क्यान्सर मृत्युको पर्यावाची होइन

  • १० कार्तिक २०७४, शुक्रबार
  • 2387 पटक पढिएको

काठमाडौं । क्यान्सर रोगको नाम सुनेपछि धेरै झसंग हुन्छन् । कोही व्यक्तिलाई क्यान्सर लागेको छ भनेर चिकित्सकले भनेमा उसले सोच्छ अब मेरो मृत्युको दिन नजिक आयो । परिवार र समाजका अन्य व्यक्तिले पनि यही ठान्छन् । गत असारदेखि क्यान्सरको उपचार गराइरहेकी भरतपुर–१२ की ४३ वर्षीया सीता श्रेष्ठको मनमा पनि यस्तै कुरा खेलिरहन्थ्यो ।

तर, शनिबार दिउँसो भरतपुरममा आयोजित एउटा कार्यक्रममा दुई घण्टा बसेपछि उनको सोच बदलियो । ‘हैन यो पनि अरु रोग जस्तै उपचारपछि निको भइहाल्ने रहेछ । क्यान्सर लागेकाहरु पनि उपचार गरेर बाँचेकै रहेछन्,’ सीताले हर्षित हुँदै सुनाइन् । अक्टोबर महिनालाई विश्वभर स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने चलन छ । शनिबार दिउँसो श्रेष्ठ त्यही सम्बन्धि एउटा कार्यक्रममा सहभागी भएकी थिइन् ।

कार्यक्रममा स्तन क्यान्सर भएको पत्ता लागेपछि उपचार गरेर निको भएका र हाल सामान्य जीवन बिताइरहेका पाँचजना महिलाले आफ्नो अनुभव राखेका थिए । त्यो अनुभव सुनेपछि श्रेष्ठको हौसला बढेको हो । ‘क्यान्सर भएपछि केही समयलाई पीडा नहुने होइन । तर म केमियोथेरापी दिँदा पनि अस्पतालको बेडमा बसेर एसएमएसमार्फत अफिसको काम गरेकी हुन्थे,’ स्तन क्यान्सर भएर उपचार गरी निको भएकी वन्दना खाँडले भनिन् ।

पेशाले स्वास्थ्यकर्मीसमेत रहेकी पञ्चु लामालाई २०६१ सालमा स्तन क्यान्सर भएको पत्ता लाग्यो । उपचार सुरु भएपछि केमो थेरापी दिँदा उनको तौल ४० किलोसम्म भयो । १७ दिनसम्म पानी पनि राम्रोसँग खान सकिनन् । तर उपचार पूरा भएपछि उनको रोग बल्झेन । उनी अहिले सामान्य दिनचर्यामा छिन् । किमो दिँदा उनलाई देखेका सामान्य मान्छे मात्रै होइन नर्सहरू समेत अहिले भेट हुँदा छक्कै पर्छन् ।

स्तन क्यान्सर भएपछि प्रतीमा कोइरालाले पनि उपचार पूरा गरिन् । उपचार पूरा भएको आठ वर्ष भयो । उपचारपछि नै उनले सन्तान पनि जन्माइन् । जागिर पनि खाएकी छन् । ‘क्यान्सर भएपछि मरिहालिन्छ, उपचार गरेर धन सम्पत्ति मात्रै सक्ने हो भन्छन् । तर उपचारपछि क्यान्सर निको हुन्छ । यो रोगलाई मृत्युको पर्यावाची नबनाउन म आग्रह गर्छु,’ प्रतीमाले अपिल गरिन् ।

नवलपरासी बर्दघाटकी कल्पना ढुंगनाले पनि स्तन क्यान्सरको उपचार सकिएपछि अहिले घरको पूरा काम आफैंले गर्न सक्ने भएको बताइन् । ‘रोग लाग्यो भनेर मन सानो गराउनु भएन । रोग लागेको समयमै पत्ता लगाएर उपचार चाँडै उपचार सुरु भएपछि रोग निको हुन्छ,’ कल्पनाले भनिन् । घर परिवार र समाजको उचित व्यवहार पाएमा आत्मबल बढ्ने र रोग चाँडै निको हुने उनले अनुभव सुनाइन् ।

स्तन क्यान्सर उपचारपछि स्वस्थ भएकी भरतपुरकै टीका न्यौपानेले स्कुलका छात्रालाई यो रोगको लक्षण र उपचार विधिबारे जानकारी दिन उचित हुने धारणा राखिन् । सबैका कुरा सुनिरहेकी सीता श्रेष्ठले भनिन्, ‘यस्ता कुरा सुन्न पाएर ढुक्क भइयो । नभए मानिसहरू लौ क्यान्सर भएछ छोरा छोरीको चाँडै बिहे गरेर उम्कनु प¥यो भन्दै अत्याउन आउँछन् ।’

क्यान्सर रोगको उपचार हुने नेपालको प्रमुख अस्पताल भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपकार्यकारी निर्देशक डा. निर्मल लामिछानेले उपचारका साथै समाजको सद्भावले बिरामी निको हुने बताए । ‘यो रोग निको हुन्छ भनेर हामीले पनि भन्छौं तर जो निको भएर आफ्ना कुरा राख्नुहुन्छ हो तपाईं जस्ताले एक चोटी भन्नु हामीले सय चोटी भने बराबर हुन्छ,’ डा.लामिछानेले भने ।

विस २०७२ सालको भदौमा स्तन क्यान्सर भएपछि उपचार गरेर निको भएकी वन्दना खाँडले परिचय नामक संस्था खोलेर क्यान्सर विरोधी अभियान सञ्चालन गर्दै आएकी छन् । शनिबार परिचय संस्थाले नै कार्यक्रम आयोजना गरेको थियो ।

उपचारको क्षेत्रमा क्रियाशिल व्यक्तिले दिएको जानकारीलाई आधार मान्दा स्तन क्यान्सर नेपालका प्रमुख क्यान्सर रोग मध्येमा पर्छ । तर उपचार सोचे जस्तो जटिल र महँगो भने छैन । सस्तोमा देशभित्रै उपचार हुन सक्ने रोग हो स्तन क्यान्सर ।

चितवनको भरतपुरमा रहेको बीपी कोइरला मेमोरियल क्यानसर अस्पताल क्यान्सरको उपचार हुने देशको मुख्य अस्पताल हो । सो अस्पतालमा उपचारका साथै क्यान्सरका सम्बन्धमा अनुसन्धान र रोकथामका कार्यक्रम पनि हुन्छ । अस्पतालभित्रै क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग रहेको छ । सो विभागले देशका मुख्य १२ वटा अस्पतालमा रहेका क्यान्सरका बिरामीको समेत विवरण राख्ने गरेको छ ।

भरतपुरको अस्पतालको मात्रै नभएर अरु अस्पतालको अवस्था हेर्दा पनि स्तन क्यान्सर हुने बिरामीको संख्या वर्सेनि बढ्दै गएको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका पूर्व प्रमुख किशोरकुमार प्रधानांगले जानकारी दिए ।

एक दशकमा ४ हजार भन्दा बढीलाई स्तन क्यान्सर

भरतपुरको क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुशन्धान विभागले सन् २००३ देखि सन् २०१२ सम्म निकालेको तथ्यांक अनुसार देशभरका सात अस्पतालमा यो अवधिमा क्यान्सर उपचारका लागि आउने बिरामीको संख्या चार हजार सात सय २९ रहेको छ ।
यो संख्या भरतपुर क्यान्सर अस्पतालसहित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंको वीर अस्पताल, महाराजगंजको त्रिवि शिक्षण अस्पताल, कान्ति बालअस्पताल र पोखराको मणिपाल शिक्षण अस्पतालमा समेत उपचार गराउन आएका बिरामीको पनि हो । अहिले थप पाँचसहित १२ अस्पतालको तथ्यांक राख्न थालिएको छ ।

सन् २००३ मा सातवटै अस्पतालमा गरी स्तनक्यान्सर हुने बिरामी दुई सय ८४ जना थिए । त्यसपछि क्रमशः बढ्दो अवस्थामा नै रहेको बिरामीको संख्या सन् २०१२ मा छ सय ६२ पुगेको थियो । एक दशकमा क्यान्सरका कुल ५६ हजार १३ बिरामी फेला पर्दा स्तन क्यानसर हुने मात्रै आठ दशमलब चार प्रतिशत अर्थात् चार हजार सात सय २९ पुगे ।

सन् २०१४ मा स्तन क्यान्सर भएर उपचारका लागि देशको मुख्य अस्पताल पुगेका बिरामीको संख्या आठ ४८ रहेको छ । माथिका पुराना सातसहित थप पाँचवटा नयाँ अस्पताल वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, परोपकार अस्पताल र नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका बिरामीको समेत संख्या यसमा जोडिएको छ ।

सन् २०१४ मा कुल १२ अस्पतालमा उपचारका लागि नांै हजार ३६ जना क्यान्सर रोगी पुगेका थिए । स्तन क्यान्सरका बिरामीको प्रतिशत नांै दशमल ३८ रहेको प्रधानांगले जानकारी दिए । सन् २०१५ मा भरतपुर क्यान्सर अस्पतालमा मात्रै उपचार गराएका स्तन क्यान्सरको बिरामीको संख्या चार सय १४ थियो । कुल क्यान्सरका बिरामीमध्ये यो संख्या नौं प्रतिशत रहेको उनले बताए ।

पत्ता लगाउन सजिलो, उपचार पनि सहज

आमा, दिदी, बिहिनी, छोरी वा नजिकको नातेदारमा स्तन क्यान्सर देखिएको छ भने त्यस्ता व्यक्तिलाई स्तनक्यान्सर हुने सम्भावना बढी हुन्छ । ३० वर्षपछि बच्चा जन्माउने महिला, बच्चा नजन्माएका महिला, स्तनपान नगराउने महिला, स्तनमा पहिलादेखि नै गाँठागुँठी वा पुराना समस्या भएका तथा एउटा स्तनमा क्यान्सर भएका महिलालाई पनि अर्को स्तनमा क्यान्सर हुने खतरा प्रवल रहने डा. विश्वराम पौडेलले बताए ।
यस्तो अवस्था रहेका महिला विषेश सर्तक रहनु पर्ने हुन्छ । स्तनमा गिर्खा फेला पर्नु, आकार परिवर्तन हुनु, रगत वा पीप मिसिएको दूध निस्कनु, स्तनको छालाको रंग सुन्तालाको सुकेको बोक्रा झै हुनु, स्तनको मुन्टो गाडिनु, स्तनमा आएको घाउ लामो समयसम्म निको नहुनु भनेको स्तन क्यान्सरका लक्षण भएको डा.पौडेलले बताए ।

‘सुरुकै अवस्थामा उपचारका लागि आए स्तन क्यान्सर मात्रै होइन सबै क्यान्सर पूर्ण निको हुने गर्छ । तर हामीकोमा दोस्रो वा तेस्रो अवस्थामा पुगेपछि मात्रै उपचार गराउन आउने धेरै छन्,’ डा.पौडेलले भने । आफ्नो स्तनको आफंैले परीक्षण गरेर पनि क्यान्सरको सम्भावनालाई बेलैमा पत्ता लगाउन सकिन्छ ।

डा. पौडेलका अनुसार महिनावारी भएको सात दिनपछि महिलाले स्तन हेरेर र छामेर स्थनमा भएको गिर्खा र परिवर्तनका बारेमा थाहा पाइराखे रोग पत्ता लगाउन सहज हुन्छ । गिर्खा भेटेमा वा स्तनको रंग र अवस्था अस्वभाविक रूपमा परिवर्तन भएमा स्वास्थ्य संस्थामा जानु पर्ने हुन्छ ।

क्यान्सर उपचारमा संलग्न डा. विश्वराम पौडेलका अनुसार यो रोगले ४० वर्षभन्दा माथि ५०÷५५ उमेरसम्मका व्यक्तिलाई बढी सताएको छ । सो अस्पतालमा सन् २०१५ मा उपचार गराउन आएका बिरामीको तथ्यांक हेर्दा १९ वर्षभन्दा कम र ९० वर्षभन्दा बढीका उपचारका लागि आउनेमा एकजना पनि छैनन् ।

पुरुषलाई पनि स्तन क्यानसर

स्तन क्यान्सर महिलालाई मात्रै नभइ पुरुषलाई पनि हुन्छ । महिलालाई जस्तै देखिने लक्षण पुरुषलाई पनि देखा पर्छन् । पुरुषको काखीमा गिर्खा देखिएमा पनि स्तन क्यानसरको सम्भावना रहन्छ । त्यसैले महिला मात्रै नभई पुरुष पनि यो विषयमा सजग हुनु पर्ने डा. विश्वराम पौडेलले बताए । ‘पुरुष पनि ज्यादै नै दुख्यो भन्दै छटपटिँदै आउँछन् । उनीहरूलाई स्तन क्यान्सर भइसकेको हुन्छ,’ पौडेलले भने ।

बीपी कोइरला मेमोरियल क्यानसर अस्पतालमा सन् २०१५ मा स्तन क्यान्सर भएकामध्ये दुई सय ९९ जनाको शल्यक्रिया भएको थियो । यीमध्ये चारजना पुरुष रहेको डा. पौडेलले जानकारी दिए । सो अस्पतालको स्तन क्यान्सर युनिटको बहिरंग विभागमा परीक्षणका लागि आठ हजार दुई सय ८२ जना आएका थिए । तीमध्ये एक ९८ जना पुरुष थिए ।

-नागरिक