मतदातालाई धन्यबाद दिन गाउँ गएका साँसदहरुलाई सर्वसाधारणको मागै माग !

  • २८ मंसिर २०७४, बिहीबार
  • 2151 पटक पढिएको

म्याग्दी २८ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको शिख र घारका बासिन्दाहरुले नवनिर्वाचित सांसदहरुसंग पर्यटक आगमन बढाउने योजना तथा कार्यक्रम बनाउन सुझाव दिएका छन् । अन्नपूर्ण चक्रिय पदमार्ग अन्तरगत पर्ने शिख र घारमा पछिल्लो समय सडक विस्तारसंगै पर्यटक आगमन घटेको छ । सुस्ताएको पर्यटक आगमनलाई बढाउन र गाउँलेको आयआर्जन वृद्धी गरी रोजगारी सिर्जनामा सघाउ पुग्ने योजना तथा कार्यक्रम ल्याउन माग गरेका हुन् ।

यसैगरी उनिहरुले पोखरेबगर घार, शिख चित्रे, पोखरेबगर पाउद्धर सडकको स्तरवृद्धी, खानेपानीको सहज सुबिधा, नयाँ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिन आग्रह गरेका छन् । नवनिर्वाचित सांसदहरुको टोलीले घार, खिवाङ, शिख, फलाते, चित्रे र घोडेपानीका मतदातालाई भेटेर धन्यवाद दिएका थिए ।

प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापा र प्रदेशसभा क्षेत्र क का सांसद बिनोद केसीले मतदातालाई धन्यवाद दिदै समुदाय, स्थानीय तह, प्रदेश र संघीय सरकारसंग जिल्ला र क्षेत्रको विकास तथा सम्बृद्धीमा लाग्ने बताउनुभयो ।

उहाँहरुले स्थानीय समस्या, आवश्यकता र सम्भावनाको पहिचानका लागि आफूहरु जनताको घरदैलोमा पुगेको बताउँदै जनताको समस्या समाधान र सम्भावनाको परिचालन गरी विकास र सम्बृद्धीमा सघाउ पुग्ने योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । सांसददय थापा र केसीले जनताको अपेक्षा अनुसार कसैप्रती पूर्वाग्रह नराखी काम गर्ने र त्यसका लागि सघाउन स्थानीयबासीलाई आग्रह गर्नुभयो ।

स्थानीय बासिन्दाले एमाले र माओवादीको गठबन्धनलाई एकतामा रुपान्तरण गरी स्थिर सरकार बनाउन सुझाव दिएका छन् । सो कार्यक्रममा एमाले र माओवादी केन्द्रका जिल्ला तथा गाउँ स्तरका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । बिजयी सांसदहरुलाई आमा समूह र युवा कल्वले फुल मालाले स्वागत तथा सम्मान गरेका थिए ।