पात्लेखेत र घतानमा बाम गठबन्धनको कार्यकर्ता भेटघाट

  • १९ कार्तिक २०७४, आईतवार
  • 4183 पटक पढिएको

म्याग्दी, १९ कात्तिक । बेनी नगरपालीका ९ घतान र १० पात्लेखेतमा नेकपा एमाले र माओवादी केन्द्रको चुनाव प्रचार अभियान अन्तरगत आईतबार कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट क्षेत्र (क)मा माओवादीका उमेद्वार बिनोद केसी सहितको एमाले र माओवादीका जिल्ला स्तरीय नेताहरुको टोलीले स्थानीय कार्यकर्ता र मतदातासंघ भेटघाट गरेको हो ।

उमेद्वार केसीले समग्र म्याग्देली युवाहरुको निती निर्माण तहमा उपस्थिती जनाउने उद्देश्य सहित आफू चुनावी मैदानमा उत्रिएको बताउनुभयो । उहाँले म्याग्दीको जलस्रोत, जंगल, जडिवुटी, पर्यटन र कृषि क्षेत्रको विकास मार्फत रोजगारी सिर्जना गरी युवाहरुलाई बिदेशीनुपर्ने बाध्यता कम गर्ने वातावरण बनाउने मुख्य चुनावी एजेण्डा भएको बताउनुभयो ।

सडक, खानेपानी, भवन लगायत पूर्वाधार निर्माणसंगै जनताको जिवनस्तर सुधार र सार्वजनीक सेवा प्रवाहमा सहजता ल्याउन प्राथमिकता दिने बताउनुभयो । कार्यक्रममा एमालेका सचिवालय सदस्य सन्तोष रावल र प्रमोद श्रेष्ठले राजनितिक अस्थिरताका कारण म्याग्दीको विकास हुन नसकेको भन्दै राजनितिक स्थिाईत्व कायम गरि विकास र सम्बृद्धीको अभियानलाई अघि बढाउन बाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष शेरबहादुर केसी र नेता सुवास बिकले अहिलेको चुनाव गणतन्त्र संस्थागत, संबिधानको कार्यान्वयन गर्न चाहने र राजतन्त्र तथा देशलाई पुरानै अवस्थामा फर्काउन चाहने शक्तिबिचको लडाई भएकाले जनताले अग्रगमनको पक्ष लिनुपर्ने बताउनुभयो ।

म्याग्दीका बामपन्थी अगुवा सुवास श्रेष्ठले नेपाली जनताको चाहना, भावना र देशको आवश्यकता अनुसार प्रमुख राजनितिक शक्तिबिच चुनावी तालमेल र पार्टी एकताको घोषणा भएकोमा जनताहरु उत्साहीत र देशमा बामपन्थीको नेतृत्व भएको हेर्न आतुर रहेको बताउनुभयो । अनेरास्ववीयुका केन्द्रिय सदस्य सुदिन पौडेलको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रम पछि पात्लेखेतमा कृष्णबहादुर मल्ल संयोजक, मुक्त रोका र केशबहादुर बस्याल सहसंयोजक रहनुभएको १०५ सदस्यीय संयुक्त चुनाव प्रचारप्रसार समिति गठन भएको छ ।

यसैगरी घतानमा एमालेका वडा कमिटि अध्यक्ष रुद्र रेग्मीको अध्यक्षता र वडा अध्यक्ष बेलबहादुर कटुवालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । घतानमा रुद्र रेग्मी संयोजक र झलक विश्वकर्मा सहसंयोजक रहनुभएको २०१ सदस्यीय संयुक्त चुनाव प्रचारप्रसार समिति गठन भएको छ ।