कोरियामा आत्महत्या गरेको साथीको सम्झनामा (भिडियो सहित)

  • २० कार्तिक २०७४, सोमबार
  • एईडेन छन्त्याल
  • 3337 पटक पढिएको

दक्षिण कोरिया

नेपाली युवकद्धारा आत्महत्या । टेलिभिजनका स्क्रिनहरु, पत्रपत्रिकाका पेपरहरु, अनलाईन मिडियाका पेजहरु, फेसवुकका भित्ताहरु पुरै भरिएको थियो त्यहि आत्महत्याको समाचारले । जुन साथीलाई केहि पनि कुरा मनमा वाँकी नराखि पुरै सेयर गरेको थिएँ । जोसँग मेरो पुरै भावना मिलेजस्तो अनुभूति हुन्थ्यो, जोसँग म कुनै झर्को नमानी घण्टौँ विताउन सक्दथ्यो । जसले मैले रचेका रचनाहरु, मैले वाचन गरेका साहित्यिक शब्दहरु औधि रुचाउदथ्यो । जसलाई हत्या, हिंसा, आत्महत्या वा मर्नु र सकिनु शब्द वाचन गरेको सुन्दा पनि डराउने गर्दथ्यो, डराउदथ्यो, त्यहि साथीले आत्महत्या गरेछ । आफूले आफैलाई सकाएछ, लुकाएछ कहिल्यै नदेख्ने गरि, नभेट्ने गरि । उफ….

जव मान्छेलाई असह्य वेदनाले ख्वाप्पै निल्छ तव, स्वास सुस्त–सुस्त हुन्छ, आवाज घाँटीमा अड्किन्छ । कोहि मज्जाले हाँसेको देख्दा, टन्न पेटभरि खाएको देख्दा, हिँडेको देख्दा, जे गरेको देख्दा पनि रिस उठेर आउने हुँदोरहेछ । एक्लै वर्वराउछु । अन्यायसी आँखावाट आँसु वहिरहन्छ निरन्तर ।

Art by : Babu Saila

प्रिय साथी तिमी कसरी यस्तो निर्णय लिन सक्यौ ? के भयो र मसँग के कुरा लुकायौ अनि कहिल्यै माफी दिन मिल्ने ठाउँसम्म नराखि सदाको लागि हरायौ, केहि अवशेष पनि वाँकी नराखि बिलायौ । सुधार्नलाई मौका नै नहुने महान गल्ति गर्‍यौ । प्रिय साथी.. तिमी आफैलाई डोरीमा पासो लगाउनुपूर्व केहि सोँच्यौ ? आँखा कम देख्ने, कान पनि कम सुन्ने ति वृद्ध वावाको बारेमा केहि सोँच्यौ ? नियमित औषधि सेवन गरिरहनुपर्ने रोगी आमालाई अलिकति सम्झ्यौ ? अव, ति विरामी आमालाई औषधि कसले किनेर देलान, अलिकति पनि चिन्ता लागेन ? कत्ति खुसि हुनुहुन्थ्यो बावाआमा तिमी विदेश जाँदा, कत्ति धेरै आशा अनि ठूलाठूला सपना बुनेका थिए तिमी धन कमाउन जाँदा !

हेर, एउटामात्र भएको आशाको किरण, त्यो छोरो काठको बाकसमा फर्किदा कसरी सम्हालिन सक्लान अनि वाँकी वेसाहारा जीवन कसरी जीउन सक्लान ? पुरै कपाल फूलेको बावाले जीवनको उत्तराद्र्धमा आफ्नै छोराको जीऊमा कसरी दागबत्ति दिन सक्लान् ?

विचरी ! तिम्रो श्रीमति विवाह गरेको १ वर्ष पनि पुरा भएको छैन् । तिमीसँग सँगै बिताएको त झन जम्मा पुगनपुग १ महिना पनि नहोला । अव, ऊनलाई जिन्दगीभरी विधुवाको ट्याग भिरेर तिम्रो नाममा बाँचिरहन कत्ति गाह्रो होला ? गर्भमा हुर्कदैँ गरेको तिम्रो बच्चा । पछि त्यो बच्चाले आमा ! मेरो बावा खोई भनेर सोध्दा, आमा ! मेरो बावा कहाँ हुनुहुन्छ ? कहाँ जानुभएको छ ? भनेर सोध्दाखेरि ति निर्दोष आमाले के भनेर जवाफ देलान ? के भनेर सम्झाउलान ? केहि सोँचेका थियौ ?

प्रिय साथी तिमीले धेरै ठूलो गल्ति ग-यौ । जत्ति दुःख परेपनि डटेर सामना गर्न सक्नुपथ्र्यो तर तिमी दुःखसँग जुध्न सकेनौ साथी । समस्यासँग डरायौ र आफैसँग हा-यौ, दुनियाँ सँग भिज्न सकेनौ वा पुरै दुनियाँ तिम्रै साथमा छ भन्ने चाल पाएनौ साथी । यस्तो निर्णय वनाउने कुराको कारण एकचोटी पनि मसँग सेयेर गरेनौ वा गर्न चाहेनौ अनि कहिल्यै नभेट्ने गरि कहिल्यै नदेखिने गरि धेरै पर गयौ । यो दुनयाँभन्दा धेरै पर… पुरै दुख, पिडा अनि समस्याको चाङ वृद्ध बावाआमालाई बोकाएर, ति निर्दोष श्रीमति र गर्भमा रहेको बच्चालाई सुम्पिएर सदा–सदाको लागि गयौ साथी । यो दुनियाँभन्दा अलग र भिन्न ठाउँमा गयौ साथी ।

म त अव तिमीलाई कहिल्यै चाहेर पनि देख्न र भेट्न सक्तैन् । यदि तिमी यो मेरो लेख सुन्न वा पढ्न सक्छ्यौ भने म तिमीलाई यो प्रश्न गर्न चाहन्छु ।

तिमी त्यो दुनियाँमा गएकोप्रति कुनै पछुतो वा हिनतावोध त्यस्तो अनुभूति भएको छैन् ? सुख नै सुख मात्र मिल्दो रहेछ हो त्यो दुनियाँमा ? तिमीलाई त्यो दुनियाँमा साँच्चि खुसी नै खुसी मिलेको छ हो ? साँच्चिकै रमाईलो हुन्छ हो त्यो दुनियाँमा ? यी माथीका प्रश्नहरुको जवाफ मैले कहिल्यै पाउन नसकेपनि प्रिय साथी म तिमीलाई सम्झिरहेको छु र सम्झिरहनेछु सधैँभरि । मेरो दिमागको क्यानभासमा तिम्रो तस्विर रक्तिम बनेर बसेको छ । हरपल आईरहने तिम्रो सम्झनाबाहेक अरु तिम्रो भन्नु मसँग के नै बाँकी छ र ? यहाँ कत्ति अभाव भईरहेको छ तिम्रो, मिल्छ भने फर्केर आउन फेरि……..

उहि तिमीलाई सँधै सम्झिरहने साथी । तिम्रो वेस्ट फ्रेन्ड एईडेन ..

म यो विदेशमा फेरि मेरो अर्को वेस्ट फ्रेन्डले आत्महत्याको वाटो नरोजोस् त्यो चाहन्छु । हुनत आत्महत्यासँग जोडिएका अनेकौं कारकहरु छन्, त्यासलाई रोकथामको लागि बहस गरौँ । गैरावारीको रामे अरब गएर महिनाको ३० हजार कमाउँछ रे ।। तल्लो गाऊँको कृष्ण पनि विदेश गएपछि राम्रो कमाई छ रे । यस्तै–यस्तै समाचार बाआमालाई सुनाउने छिमेकी, र त्यहि छिमेकीको कुरा सुन्दा–सुन्दा आफ्नै छोराछोरीलाई विदेश जान कहर गराउने परिवार | जत्ति पढेपनि जागिरको सुनिश्चितता देशमा नहुनु, जागिर पाईहालेपनि घरव्यवहार धान्न धौ–धौ हुनु र विदेश जान वाध्य हुनु ।

नेपाल सरकार, वैदेशिक रोजगारका सम्बन्धित प्रतिनिधि वा रेमिट्यान्सवाट उठेको करको भरमा हालिमुहाली गर्न पल्केकाहरु ! तँपाईहरुलाई थाहा छ, विदेशिएका कत्ति युवाहरु फर्किदाँ बाकसमा हुन्छन । कत्ति युवाहरु अंगभंग भई सपना सदाको लागि विदेशमै तुहाएर फर्किन्छन् ? कहिल्यै समाधान वा न्यूनिकरणको वारेमा चासो राखेका छौ ? बहस गरेका छौ ? होला । म सहमत छु । रेमिट्यान्सवाट उठेको करको भरमा सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउन त पुग्ला.. तर ति नेपाली युवाहरुले विदेशमा कत्ति महल अर्पाटहरु ठड्याईसके ।

कत्ति कम्मनिहरुले आफ्नो नाफा दोब्वर तेब्वर पारिसके । कत्ति देशहरु नयाँ बनाईसके । तर आफ्नो देश सधैँ उस्तै । सँधै पुरानो नै ।
अव, सरकारी प्रतिनीधीहरुको विदेश भ्रमणमा वैदेशिक रोजगारको लागि पहल वा नेपाली कामदारको कोटा वृद्धि यी कुराहरु कहिल्यै मुद्धाको विषय नबनोस् । सदाको लागि वैदेशिक रोजगारको अन्त्य गरि आफ्नै देशमा स्वरोजगारको पहलकदमि लिनु नै सिंगो देश विकास र विदेशमा नेपालीले गर्ने आत्महत्याको दर घटाउनुको दिर्घकालिन उपाय हो ।

प्रिय विदेश जानुभएका अग्रज नेपाली साथीहरु 

तँपाई काम गर्ने कम्पनि वा वसोवास गर्ने ठाउँ वरिपरि कोहि नेपालवाट नयाँ आएका छन भने उप्रति ठूलो माछाले सानो माछालाई आफ्नै आहार सोँचेजसरी ठूलो माछाको व्यवहार कदापी नगरिदिनुहोस् । त्यो नयाँ साथीप्रति कहिल्यै तुच्छ, मन दुख्ने खालको व्यवहार नगरिदिनुहोस् । किनकी विदेशको ठाउँमा उसको आफ्नो र नजिकको भन्नु तँपाईबाहेक कोहि हुँदैन् । जो ब्यक्तिलाई आफ्नो र नजिकको सोँचिएको हुन्छ त्यहि ब्यक्तिवाट हेपिनु, गालि गलौज तथा शोषित हुनु त्यस्तो अवस्था आएमा उसले आफूलाई एक्लो महसुस गरि आत्महत्याको वाटोमा जान वाध्य बनाउन सक्छ । तँपाईको ब्यवहार उसको आत्महत्याको प्रमुख कारक बन्ने दिन नआओस | प्रिय परिवारजन, तँपाईहरु पनि घरमा हुने सबै समस्याहरु सकेसम्म र मिलेसम्म विदेशमा रहने तँपाईको छोराछोरीलाई नसुनाउनुहोला । थाहा छ विदेशमा सानो–सानो कुराले पनि कत्ति मन दुखाउँछ । पिर पार्छ । त्यहि पिर र चिन्ताकै कारण तँपाईको सन्ततिले आत्महत्याके वाटो रोज्न सक्छन् ।

अन्तमा..

तँपाई अहिले यो मेरो लेख पढिरहनु भएको छ भने, कृपया जत्तिसुकै दुःखमा भएपनि दुनियाँ तँपाईकै साथमा रहेको छ, धैर्य गर्नुहोस् । जतिसुकै चरम पिडा र वेदनामा भएपनि जीवन जिएर हेर्नुहोस् । दुःख भएर त जीवन जीउनुको मज्जा छ । सुख त कहिलेकाहीँ मात्र आउने पाहुनामात्र न हो, वाकीँ त दुःख आँसु र पीडामात्रै त हो । तँपाईलाई जत्तिकै पिडा अरु सबैलाई भईरहेको छ । भईरहेको हुन्छ, संघर्ष नै जीवन हो यो भनाईलाई मनन गरौँ । र वाचौँ । यदि प्रेमि प्रेमिकाको कारण आत्महत्याको सोँच पलाएको हो भने खुट्टा भए जुत्ता जत्तिपनि भन्ने कठनलाई मनन गर्नुहोस् तर आत्महत्याको बाटो कहिल्यै नरोज्नुहोस् ।

कुनै त्यस्तो अप्ठ्यारा वा तँपाईलाई गाह्रो महसुस हुने कुराहरु छन् भने साथीभाईसँग सेयेर गर्नुहोस । सेयेर गर्नुभयो भने, जहाँ अप्ठ्याराहरु हुन्छन् त्यहाँ समाधानका उपायहरु प्नि अवश्य हुन्छन् । एकचोटी पाएको जीवन हो वाँचुञ्जेल संघर्ष गरेरै, हरेक दुःखकष्टसँग डटेर वाँचौ । जिन्दगीभरी आँसु नै आँसु उपहार पाएपनि कमसेकम जीवन जिएर हेर्नुहोस् । यो दुनियाँ साँच्चिकै रमाईलो छ । यो लेख पढिसक्नुभएपछि अहिलेवाट नै, म आत्महत्या कहिल्यै गर्दिन् भन्ने कुरालाई दिमाखमा सेभ गरिराख्नुहोस कहिल्यै नहट्ने गरि नमेटिने गरि । आत्महत्यालाई यसरि बहिस्कार गरौँ कि विज्ञविद्धानहरु अंग्रेजी डिक्सनेरिवाट सुसाईड र नेपाली शब्दकोषवाट आत्महत्या भन्ने शब्द नै हटाउन वाध्य बनोस् कहिल्यै प्रयोगमा नआउने भएर ।

से नो टू सुसाईड । ठ्यांक यू । धन्यवाद ।।

तँपाई यो लेख एईडेन छन्त्याल यूट्यूव च्यानलमार्फत सुन्न सक्नुहुनेछ ।

भिडियो

एईडेन छन्त्याल