गाउँपालिकाको केन्द्र माग गर्दै बेनी–जोमसोम सडक अबरुद्ध

  • १९ फाल्गुन २०७३, बिहीबार
  • धिरन खत्री
  • 5364 पटक पढिएको

11

म्याग्दी, १९ फागुन ।म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै स्थानीय आन्दोलित बनेका छन् । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले ठुलो जनसंख्यालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र भुगोलको आधारमा नभई अन्य तरिकाबाट अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा बेनी– जोमसोम सडक अवरद्ध गरेका छन् । । रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितीले आज सडकमा चक्काजाम, बेनीमा दबाबमुलक पदर्शन लगायतका दबाबमुलक आन्दोलन थालेका छन् ।

उनीहरुले गाउँपालिकामा समेटिएको पिप्ले गलेश्वरमा सवारी साधन आगमनमा रोक लगाउँदा बेनी–जोमसोम सडकखण्डका सवारी साधन आवत जावत गर्न सकेका छैनन् । उनीहरुले पिप्लेतर्फको गलेश्वर स्थित रघुगंगा खोलाको पुलमा धर्ना सहित अनिश्चितकालिन यातायात बन्द गराएका छन् । व्यवहारिक रुपमा गाउँपालिकाको केन्द्र तोक्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय र जिल्ला विकास समितिमा समेत तालाबन्दि गरिएको संघर्ष समितिका बालकृष्ण सुवेदीले बताउनुभयो ।

22

पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसका प्रतिनिधिहरु सम्मिलीत टोलिले गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै विरोध स्वरुप बुधवार दुई कार्यालयमा तालाबन्दि गरेका थिए । उनीहरुले निर्वाचन कार्यालय र जिविसमा तालाबन्दि पछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई समेत आफ्नो आन्दोलनका कार्यक्रमबारे ध्यानकर्षण गराएका छन् ।

सरोकार समितिले उठाएको आन्दोलनमा जिल्लामा क्रियाशिल राजनितीक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेताहरुले समेत एक्यबद्धता जनाएका छन् । गाउँपालिकामा समावेश भएका गाविसहरुको प्रशासनिक सुगमता र भौगोलिक बनावटका साथै बस्ती विस्तारको सम्भाबनाले मौवाफाँटलाई केन्द्र बनाउन पटक पटक सम्बन्धित निकायमा ध्यानकर्षण गराएपनि सुनुवाई नभएपछि चरणबद्ध संघर्षका कार्यक्रम सहित आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिका विनोद केसीले बताउनुभयो ।

उहाँले मौवाफाँटलाई केन्द्र बनाउन चिमखोला, दग्नाम, पिप्ले, भगवती र बेगखोला गाविसबासी सहमत भएको अबस्थामा समेत आयोग र सरकारले बहुसंख्यक जनातालाई शास्ती हुने गरि निर्णय गर्नु गैरजिम्मेबारपन भएको भन्दै निर्णय नसच्याएसम्म कडा आन्दोलन हुने बताउनुभयो । संघर्ष समितिले यस अघि जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थित क्रियाशिल राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाईसकेको छ भने मन्त्रालय र प्रधानमन्त्रीको समेत ध्यानकर्षण गरिसकेको छ ।

जायज मागहरु सम्बोधन नभएकाले चरणबन्द आन्दोलनमा उत्रियका स्थानीयले आफ्ना मागलाई बेवास्ता गरि यथास्थितीमा आगामी निर्वाचन गर्न खोजीयमा त्यसको शसक्त प्रतिवाद गर्दै आम नागरिकबाट निर्वाचन बहिस्कार तथा अबज्ञा गर्ने निर्णय गरेको संघर्ष समितिका केवि भण्डारीले बताउनुभयो । प्रस्तावित रघुगंगा गाउँपालिकामा समावेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गरि बहुमत ८० प्रतिशत भन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने पाँच गाविसहरुले समेत मौवाफाँट केन्द्र बनाउनु उपयुक्तहुने भन्दै लिखित सहमती गरि सिफारिस गरिसकिएको अबस्थामा आयोगले प्रस्तावित गाउँपालिकाको बहुसंख्यक जनताको भावना विपपरित केन्द्र तोकेका हुँदा आन्दोलन गर्नुपरेको उहाँको भनाई छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l