निर्वाचन आयोगबाट मतदाता शिक्षा सामाग्री आएन

मतदाता शिक्षा कार्यक्रम प्रभावित

  • २३ कार्तिक २०७४, बिहीबार
  • कमल खत्री
  • 4099 पटक पढिएको

म्याग्दी, २३ कात्तिक । मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएपनि म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेको छैन् । आयोगले अहिलेसम्म पनि मतदाता शिक्षा कार्यक्रमको लागि आबश्यक पर्ने प्रचार र सहयोगी सामाग्री उपलब्ध नगराएको कारण मतदाता शिक्षा कार्यक्रम अन्यौलमा परेको हो ।

ग्रामीण भेगमा आफुलाई मन परेको उम्मेदवारलाई कसरी ? मत हाल्ने भन्ने जानकारीको अभाबमा बदर मत बढीरहेको अवस्थामा आसन्न निर्वाचनको लागि मतदाताहरु माझ मतदाता शिक्षा पुग्न सकेको छैन् । उम्मेदवारहरु घरदैलोमा आउन थालेपनि कसरी मत हाल्ने अझै सिक्न नपाएको रघुगंगा गाउँपालिका–६ ठाडखानीका रणप्रसाद छन्त्यालले गुनासो गरे । उम्मेद्वारहरु घरदैलामा आउँदा उत्साहित बनेका मतदाताहरु कसरी मतदान गर्ने ? मतपत्र कस्तो हुने ? पहिलो हुने र समानुपातिक निर्वाचनमा कसरी मत दिने ? जस्ता प्राविधिक विषयमा जानकारी नहुँदा अन्र्योलमा परेका छन् ।

निर्वाचन हुनुभन्दा एक महिनाको समयावधीमा मदतादा शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने भएपनी यस पटक निर्वाचन आयोगबाट नमुना मतपत्र छपाईमा भएको ढिलाई र ब्रुसर, लगायतका प्रचार सामाग्री नआएको कारण स्वयमसेवकहरु परिचालन गर्न कठिनाई भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिए । ‘‘ मतपत्रकै अन्र्योलताका कारण केन्द्रबाटै समाग्री आउन ढिला भएको छ, अब सामाग्रीलाई पर्खिएर मात्रै बस्दैनौँ, सामाग्री नआएपनि नमुना मतपत्र आईसकेकाले स्थानीय रुपमै आवश्यक तयारी गरेर मतदाता शिक्षामा लाग्छौँ, निर्वाचन अधिकारी पौडेलले भने । सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयमसेवीका, बालशिक्षाका सहयोगी र सामुदायिक विद्यालयका शिक्षकहरुलाई मतदाता स्वयमसेवकको रुपमा तालिम दिएर स्थानीय तहसंगको समन्वयमा परिचालन गरिनेछ ।

जिल्ला निर्वाचन कार्यालयले आयोगबाट मतदाता शिक्षा सामाग्री आईनपुगेको भएपनि कात्तिक २४ र २५ गते मतदाता शिक्षा स्वयमसेवकहरुलाई तालिम दिने तयारी गरेको छ । तालिम दिएका स्वयमसेवकहरुलाई जिल्लाका ७२ मतदान स्थलमा रहेका १०१ मतदान केन्द्रमा हरेक केन्द्रमा १ जनाको दरले १०१ जना मतदाता शिक्षा स्वयमसेवक परिचालन गर्ने जिल्ला निर्वाचन अधिकारी पौडेलले बताए । वैशाख ३१ गते सम्पन्न निर्वाचनमा समेत बदर मत धेरै देखिएकाले छोटो अवधी भएपनी प्रभावकारी तवरले मतदाता शिक्षाको लागि कार्यक्रम गरिने कार्यालयले जनाएको छ । प्रतिनिधीसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा ७५ हजार ५३८ जना मतदाता रहेका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l