मुक्तिनाथ बहुउदेश्यीय सहकारीद्धारा बहिरा विद्यार्थीहरुलाई सहयोग

  • २९ मंसिर २०७४, शुक्रबार
  • धिरन खत्री
  • 1371 पटक पढिएको

म्याग्दी, २९ मंसिर । बेनीमा रहेको मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाले बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माविमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीहरुलाई सहयोग गरेको छ । संस्थाको १० औँ स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय हिरा केसीको ८ औँ स्मृती दिवशको अबसरमा स्रोत कक्षालाई रु २५ हजार बराबरको सामाग्री सहयोग गरेको हो । सहकारीले सो अबसरमा बहिरा विद्यार्थीहरुले अध्ययन गर्ने कक्षाकोठाको लागि ३० मिटर कार्पेट, किताब, कापि लगायतका शैक्षिक सामाग्री सहयोग गरेको सहकारीका अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो ।

सो स्रोत कक्षामा अहिले १८ जना बहिरा विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा शुक्रवार आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष केसी, उपाध्यक्ष लिलाराम गौतम, सचिब डण्डपाणी सापकोटा, संस्थापक अध्यक्ष स्वर्गीय केसीकी श्रीमती देवी केसी, प्रबन्धक तेजनाथ पौडेल लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान)लाई सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।


सहकारीका अध्यक्ष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष गोविन्द पौडेलले सहकारीले बहिरा विद्यार्थीहरुको लागि गरेको सहयोगले स्रोत कक्षाको व्यवस्थापनमा सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार देवी केसीले धन्यबाद मन्तव्य राख्नुभएको थियो ।
सहकारीका सचिब डण्डपाणी सापकोटाले स्वागत गर्नुभएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी, स्रोत व्यक्ति केशव प्रसाद रेग्मी लगायतको सहभागीता रहेको थियो भने सञ्चालन उपाध्यक्ष लिलाराम गौतमले गर्नुभएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l