म्याग्दीमा मतगणना सुरु, प्रारम्भीक नतीजामा बाम गठबन्धनको अग्रता (भिडियो सहित)

  • २१ मंसिर २०७४, बिहीबार
  • 2774 पटक पढिएको

म्याग्दी, २१ मंसिर । मंसिर १० गते पहिलो चरणमा प्रतिनिधि र प्रदेशसभा चुनावको मतदान भएको म्याग्दीमा आजदेखि मतगणना सुरु भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेबाट मतगणना सुरु गरिएको हो । मतपत्रको सुरक्षा र सुरक्षित तवरले मतगणना कार्य सम्पन्न गर्नका लागि तारबारको घेराभित्र मत गणना थालिएको छ । मतगणना स्थलमा उपस्थित हुने उमेद्वार वा दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने गरी तारजाली लगाइएको छ । प्रतिनिधिसभामा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्रमा भएको मतदानको गणना समेत छुट्टा छुट्टै स्थानमा गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोईरालाले जानकारी दिनुभयो ।

म्याग्दीमा स्थानीय तहका वडा अनुसार मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको थियो । मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान भएको छ । मतगणनाका लागि एउटा समूहमा दश जनाका दरले कर्मचारी खटाईएको छ । मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको परिचयपत्र भएका बाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएकोे छ । मतगणना सुरु भएदेखि नसकिँदासम्म जिल्ला प्रशासन कार्यालयदेखि श्रीबक्स गुल्मको पोष्ट रहेको क्षेत्रमा सवारी आवागमन बन्द गरि समूहमा भेला हुन प्रतिबन्ध लगाइएको छ ।

एक नगरपालीका, ५ गाउँपालीका, ४५ वटा वडा भएको म्याग्दीमा ७५ हजार ५३७ मतदाता रहेकोमा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उमेद्वार चुनावी प्रतिस्र्धामा छन् । प्रतिनिधिसभामा बामगठबन्धनबाट एमालेका भुपेन्द्र थापा र लोकतान्त्रीक गठबन्धनबाट काँग्रेसका खम्बिर गर्बुजा मुख्य प्रतिस्पिर्धी रहनुभएको छ । ४२ हजार ९९३ जना मतदाता रहेकोमा २७ हजार ६७५ मत खसेको प्रदेशसभा क्षेत्र (क)मा बाम गठबन्धनबाट माओवादी केन्द्रका बिनोद केसी र लोकतान्त्रीक गठबन्धनबाट राप्रपाका भिमप्रसाद गौचन प्रमुख प्रतिस्पिर्धी हुनुहुन्छ ।

म्याग्दी प्रदेशसभा क्षेत्र (ख)मा कुल मतदाता ३२ हजार ५४५ जना रहेकोमा १९ हजार ७७४ मत खसेको थियो । सो क्षेत्रमा बाम गठबन्धनबाट एमालेकी नरदेवी पुन र लोकतान्त्रीक गठबन्धनबाट काँग्रेसका अमलाल फगामी प्रमुख प्रतिस्पिर्धी रहनुभएको छ । मतगणना स्थल वरपर ठुलो संख्यामा जनपथ प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिएको छ । ७५ हजार ५३७ मतदाता रहेको म्याग्दीमा मंसिर १० गते सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा करिब ६३ प्रतिशत अर्थात ४७ हजार ४४९ मात्रै मत खसेको थियो । यसैबिच प्रारम्भीक मतपरिणाम अनुसार म्याग्दीमा बाम गठबन्धनले अग्रता लिएको छ ।

म्याग्दीकोप्रारम्भीकमतपरिणाम
प्रदेश सभा क्षेत्र क मा बेनी नगरपालिका –४ सिंगा ः कुल मत ः १४९७
विनोद केसी : ९०८
भिमप्रसाद गौचन : ५३८
बदर मत : ४२

प्रदेश सभा क्षेत्र ख मा धौलागिरी गाउँपालिका– ७ ताकम कुल मत १५३०
नरदेवी पुन : ७५६
अमलाल फगामी : ६५०
बदर मत : ११४

प्रतिनिधि सभा सदस्य पदमा भकिम्ली र सिंगा कुल मत : २८९१
भुपेन्द्र बहादुर थापा : १४५१
खमबीर गर्वूजा : १२१९
बदर मत :१६०

भिडियो