म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार

  • १९ मंसिर २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 1893 पटक पढिएको

 

म्याग्दी १९ मंसिर । नयाँ संघिय संरचना अनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार हुन थालेको छ ।

म्याग्दीमा स्थापना भएका स्थानीय तहका केन्द्रहरुमा विभिन्न बैङ्क तथा वित्तिय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैङ्कीङ सुबिधाका लागि सदरमुकामसम्म धाउनुपर्ने समस्या हटेको छ ।

नयाँ संरचना अनुसार आर्थिक गतिबिधि, ब्यापार बढ्न र बजारीकरण हुन थालेपछि बैङ्क तथा वित्तिय संस्थाले ग्रामिण क्षेत्रमा शाखा विस्तार गर्न थालेका हुन् । यसै क्रममा अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा खुलेको गरिमा विकास बैङ्कको शाखा कार्यालयको मंगलबार उद्घाटन गरिएको छ ।

यसअघि सोही गाउँपालीकाको २ नम्बर वडामा पर्ने भुरुङ तातोपानीबाट सञ्चालन हुदै आएको शाखा पोखरेबगरमा स्थानान्तरण गरिएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताउनुभयो । गरिमाले म्याग्दीको सदरमुकाम बेनीसंगै मालीका गाउँपालीकाको केन्द्र दरवाङ र मंगलाको केन्द्र बाबियाचौर बजारबाट सेवा प्रवाह गर्दै आएको छ ।
म्याग्दीका छ मध्य ४ वटा स्थानीय तहमा बैङ्कको पहुँच पुगेको छ । प्रभु बैङ्कले रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाट र धौलागिरी गाउँपालीकाको ताकममा शाखा विस्तारको तयारी गरेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैङ्कले दन्द्धकालमा दरवाङ बजारबाट विस्थापित भएको शाखा पुर्नस्थापनाको तयारी गरेको छ ।

स्थानीय तहमा बैङ्कको शाखा स्थापना भएपछि उपभोक्ता समिति, शिक्षक, कर्मचारीलाई तलब बुझ्नका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको र सेवा प्रवाहमा समेत सहजता भएको अन्नपूर्ण गाउँपालीकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालीका ६ का वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल र पोखरे प्राबिका प्रअ लोकबहादुर बरुवालले बैङ्कीङीक पहुँच विस्तारसंगै ग्रामिण क्षेत्रमा छरीएर रहेको पुँजी निक्षेपको रुपमा संकलन हुने र उद्यम व्यवसाय गर्नेहरुलाई सहयोग पुग्ने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले स्थानीय तहसम्म बैङ्कको पहुँच पुगेपछि ब्यापारीहरुलाई रकम बोकेर जोखिम मोल्दै हिड्नुपर्ने समस्या हटेको बताउनुभयो । आर्थिक कारोबारका साथै ब्यापार व्यवसायमा समेत सहयोग पुगेको उपाध्यक्ष श्रेष्ठको भनाई छ ।
गरिमा विकास बैङ्कका सञ्चालक चन्द्रकान्त बरालको अध्यक्षता र नायब महाप्रबन्धक माधवप्रसाद उपाध्यायको सञ्चालनमा सम्पन्न शाखा उद्घाटन कार्यक्रममा सञ्चालक कुञ्जराज थापाले हाल ५० वटा शाखा रहेको बैङ्कले चालु आर्थिक वर्षको अत्यसम्म थप दश वटा शाखा विस्तारको तयारी गरेको बताउनुभयो ।

 

सन्तोष गौतम