मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका सांसदलाई भब्य स्वागत

  • २९ मंसिर २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 1599 पटक पढिएको

म्याग्दी, २९ मंसिर । चुनाव जितेर मतदातालाई धन्यवाद दिन गाउँ पुगेका म्याग्दीका नवनिर्वाचित सांसदहरुलाई ग्रामिण क्षेत्रका बासिन्दाले भब्य स्वागत गरेका छन् ।प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेशसभा सदस्य बिनोद केसी सहित एमाले र माओवादी केन्द्रका नेताहरुको टोलीलाई शुक्रबार अन्नपूर्ण गाउँपालीकाको घोडेपानी, नागी, राम्चे, काफलफाँडा, रिमा र औलाका बासिन्दाले स्वागत गरेका हुन् ।

धन्यवाद दिन गाउँमा पुगेका सांसदहरुलाई स्वागतका साथै स्थानीय बासिन्दाले विभिन्न विकास योजनाको माग र समस्याको बारेमा ध्यानाकर्षण गराएका छन् । घोडेपानीका बासिन्दाहरुले पर्यटन प्रर्वद्धनका योजनाको माग गरेका थिए भने राम्चे, नांगी, काफलडाँडा, रिमा र औलाका बासिन्दाले सडक स्तरवृद्धी गरी यातायात सेवालाई सहज बनाउन माग गरेका छन् ।

शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारका साथै आयआर्जन वृद्धीका लागि कृषि र पर्यटन सम्बन्धि योजना भित्र्याउन माग गरेका सो टोलीमा सहभागी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुदिन पौडेलले बताउनुभयो ।

सांसदद्धय थापा र केसीले चुनावमा जिताउन सहयोग गर्ने मतदाता र स्थानीय कार्यकर्तालाई धन्यवाद दिदै जिल्लाबासीको साझा प्रतिनिधिको रुपमा जनताको समस्या समाधान, आवश्यकताको सम्बोधन, विकास र सम्बृद्धीको अभियानमा केन्द्रित हुने बताउनुभयो ।

समस्या र सम्भावनाको पहिचान गरि सोही अनुसार अघि बढ्न जनताको गुनासो, सुझाव र अपेक्षा बुझ्न चुनाव जितेपछि घरदैलोमा आएको उहाँहरुले बताउनुभयो ।

 

सन्तोष गौतम