बाम गठबन्धनको विममा आमसभा :“राजनितिक स्थिरताका लागि बामपन्थीको दुई तिहाई आवश्यक”

  • २० कार्तिक २०७४, सोमबार
  • 2937 पटक पढिएको

म्याग्दी, २० कात्तिक । नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालमा राजनितिक स्थिरता कायम गर्न आगामी निर्वाचनबाट गठन हुने प्रतिनिधी र प्रदेशसभामा बामपन्थीको दुई तिहाई बहुमत आवश्यक पर्ने बताउनुभयो ।मालीका गाउँपालीका ७ बिममा सोमबार आयोजित चुनावी सभामा थापाले नेपाली काँग्रेसले अनुशरण गर्दै आएको संसदीय व्यवस्थाका कारण नेपालमा नौनौ महिनामा सरकार परिवर्तन हुँदा जनताको चाहना अनुसार विकास हुन नसकेको ठोकुवा गर्नुभयो ।

“आगामी निर्वाचनबाट एमाले र माओवादीको बामगठबन्धनले दुई तिहाई मत ल्याए नौनौ महिनामा सरकार परिवर्तन गर्ने खेलको अत्य गर्छौ” एमालेकी समानुपातीक उमेद्वार समेत रहनुभएकी थापाले भन्नुभयो “पाँच वर्षका लागि साधारण होईन दुई तिहाई मत दिएर कम्युनिष्टले काम गरेर देखाउने अवसर दिनुहोस ।”

बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उमेद्वार एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापाले नेपाललाई सम्बृद्ध बनाउन बाम गठबन्धनलाई दुई तिहाई मत आवश्यक पर्ने र म्याग्दीमा बाम गठबन्धन भएकाले दश हजार मतान्तरले जित्ने उद्घोष गर्नुभयो । प्रदेशसभा क्षेत्र (ख)का एमालेका उमेद्वार पूर्व राज्यमन्त्री नरदेवी पुनले एमाले माओवादीको योगदानका कारण नेपालमा गणतन्त्र, संघियता, समावेशी, धर्मनिरपेक्षता आएको, दलित, महिला जनजातीले अवसर पाउनुका साथै सिहदरबारको अधिकार स्थानीय तह मार्फत गाउँ गाउँमा आएको बताउनुभयो ।

उहाँले स्थानीय तहको बजेटले नपुगेका सडक, भवन, खानेपानी, पर्यटन पूर्वाधार जस्ता योजनालाई प्रदेश सरकारबाट योजना पार्न आफूले सक्दो पहल गर्ने बताउनुभयो । बेनी टोड्के मालीका बिम हुदै धौलागिरी आधार शिवीर जाने पदमार्ग सञ्चालनमा पहल गर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेता टेकबहादुर विश्वकर्माले सामाजिक सुरक्षा भत्ता, युवा स्वरोजगार, देशका प्रमुख सहरमा सडक फराकीलो बनाउने, लोडसेडीङको अन्त्य गर्ने काम बामपन्थी सरकारले गरेको बताउँदै सबैको अधिकार सुरक्षित गर्न बामपन्थीको विकल्प नभएको बताउनुभयो ।

स्वतन्त्र उमेद्वारका रुपमा मालीका गाउँपालीका ७ का वडा अध्यक्ष रेशम जुक्जालीले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती वा प्रधानमन्त्री हुने व्यवस्था गर्न अनुरोध गर्दै आफ्नो सर्मथन अग्रगमन र परिवर्तनको पक्षमा रहेको बाम गठबन्धनलाई रहने घोषणा गर्नुभयो । बामपन्थी अगुवा कलिप्रसाद जुक्जालीको अध्यक्षता, एमालेका म्याग्दी काठमाडौ सम्र्पक समितिका अध्यक्ष पदमलाल सापकोटाको सञ्चालन र एमालेका गाउँपालीका उपसंयोजक बेगप्रसाद गर्बुजाको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । बाम गठबन्धनको टोलीले मालीका गाउँपालीका ६ दिच्याममा पनी सोमबारनै चुनावी आमसभा तथा घरदैलो र मतदाता भेटघाट गरेका छन् । सो कार्यक्रम वडा अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा सम्पन्न भएको थियो ।