क्षेत्रनम्बर दुईमा उम्मेदवार पुनको घरदैलो तिव्र

  • ५ मंसिर २०७४, मंगलवार
  • 1805 पटक पढिएको

 

म्याग्दी,५ मंसिर । म्याग्दीको प्रदेशसभा (ख) का वाम गठबन्धनका साझा उम्मेदवार नरदेवी पुन नेतृत्वको टोलीले सोमबार मंगला गाउँपालिकाको विभिन्न वडामा मतदाता भेटघाट र घरदलौ कार्यक्रम गरेको छ । मंगला–३ र ४ बराङ्जाको पखेर, खर्क, दह, धापुङ र बुकेनी गाउँमा घरदैलो, मतदाता भेटघाट गर्नुका साथै मतदाता शिक्षा दिएको टोलीले जनाएको छ ।  
मतदातालाई भेटेर उम्मेदवार पुनले यसअघि सांसद र राज्यमन्त्री हुँदा आफूले सुरु गरेका कामलाई थप बढावा दिनका लागि पुनः चुनावी मैदानमा होमिएको बताउँदै भोट दिएर जिताउन आग्रह गरेकी छिन् । उनले म्याग्दीमा हिँजोको समयमा पनि वामपन्थी पार्टीले नै विकास गरेको भन्दै वामपन्थीबाहेक अन्य पार्टीले केही गर्न नसक्ने भएकाले वामपन्थीको विकल्प नभएको बताइन् ।


नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य याम रोका, मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोका, प्रदेशसभा (ख)का चुनावी कमाण्डर शंकर शेरचन, एमाले म्याग्दी–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष पदमलाल सापकोटाले आगामी चुनावबाट देशको नेतृत्व वामपन्थी पार्टीले नै गर्ने भएको हुँदा ढुक्क भएर वाम गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा एमाले जिल्ला सदस्य नारायणबहादुर अधिकारी, माओवादी केन्द्रका मंगला गाउँपालिका सचिव मोहनलाल सापकोटा, एमाले मंगला गाउँपालिका सङ्गठन कमिटी सदस्य अमृता विश्वकर्मा, युवा संघका नेताद्वय दिपु केसी र करण कँडेलले वाम गठबन्धनको पक्षमा भोट मागेका थिए ।
यसैगरी मंगला गाउँपालिकाकै थाईबाङ, हिदी र तुसारपानीमा गाउँपालिका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा घरदैलो कार्यक्रम गरी मतदातालाई भेटेर वाम गठबन्धनलाई भोट मागिएको छ । कार्यक्रममा एमाले जिल्ला सदस्य प्रेमप्रसाद रेग्मी, मंगला–२ का वडाध्यक्ष धनबहादुर खाती, अनेमसंघका पूर्व उपाध्यक्ष यशोदा रोका, माओवादी केन्द्रका वडा संयोजक कुलप्रसाद पुन र अनेरास्ववियुका जिल्ला सचिव एवं म्याग्दी बहुमुखी क्याम्पसका स्ववियु सभापति सावित्रा खत्रीले घरदैलो गर्नुका साथै मतदाता शिक्षा समेत दिएका छन् ।