा स्वर्णिम अक्षरले नाम लेखाउने अवसरलाई साना तिना सत्ता वा अन्य स्वार्थले पक्कै छेक्ने छैन भन्ने जनताले अपेक्षा गरेका छन् ।

अन्त्यमा तपाईहरुका बीचमा असोज १७ गते बाँधिएको लगनगाठो थप कस्सिनु पर्छ भन्ने बाम गठबन्धनलाई मत दिने जनताको चाहना छ । जनतालाई आशंका छ, कतै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अगुवाईमा बाँधिएको यो देशका दुई ठुला कम्युनिष्ट पार्टीबीचको एकीकरण अभियानको लगनगाठो फुस्किने त होइन ? र धेरै जनता आश्वत छन् कि तपाईहरुले यो देशबाट लिनु पर्ने केही छैन, देशवासीलाई एकता, विकास र समृद्धिको उपहार पक्कै दिनु हुन्छ । फेरी जनताको आशंका छ, कमरेडहरु तपाईहरुबीचको लगनगाठो फुस्किने त होइन ? यो गाठो कस्सिदै गएर यो देशमा एउटा मात्र कम्युनिष्ट पार्टी बनोस्, जनताको दुखका दिन समाप्त गरोस्, । धन्यवाद

रामबहादुर जि.सी.