बाम गठबन्धनको खबरा, भकुण्डे र अर्जममा चुनाबी आमसभा

  • २३ कार्तिक २०७४, बिहीबार
  • 2137 पटक पढिएको

म्याग्दी, २३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजीकिएसंगै म्याग्दीमा बाम गठबन्धनले चुनाबी आमलाई तिब्रता दिएको छ । निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टोलीले विहिवार बेनी नगरपालिका– १ अर्जम, बेनी नगरपालिका–२ भकुण्डे र खवरामा चुनाबी आम सभा सम्पन गरेको हो ।

भकुण्डेमा कुलबहादुर थापाको अध्यक्षतामा भएको आम सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार भुपेन्द्रबहादुर थापाले नयाँ संघिय संविधानको कार्यान्वयन, स्थायी सरकार मार्फत मुलुकको समृद्धिको लागि बामगठबन्धनको बिजयी आबश्यक रहेकोमा जोड दिनुभयो । बर्षैपिच्छे सरकार परिवर्तन हुने अस्थीर राजनीतिले नेपालको विकास र समृद्धि हाँसिल हुन नसकेको बताउँदै यो निर्वाचनबाट मुलुकमा बामपन्थीहरुको दुई तिहाई सहितको सरकार निर्माण हुने दावी गर्नुभयो ।
उहाँले जिल्लाको विकासको लागि बामगठबन्धनका उम्मेद्वारहरुले निश्चित कार्ययोजना तयार गरि कार्यान्वयन गर्ने बताउँदै निर्वाचनमा कसैको उक्साहटमा लागेर मतलाई खेर नफाल्न जनतालाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा बाम गठबन्धनको तर्फबाट प्रदेश क्षेत्रनम्बर क का उम्मेद्वार नेकपा माओवादीका विनोद केसीले लामो संघर्ष र बलिदानबाट प्राप्त संघिय गणतन्त्रलाई कार्यान्वयन हुन नदिन लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारले राजतन्त्रको एजेण्डा बनाउनुले उनीहरु मुलुकको परिवर्तन विपरित भएको जिकिर गर्दै बाम गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, नेकपा एमालेका सचिबालय सदस्य प्रमोद श्रेष्ठ र राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले नेपालमा बामपन्थी नेतृत्वमा बनेका सरकारहरुले मुलुकको विकास, परिवर्तनको संस्थागत र जनताको जनजिविकामा सुधार हुने कामहरु गरेको स्मरण गर्दै अवको निर्वाचनले बामपन्थीहरुको बहुमतको सरकार निर्माण हुने सुनिश्चित भईसकेकोमा जोड दिनुभयो । कृष्ण कार्कीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सुवास विश्वकर्माले गर्नुभएको थियो । सोही अबसरमा नेपालको राजनीतिक स्थायीत्व र विकासको लागि भन्दै नेपाली काँग्रेसका १० जना स्थानीय कार्यकर्ता बाम गठबन्धमा प्रवेश गरेका थिए । त्यस्तै खबरामा आयोजित चुनाबी आम सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार भुपेन्द्रबहादुर थापा र प्रदेशसभा सदस्यका उम्मेदवार विनोद केसीले बेनी नगरपालिका सहित समग्र जिल्लाको विकासको लागि आफुहरु योजना सहित अगाडी आएको बताउँदै मतदान गरि बिजयी गराउन आह्वान गर्नुभएको थियो । सो आमसभाको क्रममा विभिन्न साँस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो ।