पाखापानीका जनता भन्छन–‘ गाउँकै नेता राज्यमन्त्री भए, तर गाउँको विकास भएन’ (भिडियो सहित)

  • १९ कार्तिक २०७४, आईतवार
  • 8173 पटक पढिएको

म्याग्दी, १९ कात्तिक । निर्वाचनलाई लक्षित गरि राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ पुग्न थालेका छन् । दलका नेताहरु भोट माग्न गाउँ पुुग्ने क्रम बढेसंगै जनताहरुले समेत नेताहरुलाई संधै आश्वासन मात्रै दिएको भन्दै गुनासो गरेका छन् । रघुगंगा गाउँपालिका–६ ठाडखानीका ९१ बर्षिय रनप्रसाद छन्त्यालले धेरै नेताहरुलाई मतदान गरि बिजयी गराएपनि गाउँको मुहार उस्तै रहेको गुनासो गर्नुभयो । उहाँले बालबालिकालाई सहज रुपमा अध्ययन गर्ने, सामान्य विरामी पर्दा समेत औषधी उपचार नपाउने समस्या विद्यमान रहेकाले गाउँको मुहार फेर्ने नेतालाई यस पटक भोट दिने बताउनुभयो ।

छन्याल जस्तै कोटगाउँका हेमबहादुर पुन पनि राजनीतिक दलहरुले चुनाबमा गर्ने प्रतिबद्धताहरुप्रति सन्तुष्ट छैनन् । साविकको पाखापानी गाउँबाट राप्रपाका भिमप्रसाद गौचन र जगत गौचनले चुनाब जितेर राज्यमन्त्री समेत बनीसकेपनि पाखापानी, रायखोर, कोटगाउँ, ठाडखानी लगायतका क्षेत्र विकास निर्माणमा पछाडी पर्नु दुखत रहेको उहाँले गुनासो गर्नुभयो ।


‘‘ यहाँका जनताले धेरै नेतालाई जिताए, जितेर गएका गाउँकै नेताहरु राज्य मन्त्रीसम्म पनि भए, तर खै यहाँ विकास भएको ? अझै विद्युत, मोटरबाटो लगायतका समस्या उस्तै छन् अब फेरी उनीहरुकै चुनाबी एजेण्डा कसरी पत्याउने, ? पुनले प्रश्न गर्नुभयो । पाखापानीमा अहिले १० कक्षा माथिको पठनपाठन हुने विद्यालयको अभाब छ भने सडकको अबस्था पनि दयनीय छ ।


पाखापानी हुँदै ठाडखानीसम्म पुगेको सडकको अबस्था अत्यन्तै जिर्ण रहेको छ । ठाडखानी, कोटगाउँ, रायखोर लगायतका क्षेत्रमा केन्द्रिय विद्युतको पहुँच अहिलेसम्म पुगेको छैन् । कोटगाउँ रायखोर र ठाडखानीका बालबालिकाहरु घण्टौँ पैदल हिँडेर मावि तहको अध्ययन गर्न पाखापानी आउनुपर्ने बाध्यता छ ।

हिजो गाउँबाट पटक पटक राज्यमन्त्री भएकाहरुले गाउँलाई वेवास्था गर्दा गाउँ विकास निर्माणबाट पछाडी परेको स्थानीय युवा हिमाल विकले बताउनुभयो । गाउँमा जडिबुटी, वन पैदावार लगायतको सम्भावना भएपनि उजागर हुन सकेको छैन् । गाउँका नेताहरु राज्यमन्त्री सम्म पुगेपनि जनताको जनजिविकामा कुनै परिवर्तन नआएकाले यस पटक जनताले बिचार गरेर मात्रै भोट दिने अर्का स्थानीय खड्क पुनले बताउनुभयो ।


राप्रपा र काँग्रेसको तालमेलबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा उम्मेद्वार बनेका पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनको सिंगो म्याग्दी जिल्लाको विकास निर्माणको नेतृत्व गर्छु भन्ने भनाई सार्वजनिक भएपछि उहाँको गृहगाउँ साविकको पाखापानी गाविसका बासिन्दाहरुले उहाँलाई सबैभन्दा पहिला आफ्नो गाउँको विकास गरेर देखाउन चुनौति दिएका हुन् ।
७७ बर्षका गौचनले आफूले चुनाव जितेमा पाँच वर्षभित्र मालढुङ्गा–बेनी सडकलाई चार लेनको बनाउने, सडक नपुगेको ठाउँमा सडक पु¥याउने, वडा कार्यालयसम्मको सडक ग्राभेल गर्ने, घरघरमा खानेपानी, मोवाईल सेवा र निशूल्क ईन्टरनेटको सुबिधा पु¥याउने घोषणा गरिरहेका बेला उहाँको जन्मगाउँका स्थानीयको गुनासाहरुले भने उहाँको योजनालाई गिज्याईरहेको छ ।

गौचनप्रति मात्रै होईन जिल्लाका सबैजससो नेता तथा पार्टीका शिर्षस्थ नेताहरुप्रति जनताको तिब्र गुनासा छन् । अहिले चुनाबी अभियानमा विकास र समृद्धिको योजना लिएर जाने नेताहरुलाई जनताले खाली आश्वासन भन्दा पनि गाउँको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका समस्याहरुको हल गरिदिन आग्रह गरेका छन् । प्रदेश सभा क्षेत्र नम्बर १ मा एमाले र माओवादीको तालमेलबाट माओवादीका युवा नेता ३३ बर्षिय विनोद केसी चुनाबी प्रतिस्पर्धामा रहनुभएको छ । मजदुर हुँदै राजनीतिमा सक्रिय केसीप्रति युवापुस्ताको लोकप्रियता बढेको छ ।