म्याग्दीमा समानुपातीक मतगणना सकियो, एमालेलाई धेरै मत

समानुपातीकको प्रतिनिधि र प्रदेशसभामा साढे एघार हजार मत बदर

  • २४ मंसिर २०७४, आईतवार
  • सन्तोष गौतम
  • 2253 पटक पढिएको

म्याग्दी २४ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनाव भएको म्याग्दीमा समानुपातीक तर्फको मतगणना सकिएको छ । मंसिर २२ गते पहिलो हुने निर्वाचन प्रणालीको मतगणाना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समानुपातीकको मतगणना सुरु गरेको थियो । प्रतिनिधिसभामा नेकपा एमालेले १८ हजार २६६ र नेपाली काँग्रेसले १७ हजार ३४८ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले चार हजार ३०३, राप्रपाले एक हजार १५१, बिबेकशिल साझाले ५२७, राप्रपा प्रजातान्त्रीकले २६६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ पनी एमालेनै पहिलो भएको छ । एमालेले १६ हजार ७०४, काँग्रेसले १५ हजार ७३९ र माओवादी केन्द्रले चार हजार ८३३ मत पाएका छन् । राप्रपाले एक हजार ८७४, बिबेकशिल साझाले ३६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा २ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ७५ हजार ५३७ जना मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । प्रत्यक्षतर्फ तिन वटै क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका उमेद्वार बिजयी भएका छन् । प्रतिनिधिसभामा एमालेका भुपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र क मा माओवादी केन्द्रका बिनोद केसी र ख मा एमालेकी नरदेवी पुन बिजयी हुनुभएको हो । समानुपातीकतर्फ प्रतिनिधिसभामा ४० हजार ५२६ र प्रतिनिधिसभामा ४२ हजार ६१६ मत सदर भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।

उहाँका अनुसार समानुपातीको प्रतिनिधीसभातर्फ चार हजार ६८६ र प्रदेशसभातर्फ छ हजार ७७५ मत बदर भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा दुई हजार २८६, प्रदेशसभा क्षेत्र क मा ७०८ र क्षेत्र ख मा ७७५ मत बदर भएको छ । प्रत्यक्षतर्फ उमेद्वार नभएको दलको चुनाव चिन्ह नभएकाले तुलनात्मक रुपमा बदर मतको संख्या कम छ भने समानुपातीकमा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एउटै पानाको दुई भागमा रहेकाले मतदाता अलमलमा परेका थिए । मतदाता शिक्षाको कमी मत बदर हुनुको मुख्य कारण हो ।

सन्तोष गौतम