बेगखोलामा अन्र्तराष्ट्रिय मापदण्डको खेलकुद मैदान बनाउने अभियान

  • १९ कार्तिक २०७४, आईतवार
  • 5476 पटक पढिएको

म्याग्दी, १९ कात्तिक । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको बेगखोला युवा क्लबले गाउँमै अन्र्तराष्ट्रिय मापदण्डको खेलकुद मैदान बनाउने अभियान सुरु गरेको छ । गत बर्ष रु १४ लाख रुपैयाँ विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरि खेलकुद मैदान ढलान गरेको क्लबले यो बर्ष खेलमैदान नजीकै प्याराफिट र स्टेज निर्माण गर्ने अभियान थालेको हो ।


गाउँमै अन्र्तराष्ट्रिय मापदण्डको सुविधायुक्त खेलमैदान तयार गर्ने लक्ष्य सहित यो बर्ष स्टेज र प्याराफिट निर्माणको लागि आर्थिक संकलन गर्न थालिएको पूर्वाधार निर्माण समितिका अध्यक्ष एवम् निर्वाचित वडा सदस्य तिलक कुमार तिलिजाले बताउनुभयो । उहाँले अहिले स्टेजको पूर्वाधार निर्माण कार्य भईरहेको समेत बताउनुभयो ।

‘‘ खेलमैदान ढलान गर्नका लागि पनि प्रवासी बेगखोलावासीले सबै सहयोग जुटाउनुभएको हो, त्यो योजनामा सरकारी तवरबाट कुनै लगानी भएको छैन्, अहिले स्टेज र प्याराफिट निर्माणको लागि पनि सहयोग गर्न सम्पूर्ण बेगखोलाबासीमा अपिल गरेका छौँ,’’– तिलिजाले भन्नुभयो । उहाँका अनुसार, खेलमैदानको स्तरोन्नतीको लागि रघुगंगा गाउँपालिका कार्यालयले यस बर्ष रु ३ लाख बजेट विनियोजन गरेपनि सो बजेट प्रयाप्त नभएकाले आर्थिक सहयोग संकलन अभियान थालिएको हो ।

उक्त व्यवस्थित खेलमैदानको पूर्वाधार निर्माण पश्चात गाउँमा युवायुवतिहरुलाई दैनिक खेल अभ्यास तथा मेला महोत्सव सञ्चालन गर्न सहयोग पुग्नेछ । त्यस्तै अहिले गाउँमा हुने विभिन्न सार्वजनिक सभा, समारोह तथा कार्यक्रमहरु सञ्चालनको लागि व्यवस्थित ठाउँको अभाब रहेकाले क्लबको अगुवाईमा निर्माण हुन लागेको स्टेज र प्याराफिट सहितको खेलमैदानले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

निर्माणधिन खेलमैदानको पूर्वाधार निर्माण समयमै सम्पन्न भएमा निकट भविश्यमा निर्माण सम्पन्न हुने नेपालकै लामो बेगखोला–बाँदुक झोलुङ्गे पुलको उद्घाटन, श्री महादेव माविको स्वर्ण जयन्ती महोत्सव–२०७५ लगायतका कार्यक्रमहरु समेत सञ्चालनमा सहयोग पुग्ने वडा सदस्य तिलिजाले बताउनुभयो ।