निर्वाचनमा म्याग्दीमा उत्साहपूर्ण सहभागी, ६३ प्रतिशत मत खसेको प्रारम्भीक जानकारी (फोटो फिचर)

  • १० मंसिर २०७४, आईतवार
  • कमल खत्री
  • 2141 पटक पढिएको

म्याग्दी, १० मंसिर । आईतवार भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचन म्याग्दीमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्लाको ४५ वटा वटामा ७२ वटा मतदान स्थलमा गरिएको मतदानमा म्याग्दीका मतदाताले उत्साहपूर्ण रुपमा सहभागीता जनाएका थिए । जिल्लामा कुल मतको ६३ प्रतिशत मत खसेको अनुमान गरिएको छ । आईतवार साँझ सम्म प्राप्त जानकारी अनुसार जिल्लामा ६१ प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भीक जानकारी आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सबै भन्दा कम मत खस्ने मतदान स्थलमा ५२ प्रतिशत भन्दा बढी मत खसेको र सरदरमा ६१ प्रतिशत भन्दा बढी मत खसेको जानकारी प्राप्त भएपनि केही मतदान केन्द्रबाट अझै जानकारी आउन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

साँझ ५ बजेसम्म मतदान सकिएपछि मतदान केन्द्रहरुबाट मतपेटीकाहरुलाई सुरक्षित साथ जिल्ला सदरमुकाम ल्याउने कार्य समेत सुरु भएको छ । कडा सुरक्षा बन्दोबस्तका साथ मतपेटीकाहरुलाई बेनीमा ल्याउने प्रवन्ध मिलाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दुरीमा रहेको धौलागिरी गाउँपालिका–१ गुर्जाबाट भने सोमबार मात्रै हेलिकप्टर मार्फत मतपेटीका ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । आईतवार भएको मतदानमा जिल्लाको कुनैपनि ठाउँमा अप्रिय घटना नघटेको र शान्तिपूर्ण रुपमै मतदान कार्य सम्पन्न भएको प्रजिअ अधिकारीले बताउनुभयो ।


१ नगरपालिका सहित ६ स्थानीय तहका ४५ वटै वडामा निर्वाचन गराउनका लागि म्याग्दीका १०६ वटा मतदान केन्द्रहरुमा मतदान गराईएको थियो । रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रमा ११२ बर्षका खड्क बहादुर भण्डारीले मतदान गर्नुभएको थियो । जिल्लामा मतदाताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागीता जनाएका छन् ।


जिल्लामा १०६ मतदान केन्द्रमा ८४७ जना कर्मचारी र शिक्षकलाई चुनावका लागि खटाइएको थियो । चुनावी सुरक्षाका लागि ठूलो संख्यामा जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ । म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता रहेका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना चुनावी मैदानमा उत्रिएपनी बाम र लोकतान्त्रीक गठबन्धनका उमेद्वारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l