म्याग्देली मिरा पुन भईन् हङकङ प्रहरीमा छनौट हुने प्रथम नेपाली महिला !

  • २८ मंसिर २०७४, बिहीबार
  • 2958 पटक पढिएको

हङकङ, २८ मंसिर । हङकङमा बसोबास गर्दै आएकी एक म्याग्देली युवती नेपाली महिलाहरुको तर्फबाट हङकङ प्रहरीमा छनौट हुने पहिलो अबसर पाएकी छिन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ घर भई हाल हङकङमा बसोबास गर्दै आएकी २० बर्षिय मिरा पुन हङकङ प्रहरीमा छनौट हुन सफल भएकी हुन् । उनी नेपाली समुदायबाट हङकङ प्रहरीमा छनौट हुने प्रथम महिला हुन सफल भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका उपाध्यक्ष आसा पुन मगरले बताउनुभयो ।

हङकङ प्रहरीमा पहिलो नेपाली महिलाको रुपमा भर्ति भएकी पुनले म्याग्दी जिल्ला र पुन मगर समुदायकै गौरव बढाएको उपाध्यक्ष पुन मगरले बताउनुभयो । हङकङ प्रहरीमा छनोट भएकी मिराले ६ महिनाको तालिम समापन पश्चात औपचारिक रुपमा हङकङ प्रहरीको वर्दी पहिरिएर जिम्मेवारी सम्हाल्नेछिन् ।


म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ घर भएका पुन परिवार चितवन हुँदै हङकङमा बस्दै आएका छन् । हङकङमै पढेर यही हुर्केकी मिरा पुन (मिस मगर हङकङ २०१३) को बिजेता समेत हुन सफल भएकी थिईन् । हङकङ प्रहरीमा पहिलो नेपाली महिलाको रुपमा भर्ति भएकी मिरा पुनलाई अहिले सामाजिक सञ्जाल मार्फत उनको उज्जवल भविश्यको कामना गर्दै बधाई दिईरहेका छन् ।

हिमालयन परियोजना अन्तर्गत बिभिन्न तालिमहरुमा सहभागी भएर मिरा पुन हङकङ प्रहरीमा छनौट भएकी हुन् । पुन भन्दा अगाडी नेपाली समुदायका निरज गुरुङ र कुशल गुरुङ हङकङ प्रहरीमा छनोट भएर तालिम पश्चात औपचारिक रुपमा हङकङ प्रहरीमा आबद्ध भईसकेका छन् ।