विन्डोज फोनको अवसान

  • १० कार्तिक २०७४, शुक्रबार
  • 2373 पटक पढिएको


माइक्रोसफ्टले आफ्नो विन्डोज फोनको उत्पादन बन्द गर्ने संकेत गरेको छ । विन्डोज फोनको इतिहास अहिलेजस्तो निराश भने थिएन । तर, बजारमा उसको उपस्थिति किन जम्न सकेन ?

कार्तिक ३, २०७४-पछिल्ला केही वर्षदेखिको आशंकालाई सही सावित गर्दै माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टमसहितको विन्डोज फोन उत्पादन बन्द गर्ने संकेत दिएको छ । न्यून ग्राहक संख्या र प्रयोगकर्ताको कम रुचिका कारण बजारमा उसको उपस्थिति ज्यादै कमजोर बनेको थियो । तीन साताअघि माइक्रोसफ्टको विन्डोज टेन डिभिजन प्रमुख जोय बेल्फियरले विन्डोज फोनको उत्पादन बन्द हुने जानकारी ट्वीटरमार्फत गराएका थिए । उनले फोन प्रयोग गर्नेहरूको लागि सेक्युरिटीलगायतका अपडेट जारी राख्ने भए पनि कम्पनीको ध्यान अब विन्डोज फोनमा नभएको बताएका थिए ।

अघिल्लो महिनाको मोबाइल बजारको तथ्यांकअनुसार विन्डोज फोनको बजारमा हिस्सा विश्व बजारमा एक प्रतिशतभन्दा कम छ । बेल्फियरले पनि उत्पादन बन्द गर्ने कम्पनीको योजनालाई यही कारण दिएका छन् । उनले भनेका छन्– हामीले धेरै लगानी गर्‍यौं तर यसका प्रयोगकर्ता यति थोरै छन् कि यसमा लगानी गर्न कुनै कम्पनी चाहँदैन । यद्यपि यसको औपचारिक घोषणा माइक्रोसफ्टले गरिसकेको छैन ।

बजारमा आधिपत्य घटेर बन्द गर्ने अवस्थामा आइपुगे पनि विन्डोज फोनको इतिहास त्यति झुर छैन् जति अहिलेको अवस्था हेर्दा लाग्छ । सन् २००७ मा आइफोन सार्वजनिक भएपछि पहिचानको संकटमा परेका अन्य स्मार्टफोन कम्पनीमाझ माइक्रोसफ्टको विन्डोज फोनले त्राण भरेको थियो । भनौं, यसले प्रयोगकर्तालाई आइफोनको विकल्प दिएको थियो । तर, त्यसपछिको बजार भने उसको नियन्त्रणमा रहेन ।

सन् २०१० मा माइक्रोसफ्टले रिलिज गरेको विन्डोज अपरेटिङ सिस्टममा आधारित विन्डोज सेभेन फोन डिजाइन र पर्फमेन्सको हिसाबले अब्बलमध्येमा थियो र यसले स्मार्टफोन बजारमा आफ्नै पहिचान पनि बनाएको थियो । माइक्रोसफ्टले आफ्नो विन्डोज फोनमा डेस्कटप कम्प्युटरमा पाइने सुविधा दिएर प्रयोगकर्ता आकर्षित गर्ने उपाय खोजेको थियो । त्यो बेला यसलाई एप्पलको डिजाइन चोरी गरेको आरोप लाग्ने सामसुङभन्दा अब्बल मानिएको थियो ।

दुई वर्षपछि उसले विन्डोज एट फोन सार्वजनिक गर्‍यो र सन् २०१५ मा उसले विन्डोज फोन सार्वजनिक गर्दै कम्प्युटर र स्मार्टफोनमा एउटै अपरेटिङ सिस्टम राख्ने अवधारणा अघि सार्‍यो तर विडम्बना उसको यो अवधारणाले प्रयोगकर्तालाई आकर्षित गर्न सकेन र उसको बजार हिस्सा खस्कँदो अवस्थामा पुगिसकेको थियो । ब्याट्री, हार्डवेयर, क्यामेरा र केही फिचरमा अरूभन्दा फरक गर्न खोजे पनि विन्डोज फोनले यसको क्रेडिट पाएन । उसका यी साना–साना सफलता अहिलेको एकमुस्ट असफलताबीचमा बिलाएका छन् ।

उसले आफ्नो सफल ब्रान्ड स्काइप र माइक्रोसफ्टलाई मोबाइलमा जोडेर सहज बनाउन खोजेको थियो भने माइक्रोसफ्ट एज वेब ब्राउजरलाई प्रयोगकर्ताले रुचाउने गरी तयार पारेको थियो । सन् २०१५ मा एन्ड्रोइड र आईओएस डिभाइसले स्मार्टफोन बजारको ९६ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका बेला विन्डोज फोनको हिस्सा साढे दुई प्रतिशत थियो तर अहिले त्यो एक प्रतिशतभन्दा तल पुगेको छ ।

विश्लेषकहरूको मान्यता छ– विन्डोज फोनले कम प्रयोगकर्ता आकर्षित गर्नुमा उसको गुगलसँगको विवाद पनि प्रमुख कारण हो किनकी गुगलसँगको विवादकै कारण विन्डोज फोनले युट्युबलाई आफ्नो स्मार्टफोनमा राम्ररी प्रयोग गर्न पाएन र सन् २०१३ मा गुगलले विन्डोज फोनमा आफ्नो म्याप सर्भिस गुगल म्याप नचल्ने बनाइदिएको थियो ।

त्यो त्यस्तो बेला थियो जुन बेला गुगल स्वामित्वको म्याप र युट्युब दुवैको लोकप्रियता चुलिँदै गएको थियो । माइक्रोसफ्टले सर्च इन्जिनको रूपमा समेत आफ्नै बिङलाई प्रयोग गरेको थियो तर प्रयोगकर्ताले भने गुगल सर्च इन्जिनलाई रुचाइरहेका थिए ।

यी साना कुरा हुन् तर यस्तै सामान्य कुरा पनि प्रयोगकर्ताको ध्यान मोड्न भूमिका खेलिरहेका हुन्छन् । सायद, यसैलाई मध्यनगर गरेर अपरेटिङ सिस्टम आफ्नै भए पनि एप्पलले आफ्नो आईओएस डिभाइसमा गुगलका लोकप्रिय सबै प्रडक्लाई स्विकारेको छ ।

यता, गुगलले आफ्नो प्ले स्टोर र एप्पलले

आफ्नो एप स्टोरमा धेरैभन्दा धेरै डेभलपरलाई एप निर्माणका लागि प्रोत्साहित गरिरहे पनि माइक्रोसफ्टले आफ्नो विन्डोज फोन स्टोरमा थर्ड पार्टी एप डेभलपरलाई आकर्षित गर्न सकेन जति उसका प्रतिस्पर्धीले गरिरहेका थिए ।

सन् २००० देखि नै स्मार्टफोन बजारमा चासो राखेको माइक्रोसफ्टले आफ्नो आधिपत्य स्थापित गर्न अन्य प्रयास नगरेको पनि होइन । उसले सन् २०१३ मा नोकियाको मोबाइल युनिट र यसको ब्रान्डको अधिकार किन्ने घोषणा गरेको थियो र अर्को वर्षदेखि उसले नोकियाको फोनलाई

आफ्नो ब्रान्डमा सार्वजनिक गर्न सुरु पनि गर्‍यो । तर, कुनै समय स्मार्टफोन बजारको नम्बर एक कम्पनीको ब्रान्ड लिएर पनि स्मार्टफोन बजारमा माइक्रोसफ्टले कुनै कमाल गर्न सकेन ।

बरु, ५ अर्ब डलर खर्चेर किनेको मोबाइल युनिट र ब्रान्ड राइट उसले १८ महिनापछि बिक्री गर्ने निधो गर्‍यो । नोकियाको ब्रान्ड राइट उसले अघिल्लो वर्ष ३५० मिलियन डलरमा फिनल्यान्डको कम्पनी एचएमडीलाई बिक्री गरेको थियो । र, यसको उत्पादन र बजार प्रवद्र्धन गर्ने जिम्मा फक्सकनलाई दिइएको छ, जुन कम्पनी आइफोनको निर्माणमा पनि संलग्न छ । अहिले एचएमडी र फक्सकन मिलेर नोकिया ब्रान्डमा नयाँ स्मार्टफोन बजार पठाइरहेका छन् ।

मोबाइल फोन युनिट र १० वर्षसम्मको ब्रान्ड राइटको लागि नोकियालाई करिब साढे ५ अर्ब डलर तिर्ने सहमति गरेको माइक्रोसफ्टले सफलताको कुनै सूत्र नभेटेकै कारण नै २ वर्ष नपुग्दा ३५० मिलियन डलर मात्रै लिएर यसको ब्रान्ड बिक्री गरेको हुनुपर्छ । र, यिनै असफलताले पनि स्मार्टफोन बजारमा आफ्नो

उपस्थिति जनाउन नसक्ने गरी उसलाई निराश बनाएको हुनुपर्छ ।

विन्डोज फोनको अवस्था कति निराशाजनक छ भन्ने संकेत गर्न माइक्रोसफ्टका संस्थापक तथा पूर्वप्रमुख बिल गेट्सको भनाइ काफी छ । सेप्टेम्बर अन्तिमतिर फक्स न्युजसँगको अन्तर्वार्तामा गेट्सले भनेका थिए– मैले केही अघिदेखि विन्डोज फोन चलाउन छाडें र अहिले एन्ड्रोइड स्मार्टफोन बोक्छु ।

–कान्तिपुर