समुदायकै प्रयासमा विकास : पर्यटकीय खयरलेकमा रु १ करोड बढी लगानीमा पूर्वाधार निर्माण (फोटो फिचर)

  • २५ मंसिर २०७४, सोमबार
  • 3154 पटक पढिएको

म्याग्दी, २५ मंसिर । अक्करे भिरमा ढुंगा चिनेर बनाईएका सिँढी (पदमार्ग) ! ठाउँ–ठाउँमा आराम गर्नका लागि बनाईएका चौतारा ! यात्राको क्रममा हुने थकान जंगल र अग्ला डाँडाकाँडामा बनाईका लोभलाग्दो पदमार्ग र चौताराहरुले भुलाईदिन्छ । यो अनुभुती म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको शिरमा रहेको पर्यटकीय खोप्रा र खयरलेक जाँदा जो कोहीलाई हुने गर्छ ।

पाउद्धार गाउँदेखि माथि खोप्रासम्म जंगल र भिरको बाटोमा समुदायकै पहलमा पदमार्ग, चौतारा र खानेपानीको समेत बन्दोबस्त गरिएको छ । जंगल, भिर र अप्ठ्यारो पहाडको बाटोमा आफ्नो दिवंगत भएका आफन्तको सम्झनामा स्थानीय करिब ३ दर्जन बढी घरपरिवारले व्यवस्थित पदमार्ग, चौतारा लगायतका पूर्वाधार निर्माण गरेका छन् ।

पाउद्धार देखि खोप्रा र खयर भारनी थान सम्मको पदमार्ग, चौतारा, बासस्थान लगायतका पूर्वाधार राज्यको लगानी बिना नै निर्माण भएका हुन् । खोप्रादेर्खि धार्मिक एवम पर्यटकीय स्थल खयरलेकसम्मको दुरीमा रु १ करोड १५ लाख बढी लगानीमा समुदायकै अगुवाईमा थप पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।

प्रचुर पर्यटकीय सम्भाबना बोकेको खयर तालको अबलोकन र खयर भारानी थानको पुजापाठको लागि जाने पर्यटक तथा भक्तजनहरुको सुविधाको लागि थानको पुर्ननिर्माण सहित व्यवस्थित पदमार्ग र विश्रामस्थल लगायतका भौतिक पूर्वाधार निर्माण गरिएको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक क्याप्टेन राजु पुनले बताउनुभयो ।
खयरभारनी थानमा बिषेश गरि जनैपूर्णिमाको अबसरमा शिेषेश पुजापाठ हुने गर्छ । विकास निर्माणमा सरकारी मुख ताक्ने र बजेटको समेत दुरुपयोग गर्ने परिपाटीको विकास भईरहेको सन्दर्भमा पाउद्धारबासीले भने सरकारी लगानी बिना गाउँलेकै पहल र स्वदेश तथा विदेशमा छरिएर रहेका स्थानीय अगुवाहरुको अग्रसरतमा करोडौँको पूर्वाधार तयार गरि उदाहरणीय र नमुना कार्य गरेका हुन् ।

पाउद्धारमा जन्मिएर हाल बेलायतमा बस्दै आएका क्याप्टेन पुनको नेतृत्वमा चन्दा संकलन र श्रमदानबाटै खोप्रादेखि खयरभारानी थान सम्मको एक दिनको पैदल दुरीमा पर्ने बाटोमा अप्ठ्यारो ठाउँहरुमा व्यवस्थित पदमार्ग, थकान मेटाउन चौतारी, बास बस्ने घर लगायतका पूर्वाधार निर्माण गरिएको हो । खयरक्षेत्रमा पूर्वाधार निर्माणको लागि अभियान थालिएको ६ बर्षमा १ करोड १५ लाख बढी लगानीको पूर्वाधार तयार भईसकेको अभियन्ता पुनले बताउनुभयो ।


उहाँका अनुसार, अन्नपूर्ण हिमाल र बराह शिखरको फेदीमा ४ हजार ६ सय ३० मिटर उचाईमा अबस्थित खयरलेकमा रहेको खयर भारानी थानको समेत पुननिर्माण गरिएको छ ।

थानको पुननिर्माणमा मात्रै रु ३९ लाख लगानी भएको थियो । भौगोलिक रुपमा विकटता र उच्च हिमाली क्षेत्रमा भएकाले काम गर्ने कठिनाई संगै लगानी बढी लागेको समितिले जनाएको छ ।

यस क्षेत्रको दर्शन तथा भम्रणमा जाने भक्तजन र पर्यटकहरुलाई लक्षित गरि खोप्रामा २ वटा र खयरखोलामा ४ वटा वास बस्ने ठाउँ तथा खोप्रामा १ र खयरखोलामा १ वटा किचनघर (खाना पकाएर खाने ठाउँ) निर्माण गर्न रु २५ लाख लगानी भएको अभियन्ता पुनले जानकारी दिनुभयो ।युकेमा बस्दै आएपनि बिगत ६ बर्षको अन्तरालमा पुनले आर्थिक संकलन देखि स्थलगत रुपमै कार्यक्षेत्रमा रहेर पूर्वाधार निर्माणमा सक्रिय भएर खट्नुभएको थियो ।

खोप्रालेक देखि खयरखोला हुँदै खयरलेक पुग्नको लागि विभिन्न अप्ठ्यारा ठाउँहरुमा व्यवस्थित पदमार्ग निर्माण गरिएको छ । ‘‘ यो क्षेत्रमा आउने भक्तजन तथा पर्यटकहरुको सुविधाको लागि पूर्वाधार निर्माणको लागि बिगत ६ बर्षदेखि लागिपरेको छु, प्राचिन सम्पदाहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य हो, सबै क्षेत्रबाट आर्थिक सहयोगमा सहकार्य भएकाले यो कार्य सफल भएको हो’’–पुनले भन्नुभयो ।


महत्वपूर्ण धार्मिक स्थल खयर क्षेत्रको विकासको लागि स्वदेश तथा विदेशमा रहेका स्थानीय र अन्य सहयोगी व्यक्तिहरुले मन खुलाएर सहयोग गरेको कारण पूर्वाधार निर्माण कार्य सम्भव भएको उहाँको भनाई छ । चन्दा रकम दिन नसक्नेहरुले समेत पूर्वाधार निर्माणमा श्रमदान गरी सहभागिता जनाएका छन् ।

धेरैजसोले आफ्नो दिवंगत आफन्तहरुको सम्झनामा सहयोग गरेको र केहीले चन्दा स्वरुप सहयोग गरेको स्थानीय अगुवा भिम पुनले बताउनुभयो । समितिले यस क्षेत्रको पूर्वाधार निर्माणमा सहयोग गर्नेहरुको शिलालेख समेत राख्ने कार्यको सुरुवात गरेको जनाएको छ ।