सडकको चिसोमा रात कटाउँदै आएका वृद्धलाई उद्धार गरि अस्पतालमा भर्ना

  • १९ मंसिर २०७४, मंगलवार
  • 2881 पटक पढिएको

म्याग्दी, १९ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा सडकमै दिनरात विताउँदै आएका एक बृद्धको स्थानीय युवाहरुले उद्धार गरी उपचारको लागि अस्पताल पु¥याएका छन् । बेनीको खुलामञ्च क्षेत्रमा खुला आकासमा रात कटाउँदै आएका ६३ बर्षका टेकबहादुर पुन नाम बताउने बृद्धलाई अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलको नेतृत्वमा युवाहरुले उद्धार गरेका हुन् ।

म्याग्दीको मालिका गाउँपालिका क्षेत्रका पुन पहिलेदेखि नै भारी बोक्ने काम गर्दै आएका थिए । उमेरले बुढ्यौली लागेर काम गर्न नसक्ने भएसंगै उनी बेवारिसे अवस्थामा सडकमा बस्दै आएका थिए । लामो समयदेखि पुन सडकपेटीमा बस्ने र स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको पाईएपछि उनलाई उद्धार गरि नुहाईदिएर उपचारको लागि जिल्ला अस्पताल बेनीमा भर्ना गरिएको पौडेलले बताउनुभयो ।

पुनका कोही पनि आफन्त नभएको जानकारी आएकाले उनलाई उपचार पश्चात जेष्ठ नागरिक आश्रम अथवा मानव सेवा केन्द्र लगायतका संरक्षण संस्थामा पु¥याउनको लागि आवश्यक पहल थालिने पौडेलले बताउनुभयो । उहाँले वेवारिसे व्यक्तिहरुको संरक्षण गर्ने संस्थाहरुले पुनलाई संरक्षण प्रदान गरी सहउयोग गरेमा पुनको दैनिकी सहज हुने बताउनुभयो ।