म्याग्दीमा बाम गठबन्धनका उमेद्वारको टुङ्गो 

  • ३ कार्तिक २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 4521 पटक पढिएको

बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले म्याग्दीका उमेद्वारको टुङ्गो लगाएका छन् ।  चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो लगाय लगत्तै उमेद्वार छनौट गरेका हुन् । म्याग्दीमा प्रतिनिधिसभामा बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र प्रदेशसभाको क्षेत्र नम्बर २ मा पुर्व सांसद नरदेवी पुनलाई केन्द्रिय कमिटिले उमेद्वार चयन गरेको जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

प्रदेशसभाको क्षेत्र न. १ पाएको माओवादी केन्द्रले युवा नेता बिनोद केसीलाई उमेद्वार बनाउने भएको छ । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा मनोनयन दर्ता गर्ने कार्यक्रम छ । प्रतिनिधिसभाका उमेद्वार बेनपा १ रत्नेचौर निवासी थापा एमालेका पुरानो नेता हुनुहुन्छ ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपंक्षी राज्यमन्त्री बनेकी पुन म्याग्दीकी सक्रिय महिला नेता हुनुहन्छ । माओवादी केन्द्रबाट क्षेत्र न. १ का उमेद्वार बनेका ३३ वर्षिय केसी माओवादी केन्द्रको बेनी नगर कमिटिका उपाध्यक्ष हुनुहुन्छ ।

सहिद परिवारलाई उमेद्वार बनाएकोमा सहिद परिवार र माओवादी एमालेका युवा पंती उत्साहीत भएका छन् । उमेद्वार केसीले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने र जनताको विश्वासलाई मर्न नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

प्रदेशको निती निर्माणमा सक्रिय भुमिका खेल्ने र जलविद्युत, पर्यटन, कृषि, जडिवुटी जस्ता प्राकृतिक स्रोत साधनको विकास र परिचालन गरि जनताको जिवनस्तर उकास्ने विषयलाई चुनावी मुद्दाको रुपमा प्राथमिकता दिने केसीले बताउनुभयो । उमेद्वार चयनसंगै एमाले र माओवादी केन्द्रले संयुक्त चुनाव प्रचारको तयारी गरेका छन् ।

बेनी नगरपालीका, रघुगंगा र अन्नपूर्ण गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४२ हजार ९९३ र मंगला, मालीका र धौलागिरी गाउँपालीका समावेश भएको प्रदेशसभाको क्षेत्र नम्बर २ मा ३२ हजार ५४५ जना मतदाता रहेका छन् ।

म्याग्दीमा नेपाली काँग्रेसले प्रतिनिधिसभामा जिल्ला सभापती खम्बिर गर्बुजा र प्रदेशको क्षेत्र नम्बर २ मा अमलाल फगामीलाई उमेद्वार बनाउने भएको छ । प्रदेशसभाको क्षेत्र नम्बर १ मा नेत्रबहादुर महत, रेशमबहादुर बानीया र केवी भण्डारीको नाम सिफारीस भएपनी शुक्रबार साँझसम्म टुङ्गो लागीसकेको छैन् ।

मुस्ताङको एक प्रतिनिधिसभा र २ वटा प्रदेशसभामा बाम गठबन्धनको तर्फबाट एमालेले उमेद्वारी दिने भएको छ । मुस्ताङको प्रतिनिधिसभामा एमालेको तर्फबाट प्रेम तुलाचनले टिकट पाएका छन् भने प्रदेशसभाको क्षेत्र न. १ मा महेन्द्र थकाली र २ मा ईन्द्रधारा बिष्ट उमेद्वार बन्ने भएका छन् ।

प्रतिनिधिसभाको बागलुङ क्षेत्र नम्बर १ मा एमाले र २ मा माओवादी केन्द्रले पाएका छन् । एमालेले प्रदेशसभाको बागलुङ १ (क) र २ (ख) तथा माओवादी केन्द्रले १ (ख) र २ (क)मा तालमेल गरेर उमेद्वारी दिने सहमती गरेका छन् । प्रतिनिधिसभातर्फ १ र प्रदेशसभा तर्फ २ वटा निर्वाचन क्षेत्र रहेको छिमेकी जिल्ला पर्वतमा भने दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुदैछ ।

सन्तोष गौतम