दोवा र भुरुङ तातोपानीको बर्षौदेखिको सिमा बिवाद समाधान

  • २० कार्तिक २०७४, सोमबार
  • सन्तोष गौतम
  • 4307 पटक पढिएको

म्याग्दी २० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको वनको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका १ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका बिषयमा बिवाद रहदै आएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जिल्ला वन कार्यालयकाका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाको सहजिकरणमा दुई वटै वडाका जनप्रतिनिधि तथा बासिन्दाहरुको शनिबार ठूलोबगरमा भएको भेलाले बिवादलाई सहमतीमा टुङ्ग्याएको हो ।

वि.स २०४६४७ मा गाविस बिभाजन हुँदा दोवाका बासिन्दाले उपभोग गर्दै आएको वन क्षेत्र प्राबिधिक त्रुटीका कारण भुरुङ तातोपानीको नक्सामा समावेश भएको विषयलाई लिएर दुवै गाउँका बासिन्दाबिच तिब्र बिवाद रहेको थियो ।नक्सामा जे भएपनी भोगचलन गर्दै आएको सिमाना अनुसार नयाँ नक्सा तयार पार्न प्रक्रिया अघि बढाउने र सिमा क्षेत्रको जंगल दुवै गाउँका उपभोक्ताले आफूलाई जहाँ पायक पर्छ त्यही उपभोग गर्ने सहमती भएको सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले जानकारी दिनुभयो ।


भेलामा दोवा र भुरुङ तातोपानीका वडा अध्यक्ष दिलीप गर्बुजा, ओमप्रकाश फगामी, गाउँपालीकाका कार्यकारी अधिकृत अच्युत दाहाल, वडा सदस्य, सामुदायीक वन उपभोक्ता समूहका पदाधीकारी र स्थानीयबासीबीच सिमा बिवाद समाधानको उपायका विषयमा छलफल भएको थियो ।

 

सन्तोष गौतम