त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते , बेपत्ता बस फेला

  • १३ मंसिर २०७४, बुधबार
  • 1767 पटक पढिएको

चितवन । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ ।

दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन ।

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी १६ जनालाई भरतपुरतर्फ ल्याइएको छ । पुरानो मेडिकल कलेजमा नौ जनाको उपचार भइरहेको छ भने बाँकी घाइतेलाई भरतपुरतर्फ ल्याइदै छ ।

काठमाडौंँबाट अर्घाखाँची जान आउँदै गरेको बस इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा आज बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार लु २ ख २९१ नम्बरको उक्त बस त्रिशूलीमा खसेको हो । काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नम्बरको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

ट्रकको अघिल्लो भाग कुच्चिएको छ । सडक सामान्य घुमाउरो भएको उनले जानकारी दिए । बस घटनास्थलमै नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै शर्माले बताए ।

बस नदीबाट झिक्नका लागि प्रयास थालिएको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडाँैंतर्फ पर्दछ । घटना बिहान ९ः१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ ।

बसले काठमाडौँंको काउन्टरबाट २८ जना यात्रुको चलानी लिएको देखिन्छ भने दुईजना बीचबाटोबाट चढाएको घाइतेहरुले बताएका छन् । चालक र सहचालक गरी बसमा ३२ जना रहेको देखिन्छ । शर्माले बाटोमा यात्रु थपेको नथपेको एकिन हुन नसकेको भन्दै नदीमा बेपत्ता हुनसक्ने आशंकामा खोजी कार्य जारी राखिएको बतानुभयो ।

उनले भने, “एक दुई जना बेपत्ता भएको हुनसक्ने अनुमानमा खोजी कार्यलाई जारी राखेका छौं ।” नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घटना भए लगत्तैबाट उद्धार कार्यलाई जारी राखेका छन् ।

sorce; ratopati