म्याग्दीमा प्रदेशसभाको १ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट बिनोद केसी

  • ४ कार्तिक २०७४, शनिबार
  • सन्तोष गौतम
  • 3526 पटक पढिएको

बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुन लागेको म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रले युवा नेता बिनोद केसीलाई उमेद्वार चयन गरेको छ ।

चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो लगाय लगत्तै माओवादी केन्द्रले केसीलाई उमेद्वार बनाउने निर्णय गरेको हो । ३३ वर्षिय केसी माओवादी केन्द्रको बेनी नगर कमिटिका उपाध्यक्ष हुनुहुन्छ ।

यातायात, मेसीनरी औजार र निर्माण व्यवसायमा संलग्न केसी जनयुद्धका सहिद मदन केसीका भाई हुन् । सहिद परिवारलाई उमेद्वार बनाएकोमा सहिद परिवार र माओवादी एमालेका युवा पंती उत्साहीत भएका छन् ।

माओवादी केन्द्रको केन्द्रिय सम्मेलन आयोजक कमिटि सदस्य र जिल्ला कमिटीको सचिवालय सदस्य केसी जिल्लामा युवा नेताको रुपमा परिचित छन् । उमेद्वार केसीले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने र जनताको विश्वासलाई मर्न नदिने प्रतिवद्धता जनाउनुभएको छ । प्रदेशको निती निर्माणमा सक्रिय भुमिका खेल्ने र जलविद्युत, पर्यटन, कृषि, जडिवुटी जस्ता प्राकृतिक स्रोत साधनको विकास र परिचालन गरि जनताको जिवनस्तर उकास्ने विषयलाई चुनावी मुद्दाको रुपमा प्राथमिकता दिने केसीले बताउनुभयो । उमेद्वार चयनसंगै माओवादी केन्द्रले चुनाव प्रचारको तयारी थालेको जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो ।

स्थिर सरकार, राजनितिक स्थायित्व, राष्ट्रिय स्वाभीमानको रक्षाका लागि बाम तालमेल र एकता राष्ट्रिय आवश्यकता भएकाले तालमेल र एकता प्रक्रियालाई सफल बनाउन नेता कार्यकर्तालाई पौडेलले निर्देशन दिनुभयो ।   म्याग्दीको प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र नम्बर २ एमालेको भागमा परेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्र नम्बर २ मा एमालेका उमेद्वारलाई माओवादीले र प्रदेश सभाको क्षेत्र नम्बर १ मा एमालेले माओवादीका उमेद्वारलाई सघाउने भएका छन् ।

बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ र मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता रहेका छन् ।

प्रतिनिधिसभातर्फ एमालेबाट बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा र जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ मध्य एक जनाले टिकट पाउने सम्भावना छ भने प्रदेशको क्षेत्र नम्बर २ मा पुर्व सांसदद्धय नरदेवी पुन र नवराज शर्मा उमेद्वार बन्ने सम्भावना छ ।

म्याग्दीमा नेपाली काँग्रेसले प्रतिनिधिसभामा जिल्ला सभापती खम्बिर गर्बुजा र प्रदेशको क्षेत्र नम्बर २ मा अमलाल फगामीलाई उमेद्वार बनाउने भएको छ । प्रदेशसभाको क्षेत्र नम्बर १ मा नेत्रबहादुर महत, रेशमबहादुर बानीया र केवी भण्डारीको नाम सिफारीस भएको छ ।मुस्ताङको एक प्रतिनिधिसभा र २ वटा प्रदेशसभामा बाम गठबन्धनको तर्फबाट एमालेले उमेद्वारी दिने भएको छ । मुस्ताङको प्रतिनिधिसभामा एमालेको तर्फबाट प्रेम तुलाचनले टिकट पाएका छन् ।

प्रतिनिधिसभाको बागलुङ क्षेत्र नम्बर १ मा एमाले र २ मा माओवादी केन्द्रले पाएका छन् । एमालेले प्रदेशसभाको बागलुङ १ (क) र २ (ख) तथा माओवादी केन्द्रले १ (ख) र २ (क)मा तालमेल गरेर उमेद्वारी दिने सहमती गरेका छन् । प्रतिनिधिसभातर्फ १ र प्रदेशसभा तर्फ २ वटा निर्वाचन क्षेत्र रहेको छिमेकी जिल्ला पर्वतमा भने दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुदैछ ।

सन्तोष गौतम