वाम गठबन्धनलाई जिताउन युवासंघ र वाईसीएलको संयुक्त प्रचार अभियान

  • २१ कार्तिक २०७४, मंगलवार
  • 2466 पटक पढिएको

म्याग्दी, २१ कात्तिक । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा सोमबार सम्पन्न नेकपा एमाले र माओवादी केन्द्र समर्थित युवा संघ र वाईसीएलको संयुक्त भेलाले चुनाव प्रचारप्रसार समितिहरु गठन गरेको छ । भेलाले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउन समिति गठन गरेको हो ।


भेलाबाट गाउँपालिका अन्तर्गत विभिन्न वडा र टोलमा युवा सङ्गठनको चुनाव प्रचारप्रसार समिति गठन गरिएको युवा संघले जनाएको छ । उक्त भेलाबाट मराङमा पदम लामगाडे संयोजक र हिक्मत गर्बुजा सहसंयोजक रहेको २७ सदस्यीय वडास्तरीय निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ ।


यसैगरी सिवाङ–¬¬मच्छिम–काफलडाँडामा लोकेश गर्बुजा संयोजक र अनिता मगरको सहसंयोजकत्वमा २१ सदस्यीय चुनाव प्रचारप्रसार समिति निर्माण गरिएको युवा संघ म्याग्दीका अध्यक्ष प्रविण शाहीले जानकारी दिए । त्यस्तै धारापानीमा मोहन पुन संयोजक र बलबहादुर विक सहसंयोजक रहेको २१ सदस्यीय समिति गठन भएको उनले बताए । ताकममा राजन थापा संयोजक तथा भेषक पौडेल सहसंयोजक रहेको २५ सदस्यीय समिति बनाइएको छ ।


गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा युवा संघ म्याग्दीका निवर्तमान अध्यक्ष दिनेश केसी, वर्तमान अध्यक्ष प्रविण शाही, माओवादी केन्द्रका नेता देवबहादुर थापा र अनेरास्ववियु केन्द्रीय सदस्य प्रकाश पौडेलले मन्तव्य राखेका थिए । वाईसीएलका नेता किरण थापाको अध्यक्षता र युवा संघका सचिवालय सदस्य विजय घर्तीमगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य सुजन छन्त्यालले स्वागत गरेका थिए ।