प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी यस्तो छ म्याग्दीमा !

  • २० कार्तिक २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2937 पटक पढिएको

म्याग्दी २० कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधी र प्रदेशसभा निर्वाचनको म्याग्दीमा तयारी तिब्र बनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयले चुनावको मिती नजिकिदै गर्दा आवश्यक तयारी तिब्र बनाएका हुन् । मुख्य निर्वाचन अधिकृत रामकुमार कोईरालाले चुनावका लागि कर्मचारी खटनपटन, समन्वय र व्यवस्थापकीय तयारीलाई तिब्रता दिइएको बताउनुभयो ।

निर्वाचन आयोगबाट जिल्लामा मतपत्र आउने तयारी भएको जानकारी दिदै उहाँले चुनावमा खटिने कर्मचारीको प्रबन्ध मिलाउन जुटेको बताउनुभयो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान सहायक, सहयोगीको रुपमा खटिने कर्मचारीको विवरण निर्वाचन कार्यालयबाट मगाएर अध्ययन भैरहेको छ ।

यसैगरी निर्वाचन आचार संहिताको पालना भए नभएको विषयमा अनुगमन र मतदान केन्द्रहरुको अध्ययन गर्ने कामलाई पनी तिब्रता दिइएको छ । जिल्ला सुरक्षा समिति, प्रशासन, प्रहरी कार्यालयको टोलीसंग मतदान केन्द्र र आचार संहिता पालनाको अवस्थाको बारेमा अनुगमन गरिएको छ । उहाँले दलहरुले चुनाव प्रचारको क्रममा आचार संहिता उल्लङ्घन गरेका केही उजुरीहरु परेकाले त्यसको छानवीन गरी पहिलो चरणमा सचेत बनाइएको समेत बताउनुभयो । केही शिक्षकहरुबाट समेत आचार संहिता उल्लङघन भएको उजुरी परेकाले यस विषयमा छानविन भैरहेको कोईरालाले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालयले नमुना मतपत्र छपाईमा ढिलाई हुँदा मतदाता शिक्षा कार्यक्रम प्रभावीत भएपनी अन्य तयारी तिब्र गतिमा अघि बढेको जनाएको छ । मतदाता शिक्षा कार्यकर्ता र मतदान तथा सहायक मतदान अधिकृतको रुपमा खटिने कर्मचारी छनौट गरेर तालीम दिने तयारी गरिएको निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताउनुभयो ।एक नगरपालीका, पाँच गाउँपालीका, ४५ वटा वडा, ७२ मतदान स्थल र १०६ मतदान केन्द्र रहेको म्याग्दीमा ७५ हजार ५३८ जना मतदाता छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ जना उमेद्वार चुनावी मैदानमा छन् ।

 

सन्तोष गौतम