गलेश्वरमा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन

  • २३ कार्तिक २०७४, बिहीबार
  • 2963 पटक पढिएको

म्याग्दी, २३ कात्तिक । बेनी नगरपालिका–९ गलेश्वरमा निर्मित सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ ‐मोना) जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था र गलेश्वर शिवालय क्षेत्र विकास कोषको लगानीमा निर्मित भवनको बिहिबार एक कार्यक्रमका विच मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापा, धौलागिरि सहकारीका अध्यक्ष लिला बहादुर बानियाँ र मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले संयुक्त रुपमा उद्घाटन गरे ।

२०७१ सालमा गलेश्वर बृद्धआश्रममा बसोबास गर्ने विरामी,गलेश्वर बजार लगाएत आसपासका क्षेत्रका बासिन्दालाई लक्षित गरी स्थापना गरिएको इकाईको भवन अभावमा अस्थायी संरचनाबाट सेवा दिदाँ असहज भएपछि जापानमा रहेका म्याग्देलीले १३ लाख ६५ हजार, धौलागिरि सहकारीले २ लाख र गलेश्वर शिवालय क्षेत्र विकास कोषबाट २ लाख गरी १७ लाख ६५ हजारको लागतमा निर्मित तीन कोठे भवनबाट नियमित सेवा प्रवाहमा सहज भएको छ । भवन उद्घाटनको अवसरमा बोल्दै प्रमुख अतिथि थापाले धार्मिक क्षेत्रका प्रचारप्रसारमा प्रवासी म्याग्देलीले विषेश सहयोग गर्ने बताए । उनले म्याग्दी जिल्लामा रहेका धार्मिकस्थलहरुको प्रचारप्रसारले जिल्लामा धार्मिक पर्यटक भित्राउन समेत ठुलो भूमिका खेल्ने बताउँदै आगामी दिनमा समेत सहयोगका लागि प्रतिबद्ध रहेको बताए ।


मोना जापानका अध्यक्ष महेन्द्र बानियाँले जापानमा च्यारेटी कार्यक्रम मार्फत बृद्धबृद्धालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आर्थिक सहयोग संकलन गरिएको बताए । कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले जेष्ठ नागरिकको समस्यामा कोष सचेत रहेको बताउँदै समस्या देखिएमा तत्काल समाधान गरिएको बताए । उनले स्वास्थ्य इकाईको स्थापनाले गलेश्वरका साथै विभिन्न जिल्लाबाट गलेश्वर, मुक्तिनाथको दर्शन गर्न आउने विरामीलाई समेत राहत मिलेको समेत बताए । कार्यक्रमको अध्यक्षता कोषका उपाध्यक्ष भिमनाथ पराजुली, स्वागत सचिव माधवप्रसाद रेग्मी र सञ्चालन कार्यालय सचिव राम बहादुर बानियाँले गरेका थिए । स्वास्थ्य इकाईबाट ३० देखी १५० जनासम्म विरामीले सेवा लिने गरेका छन् ।