मराङमा निल भयो भनेर भ्रमको राजनीति नगर्न माओेवादीको चेतावनी

  • २० कार्तिक २०७४, सोमबार
  • 2663 पटक पढिएको

माओवादी केन्द्र म्याग्दीले धौलागिरि गाउँपालिका वडा नम्बर ६ मराङमा माओवादी निल भयो भनेर नेपाली काँग्रसले गरेको प्रचारलाई भ्रमको राजनीति भनेर भनेको छ । यस्ता हल्लाका पछि नलाग्न उसले कार्यकर्ता पक्तीलाई अपिल समेत गरेको छ । माओवादी केन्द्रले यस्तो भ्रमको राजनीति नगर्न सम्बन्धित पक्षलाई कडा चेतावनी समेत दिएको छ ।

शनिवार मात्रै माओवादीका केही स्थानीय कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेको कुरालाई आधार मानेर पुरै गाउँमा नै माओवादी निल भयो भनेर मिडियाले राजनीति गरेको माओवादीको भनाई छ । वाम गठबन्धनलाई कमजोर पार्न विपक्षीहरुले यतिखेर सर्वसाधरण जनताहरुमा भ्रम छर्ने काम गरेको माओवादीका पोलिटव्युरो सदस्य एवम् म्याग्दी संयोजक गोविन्द पौडेलले बताउनुभयो ।

मराङमा माओवादीको पुरानै संगठन यथावत रहेको पौडेलले बताउनुभयो । प्रलोभनमा परेर केही व्यक्तीहरुले पार्टी छाड्दैमा निल भयो भन्नु हास्यस्पद भएको उहाँको भनाई छ । मिडियाले झुटको राजनीति  गर्न खोजेको पौडेलले आरोप लगाउनुभयो ।

मराङमा हाम्रो संगठन जिवितै छ पौडेलले भन्नुभयो,‘स्थानीय तहको निर्वाचनको परिणाम हेरे को निल थाहा हुन्छ ।’ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवारले एकसय ९२ मत र एमालेका उम्मेदवारले तिनसय ९७ मत प्राप्त गरेका थिए । यहाँ काँग्रेसले उम्मेदवार उठाएको थिएन । स्थानीय तहको निर्वाचनलाई हेर्दा मराङमा काँग्रस भन्दा वाम गठबन्धन नै बलियो देखिन्छ ।