मुस्ताङमा अत्यधिक चिसो, उच्च स्थानमा हिउँ पर्न शुरु

  • १५ कार्तिक २०७४, बुधबार
  • 2439 पटक पढिएको

काठमाडौं, १४ कात्तिक ।मौसम फेरबदल भएपछि मुस्ताङमा केही दिन देखि अत्यधिक चिसो बढेको छ । यहाँका उच्च स्थानमा आइतबार देखि नै हिउँ पर्न थालेको छ । सदरमुकाम जोमसोम र आसपास क्षेत्रका गाउँहरुमा चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चुनावी माहोलसंगै एक्कासी बढेको चिसोले प्रचारमा अवरोध पारेको दलका नेताहरुले बताएकबा छन् ।

खासगरी, उपल्लो मुस्ताङ र उत्तर–दक्षिणका उच्च भुभागमा हिमपात भएको छ । केही दिन देखिको जाडोका कारण खेतीपाती गर्न र ह्डिंडुल गर्न समेत समस्या भएको स्थानीयको धनाई छ । चिसो सहन नसकेपछि उपल्लो मुस्ताङका बासिन्दा तल जोमसोम मार्फातिर आफन्त कहाँ शरण लिन आएका छन् । कतिपय स्थानीय मंसिर १० गतेको चुनावमा भोट हाल्न फर्कने गरी पोखरा लगायतका ठाउँहरुमा पुगिसकेका छन् ।

मौसमकै कारण दलहरुले चुनाव प्रचारलाइै तीव्रता दिन सकेका छैनन् । दुई दिनदेखि चुनाव प्रचारमा हिंड्न नसकिएको दलहरुका प्रतिनिधिले बताए । उपल्लो मुस्ताङका गाउँमा चुनाव प्रचारप्रसार रोकिएको छ । स्थानीयहरु जाडोबाट बच्न घर छोडेर तलतिर झर्न थालेका छन् । चिसो निकै बढेकोले दैनिक जीवनयापनमा समस्या परेको छोन्हुप गाउँका समाजसेवी कर्मा सन्तुक गुरुङले जानकारी दिए । टाढा अग्ला डांडामा हिउँ देखिन थाल्यो, उनले भने, केही दिन भित्रै छोन्हुप, छोसेर, लोमान्थाङ गाउँहरुमा हिउँ पर्न सक्ने उनले अनुमान लगाए । जाडो बढेका कारण मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीमा निकै कमी आएको छ ।

एक सातादेखि दर्शनार्थीको चाप निकै घटेको स्थानीयले बताए । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमा निकै कमी देखिएको पर्यटन ब्यवसायीहरु बताउँछन् । चिसोकै कारण पर्यटक आउन ठप्प जस्तै भएको मुक्तिनाथका पर्यटन ब्यवसायी सुरज गुरुङले जानकारी दिए । अत्यधिक बढेको चिसो र आकाश बादलले ढाकेकोले जोमसोम–पोखरा हवाई उडान प्रभावित भएको छ । मंगलबार आज निकै कठिनपुर्वक एउटा मात्र उडान भएको छ । सोमबार खराब मौसम र बादल लागेकोले कुनै पनि उडान हुन नसकेको जोमसोम बिमानस्थलका प्रमुख बिष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

अहिले सदरमुकाम जोमसोमको न्युनतम तापक्रम १ डिग्री सेन्टिग्रेडमा झरिसकेको छ । निलगिरी हिमालको आधार शिविर, धबलागिरी हिमालको आसपास, थोराङलापास क्षेत्र लगायतका उच्च भुभागमा परेको हिउँले तल्लो मुस्ताङ क्षेत्रमा निकै जाडो बढाएको छ । जाडोकै कारण जनजीवन निकै प्रभावित हुन पुगेको छ । हिउँ पर्न थालेपछि कृषकले लेकमा राखिएका भेडी र याकका गोठलाई तलतिर सार्ने काम थालेका छन् । गर्मी शुरु हुने बित्तिकै गोठहरु माथि लेकमै सारिन्छन् ।

-कान्तिपुर