जोमसोमको मोटरेबल पुल उद्घाटन

  • १९ कार्तिक २०७४, आईतवार
  • निरज थकाली
  • 1947 पटक पढिएको

मुस्ताङ, १९ कात्तिक । मुस्ताङको सदरमुकाम जोमसोम स्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटरेबल पुलको आईतबार उद्घाटन गरिएको छ । ४६ मिटर लम्बाई र ७.४ मिटर चौडाई भएको पुलको नेपालका लागि भारतीय राजदुत मञ्जिव सिङ पुरीले उद्घाटन गर्नुभएको हो । भारतीय राजदुतावासको चार करोड १२ लाख रुपैयाको सहयोगमा जिल्ला प्राबिधिक कार्यालय मार्फत पुल निर्माण भएको ईञ्जिनियर सकलदेव शर्माले बताउनुभयो ।

वि.स २०६८ चैत १३ गतेदेखि निर्माण सुरु भएको मोटरेबल पुल निर्माण कार्य गत बैशाखमा सकिएको थियो । मोटरेबल पुल निर्माण भएपछि स्थानीयबासीका साथै मुक्तिनाथ तिर्थयात्रा र उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकहरुलाई सहज भएको छ ।
मोटरेबल पुल उद्घाटनपछि आयोजित कार्यक्रममा राजदुत पुरीले भारतले मुस्ताङको विकासमा सघाउन ईच्छुक रहेको बताउनुभयो । मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर विश्वमै प्रसिद्ध रहेको भन्दै यसलाई थप विकास गरी धार्मीक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

भारतीय दुतावासको सहयोगमा मुस्ताङमा विद्यालय भवन, गुम्बा, धर्मशालाहरु निर्माण भएका छन् ।

निरज थकाली