किन दिए काँग्रेस म्याग्दीका दुई प्रभावशालि नेताले स्वतन्त्र उम्मेद्वारी !

  • ५ कार्तिक २०७४, आईतवार
  • 4717 पटक पढिएको

म्याग्दी, ५ कात्तिक । काँग्रेस म्याग्दीले प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीको उम्मेदवारको रुपमा चयन गर्न तीन जना प्रभाबशाली नेताहरुलाई सिफारिस गरेको थियो । तर जिल्ला पार्टीले गरेको सिफारिसमध्ये कसैलाई पनि पार्टी केन्द्रले टिकट नदिएपछि नेपाली काँग्रेस म्याग्दीमा तिब्र असन्तुष्टी बढेको छ ।

लोकतान्त्रिक गठबन्धनबाट म्याग्दीको प्रदेश सभाको १ नम्बर निर्वाचन क्षेत्रमा काँग्रेसले राप्रपालाई सघाउने निर्णय गर्दै आफ्नो पार्टीबाट टिकटको दावी गरेका कसैलाई पनि टिकट नदिईकन फर्काएपछि जिल्लाका नेता तथा कार्यकर्तामा असन्तुष्टी बढेको हो । जिल्ला स्थित पार्टीले समेत क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार भिमप्रसाद गौचनलाई सघाउने गरि मनोनयनपत्र दर्ता गरेपनि काँग्रेस म्याग्दीका दुई प्रभाबशाली नेताहरुले भने स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

क्षेत्र नम्बर एकमा पत्येक्षतर्फको उम्मेदवारको रुपमा जिल्ला पार्टीबाट सिफारिसमा परेका नेताद्धय नेत्रबहादुर महत र केवी भण्डारीले पार्टीले गरेको गलत निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । महत काँग्रेसका पुराना नेता हुन भने भण्डारी युवा नेता हुन् । उनी दुबै जनताले काँग्रेस केन्द्रले गरेको निर्णय जिल्लाका आम कार्यकर्ताहरुले स्विकार नगरेकाले उनीहरुको भावना बमोजिम आफुहरुले उम्मेदवारी दिएको बताएका छन् ।

नेताद्धय महत र भण्डारीले जिल्लाका नेता र कार्यकर्ताको भावना नबुझिकन केन्द्रले प्रजातान्त्रीक मुल्य मान्यता विपरित सिट बाँडफाँटको निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको समेत बताएका छन् । यसैबिच नेकपा एमाले निकटका केपी अधिकारीले समेत माओवादी एमाले तालमेल विरुद्ध प्रदेश क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।