बिहेको ३ दिनमै दम्पतीको मृत्यु

  • १० मंसिर २०७४, आईतवार
  • 1817 पटक पढिएको

काठमाडौं, ९ मंसिर । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको खलंगातर्फ जाँदै गरेको जिप शुक्रबार साँझ मुसिकोट नगरपालिका ६ कालीमाटीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ग१ज ४२६० नम्बरको जिप मध्यपहाडी लोकमार्गमा सडकबाट १ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ को उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । तीन जना घाइते छन् ।

मृत्यु हुनेमा सिस्ने गाउँपालिका ६ का प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधान, मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ, उनका छोरा सुधन श्रेष्ठ र छोरी सुरेखा शाह, मुसिकोट नगरपालिका १ कै जनक शाह र मुसिकोट नगरपालिका ६ की यमुना मल्ल छन् । शाह भलिबलका राष्ट्रिय रेफ्री हुन् । प्रहरी निरीक्षकद्वय श्रेष्ठ र प्रधानको भने मंसिर ६ मा मात्र बिहे भएको थियो । उनीहरू बिहेपछि कार्यक्षेत्र फर्कंदै थिए । सुरेखा र यमुना आइतबारको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिएका थिए । मुसिकोट नगरपालिका ७ को जनजागृति मावि साँखको ‘क’ केन्द्रमा उनीहरू खटिएका थिए । दुर्घटनामा चालक दाङका प्रेम थापा, सहचालक बाफिकोट गाउँपालिकाका प्रेम केसी र दाङकै प्रहरी हवल्दार टेकबहादुर खत्री घाइते भएका छन् । उनीहरूको कोहलपुरमा उपचार भइरहेको छ । जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए ।

बिहेको ३ दिनमै दम्पतीको मृत्यु

रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ का नवीन श्रेष्ठ र इटहरी उपमहानरपालिका १७ बालग्रामकी अनिता प्रधान ०७० सालमा सँगै प्रहरी सेवामा प्रवेश गरे । त्यही बेला उनीहरूको चिनजान भयो । समय बित्दै जाँदा दुवैले मन र मुटुसमेत साटे । मंसिर ६ मा बिहे गरेका उनीहरू पेसासँगै जीवन पनि सँगै अघि बढाउँदै थिए । तर उनीहरूको खुसीको संसार ३ दिन पनि रहन पाएन ।

रुकुमकोटस्थित घरमा भित्रिएर कार्यक्षेत्र फर्कंदै गर्दा जिप दुर्घटनामा परेर उनीहरूको निधन भयो । बिहे गरेकै दिन इटहरीबाट रुकुम पूर्व हिँडेका दम्पती ७ गते बेलुकी मात्रै घर पुगेका थिए । ८ गते दिउँसोसम्म घर भित्र्याउने टीकाटालो गरेका उनीहरू साँझ कार्यक्षेत्र फर्कन जिप चढेका थिए । उनीहरूले ९ गते बेलुकी नेपालगन्जबाट काठमाडौं जाने प्लेनको टिकट लिएका थिए भने १० गते बिहान काठमाडौंबाट विराटनगर उडदै थिए । छोरी दुर्घटनामा परेको खबर सुनेपछि अनिताका बाबुआमा इटहरीबाट हेलिकप्टरमा जिल्ला अस्पताल सल्ले पुगेका थिए । छोरी अन्माएको तीन दिनमै छोरीज्वाइँकै निधन भएपछि अनिताका बाबुआमा भावविहवल छन् । दुर्घटनामा परेका शेरबहादुर, सुधन र जनक उनीहरू दुवै जनालाई घर भित्र्याउने कार्यक्रममा सहभागी भएर फर्कंदै थिए ।

नवीन सुर्खेत ट्राफिक प्रमुख भएको भर्खर ९ दिन भएको थियो । उनी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट सुर्खेत सरुवा भएर मंसिर १ मा हाजिर भएका थिए । उनले मंसिर २ मै पत्रकार सम्मेलन गरेर ट्राफिक व्यवस्थापन र सडक सुरक्षाबारे आफ्नो योजना सुनाएका थिए । अनिता जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थिइन् । नवीन र अनिताको आइतबार रुकुम पूर्वमा अन्त्येष्टि गरिनेछ । दुर्घटनापछि खलंगा र रुकुमकोट शोकमग्न छ । एकै परिवारका ३ जनाको मृत्यु भएको मुसिकोट नगरपालिका १ मठमा मृतकका आफन्त र छिमेकी पनि शोकाकुल छन् । शेरबहादुर, उनका छोरा सुधन, छोरी सुरेखा तथा यमुना मल्लको भने शनिबार नै अन्त्येष्टि गरिएको छ ।

आफन्त पर्खंदा आयो नराम्रो खबर

खलंगाका दिलीप थापालाई साथी नवीन श्रेष्ठको शुक्रबार बेलुकीपख फोन आयो । आफ्नो घर भित्र्याउने कार्यक्रममा सहभागी नभएको भन्दै रिसाएका नवीनले दिलीपलाई भने, ‘तँ मेरो घर भित्र्याउनेमा आउँछु भन्थिस्, आइनस् । अब म तेरोमा आउँछु, सँगै बस्नुपर्छ ।’ त्यसपछि दिलीपले नवीनकै अनुरोधमा रोटी र अन्य परिकार बनाएर राखे । साथी आउला र सँगै खाउँला भनेर सोचेका दिलीपको योजना पूरा भएन । अचानक नवीन दुर्घटनामा परेको खबरले दिलीप स्तब्ध भए । दिलीप नवीनका सानैदेखिका मिल्ने साथी हुन् । ‘त्यस्तो भन्ने साथीको लास बोक्नुपर्‍यो,’ उनले भने, ‘साथीका लागि बनाएको खानेकुरा यत्तिकै छ, दुर्घटनापछि त्यो भान्सामा पनि गएको छैन ।’ दिलीप इटहरीमा भएको नवीनको बिहेमा समेत सहभागी थिए ।

मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठले पनि शुक्रबार बेलुकी घरमा फोन गरेर रुकुमकोटबाट फर्कंदै गरेकाले खाना पकाउन भने । उनको घरमा उनीसहित उनका छोरा सुधन र केही पाहुनाका लागि खाना तयार भयो । परिवारका सदस्यहरू खाना पकाएर अभिभावक र पाहुनाको पर्खाइमा बसे । ‘पाहुना आउलान् र सँगै खाना खाउँला’ भनेर पर्खने परिवारले पनि नराम्रो खबर सुन्नुपर्‍यो ।

 

-कान्तिपुर