आचार संहिताको उल्लङ्घन गर्दै शिक्षकहरु चुनाव प्रचारमा !

  • ५ मंसिर २०७४, मंगलवार
  • 3244 पटक पढिएको

म्याग्दी, ५ मंसिर । आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आचार संहिताको धज्जी उडाउदै शिक्षकहरु चुनाव प्रचारमा हिँडेको भन्दै उजुरी परेको छ । । राज्यको तलबभत्ता खाएर नेपाली काँग्रेस र राप्रपाको चुनाव प्रचारमा हिँडेको भन्दै म्याग्दीका २४ जना शिक्षकहरुलाई उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ । कार्यालयमा परेको उजुरीको आधारमा आचार संहिता अनुगमन अधिकृत छवीन्द्र बेल्बासेले जिल्ला शिक्षा कार्यालय मार्फत स्पष्टीकरण सोधेका हुन् । शिक्षकहरु चुनाव प्रचारमा हिडेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

अधिकृत बेल्वासेले जिल्ला शिक्षा अधिकारीलाई पत्र मार्फत आचार संहिता उल्लङ्घन गरी दलको प्रचारमा हिड्ने शिक्षकहरुको गतिबिधिको अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् । काँग्रेसको प्रचारमा हिँडेको भन्दै उजुरी परेका शिक्षकहरुमा अर्जुन मावि भकुण्डेका स्रोत व्यक्ति दुर्गाराम सुवेदी र हेम मावी शिवाङका स्रोतव्यक्ति गिरीप्रसाद छन्त्याल समेत छन् । सुवेदी काँग्रेस निकट टे«ड युनियन र नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष हुन् । अमर मावी पाखापानीमा मतदान अधिकृतको रुपमा खटिएका जनप्रिय माविका शिक्षक जगतकुमार सापकोटा, सोही विद्यालयका शिक्षक नगेन्द्र खत्री, मंगला गाउँपालीका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृती माविका प्रअ टेकबहादुर राम्जाली, मालीका आधारभुत विद्यालय देविस्थानकी रुपमाया घर्ती र रमेश फगामी रहेका छन् ।

यसैगरी नारच्याङको निलगिरी आधारभुत विद्यालयकी नरीमाया गर्बुजा, महेन्द्ररत्न आधारभुत विद्यालय बरंजाका जगबहादुर रोका, शिख माविका केदार कार्की, बरनाथ आधारभुत विद्यालय अवेचौरका पदमबहादुर खत्री, महेन्द्र मावि झिँका प्रअ यामबहादुर शेरपुञ्जा, अमर मावि चिमखोलाका पृथबहादुर थापा, जडभरत आधारभुत विद्यालय गलेश्वरका लोकेन्द्रबहादुर खड्का, मंगला मावि बाबियाचौरका हर्कबहादुर छन्त्याल, रामचन्द्र पौडेल, भगवती वडा कार्यालय मतदान केन्द्रका मतदान अधिकृतको रुपमा खटिएका जनप्रिय मावि दरवाङका प्रअ दिवाकर सुवेदी, शान्ति आधारभुत विद्यालय ओखरबोटका गोपाल रेग्मी, जनकल्याण मावि पुलाचौरका शिव बानिया, रघुगंगा मावि पिप्लेकी शोभा हमाल, ज्ञानोदय मावि मौवाफाँटकी सरस्वती सुवेदी, महभिर आधारभुत विद्यालयकी गंगा घर्ती र राष्ट्रिय माविकी लिला सापकोटा विरुद्ध उजुरी परेको हो । उनिहरु विरुद्ध नेकपा एमालेका नेताहरुले उजुरी गरेका हुन् ।

यसअघि सोमबार नेपाली काँग्रेसका नेताहरुले एमाले निकट १३ जना शिक्षकहरु विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए । उनिहरुलाई एमालेको चुनाव प्रचार गरेको आरोप लगाइएको छ । वुद्धी विकास माविका प्रअ जंगबहादुर किसान, जनआवाज प्राबी कुहँुका सुनबहादुर विश्वकर्मा, स्रोतव्यक्ति भरत पुन, प्रकाश माविका बालकुमार रोका, पाउद्धार माविकी थममाया पुन, हिमाञ्चल माविका रमन पुन, बालजागृती प्राबिका भक्त कार्की, धनजनता मावि मुनाका पुस्कर भण्डारी, थाईवाङ प्राबीकी देवी पुर्जा, किसानी मावि बिमका जंगबहादुर गर्बुजा, गलेश्वर माविका रामप्रसाद शर्मा, सिद्धशान्ति आधारभुत विद्यालयका मोतिराज उपाध्याय र जामुनाखर्क माविका भिम घर्ती विरुद्ध उजुरी परेको हो ।